आमाबुबाको व्यस्तताले पनि बढाउन सक्छ बाल मनोरोग
काठमाडौं, ५ पुस । सामान्तया बालबालिकाका गतिविधिबारे अभिभावकले गम्भीररुपमा सोच्ने गरेको कमै पाइन्छ । बदलिँदो समय अनुसार आमाबुबाको व्यस्त समयले छोराछोरीसँग बिताउने समय कम दिँदा बालबालिकामा त्यसको असरले मानसिक तनाव पनि बढाएको छ । अझ कामकाजी आमाबुबाले आफ्ना छोराछोरीलाई कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने, बजारको तयारी खाजा बढी खुवाउने विविध कारणले पनि बालबालिकामा गम्भीर असर गरिहरेको चिकित्सकले बताउँदै आएका छन् । धेरै चकचक, झगडा गर्ने, स्कुल जान नमान्ने, धेरै मानिस भएको ठाउँमा जान नमान्ने, डराउनेजस्ता समस्या आजकलका बच्चामा देखिन थालेको छ । यस्तो समस्या देखिएमा उनीहरुलाई पिट्ने, हकार्ने वा अन्य सजाय दिनुभन्दा अगाडि अभिभावकले उनीहरुमा कुनै बाल मनोरोगका कारण यस्तो भएको छ छैन भनी सोच्नै पर्ने बताउछन् कान्ति बाल अस्पतालका बाल मनोरोग विभागका प्रमुख तथा वरिष्ठ बाल मनोरोग विशेषज्ञ डा अरुण कुँवर । उनले अभिभावकले बाल मनोविज्ञान बुझ्न नसकेर बालबालिकामाथि नकारात्मक व्यवहार गर्दा त्यसको गम्भीर असर देखिन सक्ने हुँदा सजग हुनुपर्ने बताउछन्। बच्चाले उमेर अनुसार सोच्ने कुराहरु सोच्न नसक्नु, धेरै रिसाउने, उमेर अनुसार बालबालिकाको मानसिक र बौद्धिक विकास नहुनु र साधारणभन्दा भिन्न खालको बानी व्यवहार देखाउनु बाल मनोरोगको लक्षण हुन सक्छ । डा कुँवर बालबालिकामा बाल मनोरोगको लक्षण फरकफरक हुने बताउछन् । उनी भन्छन्, “बालबालिकाले उमेरअनुसार आफ्नो क्षमताले काम गर्न नसक्नु, आवश्यकभन्दा धेरै खुसी हुनु, धेरै रिसाउनु, एउटै कुरालाई पटकपटक दो¥याइरहनुलाई पनि बाल मनोरोगको लक्षणका रुपमा बुझ्नुपर्छ ।” कान्ति बाल अस्पतालले खासगरी भूकम्पपछि बालबालिका पारेको मानसिक असरबारे परामर्श दिन डेढ वर्षअघि छुट्टै विभागमार्फत सेवा दिन थालेको हो । अहिले आफ्ना बालबालिकाबारे विभिन्न खाले समस्या लिएर देशभरबाट अभिभावक आउने गरेको कुँवरको भनाइ छ । गत वर्ष ६०० मात्र बिरामी आएका थिए तर यो वर्ष अहिलेसम्म करिब तीन हजार बढीले उपचार र परामर्श लिएको अस्पतालको तथ्याङ्क छ । हिजोआज देखिने बाल मनोरोग वंशाणुगत र वातावरणीय दुवैको कारणले हुने गरेको देखिएको चिकित्सकको भनाइ छ । डा कुँवर भन्छन्, “यदि अभिभावकमध्ये कसैलाई डिप्रेसन छ भने बालबालिकालाई बाल मनोरोग हुने सम्भावना धेरै हुन्छ । अभिभावकलाई डिप्रेसन छ र स्कुलमा पनि बालबालिकालाई बालमैत्री खालको व्यवहार गरिँदैन भने यस्तो समस्या बढेको देखिन्छ ।” अहिले धेरै बालबालिका अचानक बेहोस हुने समस्या पनि बढी देखिएको छ । यो बढी तनावका कारणले हुन्छ । अभिभावकको व्यस्तताको कारण उनीहरुकै समयतालिका अनुसार सबै आफ्ना गतिविधि गर्नुपर्दा बालबालिकामा बढी तनाव थपिएकाले यसतर्फ ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् । बालबालिकालाई खुसी पार्न लामो समयसम्म टेलिभिजन, मोबाइल हेर्न दिँदा पनि त्यसले बालबालिकामा एकोहोरो हुने, रचनात्मक क्षमतामा ह्रास ल्याउने भएकाले उनीहरुलाई रचनात्मक खेल जस्तो लुँडो, क्यारामबोर्डजस्ता खेलमा प्रेरित गर्दा मानसिक र शारीरिक विकासमा सहयोग पुग्ने डा कुँवरको सल्लाह छ । रासस
५ बजेसम्म ओपीडी संचालन गर्न अस्पतालले टेरेनन्, प्रधानमन्त्रीको निर्देशन खेर, सर्वासाधारणर्ला सास्तिनै
काठमाडौं ३, पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसद्मा सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्दै स्वास्थ्योपचारका लागि महत्त्वपूर्ण कुरा उठाए। उनको सम्बोधनको बुँदा नम्बर १९ मा अस्पतालहरूमा साँझसम्म बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने प्रतिबद्धता थियो। १० देखि २ बजेसम्म सञ्चालन हुँदै आएको सेवा ५ बजेसम्म सञ्चालन हुने उल्लेख थियो। हेल्थपोष्टको फाइल तस्बिर त्यसैलाई आधार मानेर स्वास्थ्य मन्त्रालयले असोज ९ गते सबै अस्पताल र विभागलाई सोहीअनुरूप सञ्चालन गर्न परिपत्र गर्यो। कार्यान्वयन भने भएको छैन। कतिपय अस्पतालहरूले जनशक्ति अभावलगायत कारणहरू देखाएर सेवा दिइरहेका छैनन् भने कतिपयले यसबारे कुनै निर्देशन नआएको बताएका छन्। कतिपय अस्पतालमा भने यही समयावधिलाई बहाना बनाएर उल्टै महँगो ‘पेइङ’ उपचार सेवा थालेका छन्। अस्पतालहरूले ‘जनशक्ति अभाव’ लाई कारण देखाउँदै आएका छन्। ‘१० देखि ५ ओपीडी चलाउन सक्ने अवस्था छैन,’ कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रोशन पोखरेलले भने, ‘ल्याब, एक्सरे, काउन्टरलगायत फाँटमा कर्मचारी अभाव छ। नियमअनुसार ८ घण्टा काम गरेकालाई १२ घण्टा लगाउनुपरेपछि अतिरिक्त भत्ता दिन अस्पतालसँग स्रोत छैन।’ अहिले १० देखि ५ बजेसम्म चलाउने कुनै तयारी नभएको उनले बताए। जनकपुर अञ्चल अस्पतालका चिकित्सकको उस्तै जवाफ छ, ‘तयारीबिना ल्याइएको नीति कार्यान्वयन गर्न सकिन्न।’ अस्पतालका मेडिकल अधिकृत एवं नेपाल चिकित्सक संघ जनकपुरका कामु अध्यक्ष डा।अनिलकुमार ठाकुर यथास्थितिमा नयाँ तालिकाअनुसार सेवा सञ्चालन गर्न नसकिने बताउँछन्। ‘एक त दरबन्दीभन्दा झण्डै आधा चिकित्सक र स्वास्थ्यकर्मी मात्रै छन्,’ उनले भने, ‘अतिरिक्त समय काम गरेको बेग्लै सुविधा दिने प्रावधान छैन। यस्तो अवस्थामा निर्देशन कार्यान्वयन गर्न सकिन्न।’ दुई सय शय्या क्षमता भएको जनकपुर अञ्चल अस्पताल यस भेगकै ‘रेफरल’ अस्पताल हो। यसमा नेपाल सरकारतर्फ १ सय ३८ चिकित्सक, स्वास्थ्यकर्मीलगायत कर्मचारीको दरबन्दी भए पनि हाल ६४ जनामात्र कार्यरत छन्। अस्पताल विकास समितिको १ सय ५२ दरबन्दीमा १ सय २५ पदमात्र छन्। कान्तिपुर दैनिकबाट ।
नौ जिल्लामा बन्दै छन् ४० वटा स्वास्थ्य संस्थाका नयाँ भवन, हेरौँ कुन कुन जिल्लामा?
हेल्थपोष्टको फाइल तस्बिर बैतडी, १ पुस । सुदूरपश्चिमका नौ जिल्लामा स्वास्थ्य संस्थाका ४० वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले आवश्यकता पहिचान गरी सुदूरपश्चिमका ४० वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि स्वीकृति दिएपछि सो सम्बन्धी प्रक्रिया अगाडी बढाएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी बन्दना भट्टले राससलाई जानकारी दिए। उनले विभिन्न जिल्लामा अस्पताल, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित चिकित्सक आवास गृहसमेत निर्माण गर्न लागिएको बताए। सूचना अधिकारी भट्टका अनुसार नयाँ भवन निर्माण हुनेमा एउटा कर्मचारी आवासगृह, एउटा अनमी आवासगृह, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, चारवटा बर्थिङ युनिट र ३३ वटा स्वास्थ्यचौकी रहेका छन् । ती मध्ये सबैभन्दा बढी बैतडीमा नयाँ भवन निर्माण हुन लागेका हुन् । बैतडीको आमचौरा, शिवलिङ, सिगास, पञ्चेश्वर, रोडिदेवल, विशालपुर र गिरेगडा, शिखरपुर, महारुद्र, गुरुखोला, बासुलिङ र हाट गरी १२ वटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने उनले बताए । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार डोटीको काडामाडौँ, तिखात्तर, मुडेगाँउ, बगलेक, मान्नाकपाडी, कफल्लेकी, बाझँककानी र बर्छैन् देवली गरी आठवटा स्वास्थ्यचौकी, अछामको बैजनाथ र ढकारी स्वास्थ्यचौकी र बझाङको भामचौर, भमेना, मटेला, पारकाट्ने रकफलसेरी गरी पाँचवटा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण हुने छन् । यसैगरी डडेल्धुराको शीर्ष र कोटेली स्वास्थ्यचौकी, बाजुराको जुगाड र गुदुखाती स्वास्थ्यचौकी, कैलालीको फूलवारी स्वास्थ्यचौकी, कञ्चनपुरको त्रिभुवनबस्ती स्वास्थ्यचौकी तथा दार्चुलाको हिकिला स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने छन् । चालु आर्थिक वर्षमा भवन निर्माणका लागि छनोटमा परेका ती संस्थाका भवन सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत निर्माण हुनेछन् । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि देशभरका ३४५ वटा नयाँ स्वास्थ्य संस्थाका भवन निर्माणका लागि छनोट गरेको हो ।रासस