लक्ष्मी बैंकले शुरु गर्यो लक्ष्मी आरोग्य स्वास्थ्य कार्यक्रम, स्वास्थ्य सेवामा ३० % सम्म छुट
काठमाडौँ । लक्ष्मी बैंकले ग्राहकहरुलाई स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले लक्ष्मी आरोग्य स्वास्थ सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ । लक्ष्मी बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरु समावेश हुन सक्ने यस योजना अन्तर्गत ग्राहकहरुले काठमाडौं उपत्यकाका विभिन्न ख्यातिप्राप्त अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग गरिएको सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले साझेदार अस्पतालहरुमा २०% सम्म तथा आरोग्य केन्द्रहरुमा ३०% छुट प्राप्त गर्न सक्नेछन् । लक्ष्मी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर समेत यो सुविधा प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त लक्ष्मी बैंकका ग्राहक तथा तीनका परिवारलाई आफ्नो सेवामा प्राथमिकता प्रदान गर्न समेत सहभागी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु सहमत भएका छन् ।
नर्भिक इन्टरनेशनल हस्पिटलबाट पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी डिस्चार्ज
काठमाडौँ । पूर्व बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाह सोमबार नर्भिक इन्टरनेशनल हस्पिटलबाट डिस्चार्ज भएकी छिन् । फागुन २१ गते नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारको लागि भर्ना भएकी थिइन् । पूर्व राजा ज्ञानेन्द्र वीर विक्रमशाह देव, पूर्व रानी कोमलराज्य लक्ष्मीदेवी शाह एवम् पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहबाट उपचारको क्रममा सहयोग पुर्याउने नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सक, कर्मचारी, व्यवस्थापनएवं सरोकारवाला सबैलाई र शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सबै शुभेच्छुकहरुलाई धन्यवाद दिएको अस्पतालले जनाएको छ ।
विपन्न नागरिकको उपचारमा दुई अर्ब बढी खर्च, अधिकांशलाई जानकारी छैन
काठमाडौं । विपन्न नागरिकको औषधि र उपचारमा राज्य कोषबाट २ अर्ब ११ करोड ५६ लाख १८ हजार ९ सय ७ रुपैयाँ खर्च भएको छ । चालू आवको अहिलेसम्ममा देशभरका २१ हजार ८ सय २० विपन्न नागरिकको औषधि र उपचार सेवाबापत सो रकम खर्च भएको हो । उनीहरूले देशभरका ६४ अस्पतालबाट औषधि र उपचार सेवा लिएका हुन् । औषधि उपचार सेवा लिएकामध्ये १० हजार ६ सय ८ क्यान्सरका बिरामी, ४ हजार २ सय ७६ मुटु रोगी र ४ हजार ६ सय ६१ मिर्गौलासम्बन्धी समस्या भएका बिरामी छन् । यसैगरी, ७७ पार्किन्सन्स, २४ अल्जाइमर, ५ सय २१ हेड इन्जुरी, ५ सय ३९ स्पाइनल इन्जुरी र १ हजार १ सय १४ सिकलसेल एनिमियाका बिरामीले औषधि र उपचार सेवा लिएका छन् । मिर्गौलाअन्तर्गत डायलासिस गर्ने बिरामीलाई प्रत्येकपटक २ हजार ५ सय रुपैयाँ, मिर्गौला प्रत्यारोपणका लागि ४ लाख रुपैयाँ, मिर्गौला दिने र लिनेको जाँचका लागि ५० हजार रुपैयाँ तथा मिर्गौला प्रत्यारोपण गरिसकेपछि औषधि सेवनका लागि १ लाख रुपैयाँ सम्बन्धित अस्पताललाई शोध भर्नाका लागि सरकारले उपलब्ध गराउँदै आएको छ । २२ हजारले लिए औषधि र उपचार सेवा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा। माधवप्रसाद लम्सालले भने, ‘सूचीकृत अस्पतालबाट सातवटा कडा रोगका लागि प्रतिव्यक्ति १ लाख रुपैयाँबराबरको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ । रोग पत्ता लगाउन होइन । रोग पत्ता लागिसकेपछि आवश्यक प्रक्रिया पूरा गरेर मात्रै विपन्न नागरिकलाई औषधि र उपचार सेवा उपलब्ध गराइन्छ ।’ विपन्न नागरिकको उपचार सेवाका लागि चालू आवमा २ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खर्च हुने अनुमान छ । तर, सो सेवाका लागि चालू आवमा १ अर्ब १० करोड २३ लाख रुपैयाँ मात्र बजेट विनियोजन भएको छ । बाँकी १ अर्ब २५ करोड रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ । विपन्न व्यक्तिका लागि विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका–२०७५ समेत जारी भएको छ । निर्देशिकाबमोजिम नै विपन्न नागरिकले स्वास्थ्य उपचार सेवाबापत रकम पाउँदै आएका छन् । देशभरका ८० वटा सूचीकृत स्वास्थ्य संस्थाबाट सो सेवा उपलब्ध हुँदै आएको छ । स्थानीय तहका अध्यक्ष वा प्रमुख संयोजक, प्रशासकीय अधिकृत सदस्य र सम्बन्धित स्वास्थ्य संयोजक सदस्य सचिव रहेको समितिले विपन्न नागरिकको उपचारका लागि आवश्यक कागजातसहित दिएको निवेदन संकलन गर्ने व्यवस्था निर्देशिकामा छ । त्यस्ता सेवा लिएका बिरामी निको भई पुनः सेवा लिन आउनुपरेमा सिफारिस पेस गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । विपन्न नागरिकका लागि सरकारले निःशुल्क औषधि–उपचार सेवा लागू गरे पनि अधिकांश सेवाग्राहीलाई यसबारे जानकारी नै छैन । जसकारण, धेरैजसो कडा रोगका बिरामी शुल्क तिरेर उपचार सेवा लिन बाध्य छन् । रोग लाग्नुभन्दा रोग लाग्न नदिन र रोगको लक्षण देखापरेमा सामान्य उपचारले पनि निको हुने हुँदा यसतर्फ गम्भीर हुन चिकित्सकले सबैलाई आग्रह गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।