लाइसेन्स परीक्षामा ७५ प्रतिशत डाक्टर फेल
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् । शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए । ८ सय ३५ जना फेल भएका छन् । काउन्सिलले बीडीएस उत्तीर्णका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा ७५ प्रतिशत फेल भएका छन् । परीक्षामा सहभागी ४ सय ६ जना दन्त चिकित्सकमध्ये २ सय ६३ जना सेवा प्रवेशका लागि योग्य ठहरिएनन् । एमबीबीएसतर्फ लाइसेन्स परीक्षामा विदेशबाट पढेर आएका ७ सय २ जना र नेपालमा पढेका ४ सय २१ जना डाक्टर सहभागी थिए । बीडीएसमा विदेशबाट पढेका ५७ जना र नेपालमा पढेका ३ सय ४८ जना दन्त चिकित्सकले परीक्षा दिएका थिए । परीक्षामा सहभागी ८ सय ३० जना (एमबीबीएस र बीडीएसमा० पहिलेको लाइसेन्स परीक्षामा फेल भएकाहरू थिए । लाइसेन्स परीक्षामा सहभागी ६ सय ५८ जना नयाँ उम्मेदवारमध्ये अधिकांश विदेशमा अध्ययन गरेका हुन् । त्यसमा चीन र बंगलादेशमा पढेका बढी छन् । काउन्सिलले लाइसेन्सका लागि सञ्चालन गर्ने परीक्षामा अनुत्तीर्ण दर केही वर्षयता उच्च छ । ‘प्रवेश परीक्षाबिना विदेश पढ्न गएर सर्टिफिकेट ल्याएकाहरूलगायतका कारण सन् २०२२ सम्म यस्तो स्थिति रहिरहन्छ,’ काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटाले भने । पछिल्लो समय विदेश पढ्न स्वदेशको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रा।डा। बाँस्कोटा स्वास्थ्य क्षेत्रको दुर्दशाले अयोग्य डाक्टर उत्पादन भइरहेको बताउँछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
नेशनल लाईफ इन्स्योरेन्सद्धारा बझाङ्गमा निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौं । बझाङ्गमा नेशनल लाईफ इन्स्योरेन्सद्धारा नि शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । रामप्रसाद खत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तडछान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्सको सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका वडा नं. ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने दुर्गा महालिङ्ग मा.बि.को भवनमा चैत २५ र २६ गते दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन भएको हो । उक्त शिविरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल, तिलोत्तमा आंखा अस्पताल, आम्दा हस्पिटल बुटवल र हिमाल डेन्टलका चिकित्सकहरुको संयुक्त टोलिले सेवाप्रदान गरेको थियो । ७ वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सा तर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आंखातर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा २ स्वास्थ्य परिक्षण भएकोमासो मध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्दु अप्रेशन, ५३ जनाको दांतहालेको, १०८ जनाको दांत निकालेको बताइएका छन् । सो टोलिबाट लगभग २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको थियो । यस रामप्रसाद स्मृती प्रतिष्ठानले बिशेषज्ञ स्वास्थ्यशिबिर संचालन, गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रबृती लगायतका समाज सेवाका कार्यक्रम गर्दै आएको छ ।
चिकित्सक संघको आन्दोलन जारी, छैठौंदिन वीर अस्पताल परिषर भित्र ओपिडी सेवा संचालन
काठमाडौं । सरकारी चिकित्सक आन्दोलन शुरु भएको छैठौं दिन वीर अस्पताल परिषर भित्र ओपिडी सेवाको सुरुवात गरेका छन् । सरकारी चिकित्सक संघले विरामीको अवस्थालाई ध्यानमा राखि सेवा शुरु गरेको जानकारी दिँदै संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे सरकारीले चिकित्सकहरुको माग सुनवाई नगरे सम्म आन्दोलन जारी रहने बताए । संघका अध्यक्ष डा. पाण्डेका अनुसार ‘सरकारी चिकित्सक संघमा आवद्ध डाक्टरहरु नेपालका ७७ वटै जिल्लामा जान तयार छौं, सरकारले सुदुर पश्चिम र कर्णाली एवंम विकट ठाँउका चिकित्सकलाई काठमाडौं ल्याइरहेको यो अवस्थामा अब समायोजन मान्न भनिरहेको छ, यदि सरकारले गरेको सो निर्णय मान्ने हो भने सुदरपश्चिम, कर्णाली एवंम विकट ठाँउमा सेवा थप्प हुन्छ त्यसकारण जनताका लागि यो आन्दोलन गरेका हौं ।’ संघका अध्यक्ष पाण्डेले भने ‘आन्दोलन भईरहदाँ सरकारले विरामीको विचल्ली भयो भन्ने कुरालाई ध्यान नदिई दमनको नीति ल्याई पुलिस प्रशासनको प्रयोग गरि चिकित्सक माथि अभद्र व्यवहार गरेको छ । के चिकित्सकलाई पिटेर जबजस्ती विरामीको उपचारमा लगाउन सकिन्छ त ?’ ६ दिनदेखि बन्द ओपिटी सेवा शुरु गर्दै टाढाबाट आएका विरामीलाई मध्यनजर गर्दै अस्पताल परिषरमा सेवा सुचारु गरिएको हो । सिन्धुलीका अल्सर तथा दमका रोगी ५९ वर्षिय विष्णुबहादुर पोख्रेल भन्छन् ‘यो आन्दोलनले म जस्ता धेरै बिरामी मारमा परिरहेका छन्, ९ दिनदेखि उपचारका लागि धाएको जानकारी गराए ।