प्रभु इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच क्यासलेस सम्झौता
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगद रहित( क्यासलेस) सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सिमासम्म क्यासलेस सेवा पाउने छन् ।
अमेरीकन रेडक्रसले रेडक्रस सोसाइटीलाई दियो १५० वटा मेनीकिन, १२ लाख ३० हजारकाे लागत
काठमाडौं । अमेरीकन रेडक्रसले सेतो र खैरा रङ भएका एक सय ५० वटा मेनीकिन नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । विपद् तथा दुर्घटना वा विरामीको अवस्थामा परिचालन हुने उद्धारकर्ता तथा प्राथमिक उपचारकलाई तालिम दिन उपयोगी हुने यी मेनीकिनहरु कृत्तिम श्वासप्रस्वास अभ्यासमा प्रयोग गरिन्छन् । अमेरीकन रेडक्रस सोसाइटीका प्रतिनिधी लिला मुलुकुटलाले नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वालाई एक समारोहकाबीच उक्त मेनीकिन हस्तान्तरण गरेकी हुन् । ती मेनीकिनहरुको कुल लागत १२ लाख ३० हजार नेपाली रुपैयाँ रहेको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार विभाग, विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग, विभिन्न गोदामघरहरु, उत्थान परियोजना तथा तयारी परियोजना मार्फत् सञ्चालन हुने तालिम ति मेनीकिनहरु प्रयोगमा आउने छन् । स्वास प्रश्वास समस्या भएकालाई कसरी जीवन बचाउन सकिन्छ भनी उपचारकलाई सिकाउन यी मेनिकिन सहयोगी हुने पौडेलले जानकारी दिए ।
बदलिँदो जीवनशैली र वातारण प्रदुषण बाँझोपनको मुख्य कारण हो- डा. नुतन शर्मा
डेढ १५ दशकदेखि प्रसुती तथा स्त्रीरोग बिशेषज्ञका रुपमा काम गरेकी डा. नुतन शर्मा पछिल्लो समय काठमाडौको बयोधा अस्पताल र ललितपुरको अल्का अस्पतालमा हुनुहुन्छ । डा. शर्माले हाल अल्कामा अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालन गरी बाँझोपन सम्बन्धी समस्या भएकालाई सेवा दिइरहनु भएको छ । पछिल्लो समयमा बाँझोपन भएकालाई टेस्टीवेवी जन्माउने प्रविधिको विकास भएको छ । नेपालमा बाँझोपनको समस्या धेरै रहेको छ । बाँझोपनको कारण र यसबाट कसरी बच्ने विषयमा केन्द्रीत रहेर डा. शर्मासंग विकास न्यूजका लागि डोमी शेर्पाले गरेको कुराकानी: डा. नुतन शर्मा, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ महिलाको बाँझोपन भनेको के हो ? एक दम्पत्तिले बिहेपछि एक बर्षसम्म कुनैपनि अस्थायी साधनको प्रयोग बिना यौन सम्बन्ध राख्दा पनि बच्चा नबस्ने वा सन्तान नहुने समस्यालाई बाँझोपन भनिन्छ । बाँझोपनको समस्या श्रीमान वा श्रीमती दुवैमा हुन सक्छ । धेरै हदसम्म बाँझोपन पनि निराकरण गर्न सकिने स्वास्थ्य समस्या हो । सन्तान प्राप्तिका लागि महिनावारीको चक्रलाई समेत पछ्याएर सावधानीपूर्वक प्रयास गर्दा पनि एक बर्षदिन भित्रमा गर्भ रहेन भने उपचार थाल्नुपर्ने हुन्छ । बाँझोपन प्राथमिक र माध्यमिक गरी दुई किसिमका हुन्छन । प्राथमिक बाँझोपन भन्नाले कहिले पनि बच्चा नबसेको बाँझोपन हो । माध्यमिक भनेको एक पटक बच्चा बसेर फेरी दोस्रो पटक बच्चा नबसेको बाँझोपन हो । बाँझोपन हुनुका मुख्य कारण के हुन ? ७० देखि ८० प्रतिशत बाँझोपनका कारण संक्रमण रहेको छ । महिलामा जनचेतनाको अभाव, संक्रमण भएपछि पनि उनीहरु जँचाउन स्वास्थ्य संस्थामा नजाने यसको मुख्य कारण हो । फोहर पानी बगेको छ, पाठेघरमा घाउ छ, ढाड दुख्छ पेट दुखेको हुँदा पनि उनीहरू चिकित्सक कहाँ जाँदैनन् र जहिलेबाट एकदमै असजिलो हुन्छ, त्यसपछि मात्रै उनीहरू चिकित्सक कहाँ जान्छन् । यस्ता खाले संक्रमणको बेलैमा उपचार गर्न सकियो भने मात्र बाँझोपनबाट बच्न सकिन्छ । पाठेघरको संक्रमण हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्यूबमा संक्रमण गराउँछ । ट्यूवमा संक्रमण भएपछि ट्यूब ब्लक हुन्छ । ट्यूब ब्लक हुनेबित्तिकै बच्चा बस्दैन। बच्चा बस्नलाई डिम्बाशयबाट अण्डा फुट्नुपर्छ । तलबाट पाठेघरभित्र छिरेर ट्यूबमा गएर पुरुष स्पर्मसँग मिलन हुन्छ अनि बच्चा बस्छ । यदि ट्यूब ब्लक हुन्छ भने बच्चा बस्दैन । त्यसैले संक्रमण बाँझोपनाको सबैभन्दा पहिलो कारण हो । बाँझोपनको १० देखि १५ प्रतिशत कारण जन्मजात हुन्छ । पाठेघर नहुने, डिम्बाशय नहुने, पाठेघरको फर्मेशन राम्रो नहुने जस्ता कारणले जन्मजात बाँझोपना हुने गर्दछ । अर्को कुरा धेरैलाई थाहा नहुन पनि सक्छ तर महिलाको उमेर पनि बाँझोपनको एउटा महत्वपूर्ण पाटो हो । यो कुरा पुरूषको हकमा लागू हुँदैन । महिलाको एउटा निश्चित उमेर हुन्छ । यसको अर्थ महिलामा जुन डिम्बाशय हुन्छ त्यसको एउटा ‘पार्टिकुलर फोलिकल काउण्ट’ हुन्छ । उसले निश्चित फोलिकल्स लिएर जन्मिएको हुन्छ । यो कसैको बढी हुन्छ कसैको कम हुन्छ। उमेर बढ्दै जाँदा राम्रो फोलिकल निस्कने क्रम घट्छ । जस्तै हामी कुनै पनि लटमा पहिला फ्रेश कुरा निकाल्छौ । जस्तै महीनावारीमा पहिलो, दोस्रो दिनदेखि अण्डा बन्न सूरू गर्छ । एउटा अण्डा बन्नलाई आठ दस वटा अण्डाको समूह चाहिन्छ । त्यो समूहमा सबैभन्दा राम्रो राम्रो अण्डा बन्न थाल्छ। महिनावारी भएको १४ दिनसम्म एउटा अण्डा मात्रै बाँकी रहन्छ बाँकी सबै अण्डा सुक्छ, फुट्छ । एउटा अण्डा मात्रै परिपक्व हुन्छ । त्यो अण्डा कसैको १२ कसैको १३ र कसैको १४ दिनमा बन्छ । त्यो अण्डा यदि ‘फर्टिलाइजेसन’ हुन्छ भने बच्चा बन्छ । यो जुन प्रक्रिया एउटा उमेर समूहमा मात्र हुन्छ । मादक पदार्थ र चुरोट खैनीको अधिक सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधीको अधिक सेवन, लामो समयसम्म गर्भ निरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोपन वा सुगर र थाइराइडको समस्याले पनि बाँझोपन हुन्छ । आमा बन्नलाई कुन उमेर सही हुन्छ ? महिलाको उमेर ४० वर्ष नाघेपछि अण्डाहरूको मात्रा कम हुँदै जान्छ । त्यसबाट आउने राम्रो अण्डाहरुको मात्रा पनि स्वतः कमी हुन्छ । यस्तो अवस्थामा बाँझोपनको समस्या बढ्दै जान्छ । ३० वर्षभन्दा कम उमेरको महिला र ३५ वर्षभन्दा बढी उमेरको महिलामा तुलना गर्ने हो भने ३५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या १० गुणा बढी हुन्छ । पहिला महिलाहरू सक्रिय थिएनन् । उनीहरु घरकै काममा केन्द्रीत रहन्थे। बिहे भयो बच्चा पायो महिलाहरू यसैमा केन्द्रित थिए । त्यसैले बाँझोपनको समस्या पनि कम थियो । आज किन बाँझोपनको समस्या छ भने अहिले महिलाहरु पढाई र आफ्नो ‘करियरमा’ र व्यवसायमा ध्यान दिन्छन् । जसले गर्दा बिहे ढिलो हुन्छ । मेरो काम छ जागिर छ म बच्चा पछि पाउँछु भन्दा भन्दै एउटा उमेर जान्छ । एउटा महिलाको लागि बच्चा जन्माउन ३५ वर्षभन्दा तलको उमेर हुनुपर्छ । ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । बाँझोपनको अर्को महत्वपूर्ण कारण लामो समयको ’ग्याप’ हो । सामान्यतया विहे भएपछि महिलामा ‘इन्फेक्शनको’ समस्या बढी हुने सम्भावना हुन्छ । यदि कसैको ‘इन्फेक्शनको’ कारणले लामो समयसम्म बच्चा भएन भने यसले पनि बाँझोपन बढाउँदै जान्छ । हाम्रो देशमा अधिकांश दम्पत्तिलाई सुरक्षित समय के हो असुरक्षित समय के हो थाहा हुँदैन । यस्तो भएपछि गर्भवती बन्छन् अनि गर्भपतन गराउँछन्। गर्भपतन सधै सुरक्षित हुन्छ भन्ने पनि छैन । कोही क्लिनिकमा त कोही कता जान्छन्, कोही लुकाएर गर्छन् । यसरी असुरक्षित गर्भपतन पनि बाँझोपनको एउटा प्रमुख कारण हो। असुरक्षित र गैरकानुनी गर्भपतनले ‘इन्फेक्शन’ गराउँछ । कहिले कहिले नराम्रो सामाग्री प्रयोग गर्दा पाठेघर नै जानसक्छ । त्यसैले असुरक्षित गर्भपतन पनि एउटा महत्वूपर्ण कारण हो। बिहे गरेपछि कपर्टी राख्छन्, कसैले तीन महिनाको सुई लिन्छन। कति साधन बच्चा पाएपछि प्रयोग गर्ने हो कति साधन बच्चा नपाउँदै प्रयोग गर्ने हो त्यसमा ध्यान दिनुपर्छ । त्यसको जानकारी नभएको कारणले पनि बाँझोपन हुन्छ । बाँझोपनको लक्षण के हुन् ? धेरै जसोमा बाँझोपनको लक्षण नदेखिन पनि सक्छ । तर अनियमित महिनावारी हुनु वा दुखाई धेरै हुनु, यौन सम्पर्क गर्दा अति पीडा हुनु, यौन सम्पर्कका बेला पुरुषको यौनाङ्ग उत्तेजित नहुनु, यौन रुची घट्नु, आँखा धमिलो देखिनु वा कपाल बढी झर्नेहरुमा बाँझोपनको संभावना बढी हुने गर्दछ । बाँझोपन महिलाको कारणले मात्र हुन्छ र ? बाँझोपन महिलाको कारणले मात्र कहिले हुँदैन । यसमा पुरुषको पनि उतिकै भूमिका हुन्छ । यदी १०० जना मानिसमा बाँझोपनको ६० प्रतिशत कारण महिला हो भने ३५ प्रतिशत कारण पुरुष पनि हो । आजको समयमा तनाव, वातावरण प्रदुषण, काम गर्ने ठाउँमा भएको रासायनिक एक्सपोजरले स्पेर्म को मात्रा कम गर्दिन्छ । त्यसैले बाँझोपनको कारण पुरुष रहेको छ । बाँझोपनलाई लिएर मानिसहरुको धेरै किसिमको भ्रम रहेको छ । महिलाको कारणले मात्र बाँझोपन हुन्छ भन्ने भ्रम मानिसहरुमा रहेको सबैभन्दा दुखलाग्दो भ्रम रहेको छ । उहाँहरु पहिले आफ्नो श्रीमतीको पुरा जाँच गरेर मात्र आफ्नाे जाँच गर्नुहुन्छ । महिनावारी रोक्न खाईने पिल्सहरुले बाँझोपन निम्ताउँछ भन्ने एकदमै गलत बुझाई हो । महिनावारी रोक्ने औषधीले कहिले पनि बाँझोपन गराउँदैन । बाँझोपनको रोकथाम र ध्यान दिनुपर्ने कुरा के हुन् ? उपयुक्त समयमै बिहे गर्ने र सन्तान जन्माउने, असुरक्षित गर्भपतन नगराउने, लागू औषधको सेवन नगर्ने, नियमित महिनावारी नहुने, महिनावारी हुँदा धेरै रक्तश्राव हुने, तल्लो पेट धेरै दुख्ने, योनीबाट फोहर पानी बग्ने, योनी चिलाउने लगायतका समस्या भए तत्काल बिशेषज्ञ चिकित्सक परामर्श तथा उपचार गर्नुपर्छ । यस्तै थाइराइड र रगतको जाँचका साथै भिडियो एक्सरे गरी आफ्नो स्वास्थ्य अवस्थावारे नियमित जानकारी राख्नुपर्छ । महिनावारीको समयमा आफ्नो सरसफाईमा बिशेष ध्यान दिने र नियमित व्यामका साथै आफ्नो तौललाई नियन्त्रणमा राख्ने जस्ता कुरालार्इ ध्यान दिने हो भने बाँझोपनलाई ८० प्रतिशत कम गर्न सकिन्छ ।