चितवनको बकुलहर अस्पताललाई रोटरी क्लबद्वारा तीन वटा डाईलायसिस मेसिन प्रदान
काठमाडौं। चितवनको रत्ननगर बकुलहर अस्पताललाई रोटरी क्लबले तीन थान हेमो डाइलायसिस मेसिन हस्तान्तरण गरेको छ । विगत चार वर्षदेखि मिर्गौला रोगीका लागि डाइलायसिस सेवा दिँदै आएको रतननगर बकुलहर अस्पतालको सेवा प्रभावकारी बनाउन तीन वटा डाइलायसिस मेसिन उपलव्ध गराइएको रत्ननगरका रोटरियन राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। रु ३८ लाखभन्दा बढीको लागतमा रोटरी डिष्ट्रिक २८२० जापानको साझेदारीमा रोटरी ग्लोबल ग्रान्ट परियोजनामार्फत मेसिन उपलब्ध गराइएको हो । यहाँको नारायणगढ, रत्ननगर, नारायणी मिड टाउन, भरतपुर, गैँडाकोटका रोटरी क्लबको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । यसअघि यहाँ छ वटा डाइलायसिस मेसिन रहेकोमा बुधबार थप तीनवटा आएपछि अब भने मिर्गौला रोगीका लागि डाइलायसिस सेवा प्रभावकारी हुने अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। बुधबार रत्ननगरमा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले रोटरी क्लबसँगको सहकार्यमा विकास र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता जनाए। उनले रत्ननगर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा ध्यान केन्द्रित गरेको भन्दै हरेक क्षेत्रबाट यस्तै सहयोगको खाँचो रहेको बताए। कार्यक्रममा बोल्दै राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र काठमाडौँका चिकित्सक डा ऋषि काफ्लेले रोग लाग्नुभन्दा लाग्नै नदिनका लागि चेतनामूलक कार्यक्रम जरुरी रहेको भन्दै रोटरी क्लबमार्फत अभियान चल्ने विश्वास व्यक्त गरे। विसं २०७२ मंसिर २० गतेबाट यहाँ मिर्गौला रोग उपचार केन्द्रको सहयोगमा डाइलायसिस सेवा शुरु भएको थियो । अहिलेसम्म सयौँ बिरामीको छ हजारभन्दा बढी पटक उक्त अस्पतालले डायलायसिस सेवा प्रदान गरिसकेको छ । रासस
नेपालमा एक वर्षमा ७० अर्बको औषधि खपत, २६ अर्बको आयात
काठमाडौ । नेपालमा ७० अर्ब रुपैयाँ बराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित र स्वदेशमा उत्पादित औषधि समावेश रहेको बताए ।नेपालमा हाल ४५ प्रतिशत औषधि उत्पादन हुने बताइन्छ भने बाँकी औषधि विदेशबाट आयातित हुने विभागको भनाइ छ । नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारीले पछिल्लो समय ७० अर्ब बराबरको औषधि बजार रहेको बताए। उनले भने ,“स्वदेशी विदेशी औषधि, औषधिको कच्चा पदार्थ, सर्जिकललगातयको मूल्य जोड्ने हो भने करीब ७० अर्ब रुपैयाँको बजार छ ।” विदेशबाट औषधि आयात गर्नेहरुको संस्था औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले वार्षिक २६ बराबरको औषधि आयात भइरहेको जानकारी दिए। उहाँले नेपालमा भित्रिएको औषधिमध्ये ४० प्रतिशत उपत्यकामै खपत हुने बताए । “काठमाडौँमै धेरै विशेषज्ञसहितका कडा रोगको उपचार हुने, सेवा सुविधा र उपचारमा पहुँचको हिसाबले पनि देशभरबाट बिरामी काठमाडौं आउने भएकाले पनि काठमाडौँमा ठूलो परिणामको औषधि खपत हुने गरेको उहाँले बताए । आयातित औषधिमध्ये ८० देखि ९० प्रतिशत भारतीय र बाँकी तेस्रो मुलुकबाट आउने गर्छ । नेपाल औषधि विभागमा देशभरमा गरी २१ हजार फार्मेसी पसल दर्ता भएका छन् । पाँच हजार बढी फार्मेसीबिना दर्ता नै सञ्चालन भएको हुनसक्ने नेपाल औषधि व्यवसायी संघका महासचिव विडारीको भनाइ छ । नेपालमा ९० वटा मानव औषधि उत्पादन गर्ने कम्पनी दर्ता भएका छन् । तीमध्ये हाल ७० वटा कम्पनीले औषधि उत्पादन गरिरहेको महासचिव विडारीको भनाइ छ । नेपालमा वर्षेनी औषधि आयात बढिरहेको छ भने चिकित्सकको सल्लाहबिना जथाभावी औषधि किनेर प्रयोग गर्ने प्रचलन पनि उत्तिकै छ । विभागबाट औषधि गुणस्तरलगायतका सबै पक्षमा अनुगमन गरिरहेको विभागका महानिर्देशक ढकालको दाबी छ । रासस
सिद्धार्थ बैंकका ग्राहकहरुलाई नर्भिक हस्पिटलमा १२ प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट पाउने छन् । सिद्धार्थ बैंक र नर्भिक हस्पिटलबीच भएकाे सम्झौता अनुसार बैंकका ग्राहक तथा ग्राहकका परिवारहरुले नर्भिक हस्पिटलमा स्वास्थ्य सेवा लिँदा सो मात्राको छुट पाउने भएका हुन् । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले डेविट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थ यूनो क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा विशेष १२ प्रतिशतसम्मको छुट पाउने छन् । बैंकले हाल देशभर १२१ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११८ एटीएम र ९०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।