डोल्पाको रोग प्रभावित क्षेत्रमा गए औषधिसहित चिकित्सक टोली
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमूना परीक्षणका लागि आवश्यक रगत, र्याल, खकार, दिसापिसाबलगायतका नमूना सङ्कलनका लागि चिकित्सकसहितको टोली पुगेको छ । रोगले ग्रस्त नागरिकको नमूना सङ्कलनका लागि प्रदेश अस्पतालका डा. इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापा सेनाको हेलिकोप्टरबाट भर्खरै प्रकोप क्षेत्रमा पुगेका हुन् । नमूना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पतालमा लैजाने बताइएको छ । त्यसैगरी, प्रकोप क्षेत्रमै बसेर उपचार गर्ने गरी जिल्ला अस्पताल डोल्पाबाट डा. मेलिना हमाल र एचए सारङ्गा रोकाय पनि हेलिकोप्टरबाट जानुभएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा. सिजन रावलले जानकारी दिए । हेलिकोप्टरले चिकित्सकमात्रै नभएर मास्क, पञ्जा, एन्टिभाइरललगायतका आवश्यक औषधिसमेत बोकेर लगेको रावलले बताएका छन् । प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ्यचौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेका छन् । पैँतालीस घरधुरी भएको करेलीकाँडामा रोगका कारण घरैपिच्छे बिरामी भएको र अहिलेसम्म २० भन्दा धेरै बिरामीलाई उपचार गरिएको स्वास्थकर्मीको टोलीले बताएको छ । प्रभावित क्षेत्रका बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिङ्गटा लाग्ने, शरीर दुख्नेजस्ता लक्षण देखिएको समेत स्वास्थकर्मीले बताएका छन् । डोल्पा क्षेत्र नं २ बाट निर्वाचित प्रदेशसभा सदस्यद्वय वीरबहादुर शाही र बद्मीकुमारी बोहोराले रोगका विषयमा कर्णाली प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस
सेञ्चुरी बैंक र गम्स एण्ड गिगल्स डेन्टलबीच सेवा सम्बन्धि सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच सेवा सुविधामा दिइने विषयमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरेका हुन् । काठमाडौंको कमलपोखरी स्थित गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको हो । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सो सम्झौता गरेको जानकारी दिएको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले गम्स एण्ड गिगल्स डेन्टलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउने छन् ।
विद्यालयहरुलाई चैत्र ५ गते अगाडि नै परीक्षा सक्न सरकारको आग्रह (सूचनासहित)
काठमाडौं । सरकारले विद्यालयहरुलाई चैत्र ५ गते अगाडि नै परीक्षा सक्न आग्रह गरेको छ । काेराेना भाइरसकाे संक्रमण र सन्त्रास बढ्दै गएको बेला सावधानी अपनाउनका लागि सरकारले यस्ताे आग्रह गरेकाे हाे । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो । यसका साथै सरकारले विद्यालयमा सभा, समारोह तथा भेला हुने क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ ।