भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष सञ्चालन

चितवन । नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो । हेल्थ डेस्क पुनः आजदेखि सञ्चालनमा ल्याइएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरले बुधबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो । प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो । महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार दुईजना प्यारामेडिक्स र एकजना नर्सिङ स्टाफ कक्षमा रहेका छन् । उनीहरुले जहाजबाट झरेका यात्रुहरुको अवस्था बुझेर शङकास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन् । विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ । ती बिरामीका कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको आइसोलेशन कक्षमा पठाइने व्यवस्था मिलाइएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रुहरु धेरै आउने हुँदा जोखिम हुन सक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष पुनः सञ्चालनमा ल्याइएको बताए । बीचको समयमा त्रास कम भएसँगै रोकिएकामा पुनः सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । यस्तै कार्यालयले आज सूचना जारी गरी हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउनेहरुलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । सूचनामा कोरोनाको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुहरुलाई हवाई यात्रा तथा विमानस्थल क्षेत्र प्रवेश नगर्न अनुरोधसमेत गरेको छ । भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् । ती जहाजबाट दैनिक आठ सय हाराहारी यात्रु आवतजावत गर्दछन् । रासस

कोरोना भाइरसः यी हुन् ३ प्रमुख लक्षण र बच्ने १९ उपाय

काठमाडौं । चीनबाट सुरु भएर संसारभर आतंक फैलाएको कारोना भाइरसको यकिन औषधी पत्ता लागेको छैन । कोरोना संक्रमण ७७ भन्दा बढी देशमा फैलिएको छ भने ९३ हजारभन्दा बढीलाई संक्रमण भएको छ, ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमण भएका व्यक्तिहरुको उपचार हुने दर भने ज्यादै धेरै छ । संक्रमित ९३ हजारमध्ये ५० हजारभन्दा बढी निको भएर घर फर्किसकेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संकट घोषणा गरिसकेको छ । कोरोना भाइरस उपचारको औषधी पत्ता नलागेको कारण यो संक्रमण भएको व्यक्तिको उपचारमा कति खर्च लाग्छ भन्ने यकिन अझै हुन सकेको छैन । अहिलेसम्म कोरोना संक्रमित सबैलाई सम्बन्धित देशले नै खर्च गरेर उपचार गरिरहेका छन् । कोभिड १९ भनेर चिनिने कोरोना भाईरसले अहिले विश्वलाई त्रसित पारिरहेको छ । काेराेनाकाे हालसम्म केही पनि औषधी पत्ता नलागेको हुँदा यसबाट बच्नको लागि हामीसँग मात्र एक उपाय छ त्यो भनेको यसको लक्षण र बच्ने तरिकामा विशेष ध्यान दिने भन्ने हाे । कोरानाको खासगरी ३ लक्षणहरु रहेका स्वास्थ्य विज्ञहरु बताउँछन् । यदि कसैमा यस्तो लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला । यस्ता ३ प्रमुख लक्षण यस्ता रहेका छन् – १. १०४ डिग्री फरहन्हाईट भन्दा उच्च ज्वरो आँउने । २. खासगरी खोकी लाग्ने र रूघा पनि देखिने । ३. श्वास प्रश्वासमा अत्याधिक समस्या देखिने । हाल नेपाल सरकारले टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कोरोना भाईरस जाँच्ने एकमात्र प्रयोगशालाको रुपमा तोकेको छ । यो जाँच्नलाई सरकारले निशुल्क गरेको छ । कसरी बच्ने ? कोरोनाबाट हामी आफु पनि बच्न सक्छौं र अरुलाई पनि बचाउन सक्छौं । हामी यसरी आफु र अरुलाई कोरोना लाग्नबाट बचाउन सक्छौं – १. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा अनिवार्य रूपमा पञ्जा तथा फेस मास्क लगाऔं । २. एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा वा परिवर्तन गरौं । ३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौं तथा दैनिकरुपमा सफा राखौं । ४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोली सकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔं वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं । ५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔं वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं । ६. घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौं । ७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं। नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसँग पकाएर मात्र खाने गरौं। ८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔं । ९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौं । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं। १०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनः प्रयोग गरौं । ११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसँग हात धोऔं । १२. यदी कसैलाइ ज्वरोसहितको रुघाँखोकी लागेको छ भने घरभन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै आइसोलेसन रुममा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔं। मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं । १३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔं । शरीर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं । १४.  साबुन पानीले २० सेकेण्डसम्म बारम्बार हात धुने गराैं । १५. खोक्दा र हच्छ्यु गर्दा नाक र मुख छोप्ने गराैं । १६. हातहरु मुख, नाकमा जथाभावी नलैजाने गराैं । १७. फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकहरुसँग परामर्श लिने गराैं । १८. फ्लुको लक्षण देखिएमा मास्क लगाउने र अन्य व्यक्तिहरुबाट टाढा बस्ने गराैं । १९. फ्लु जस्तो लक्षण देखाउने जो कोहीसँग पनि टाढा बस्ने गराैं । यस्ता सावधानी अपनाए काेराेना जस्ता श्वासप्रश्वासकाे माध्यमबाट सर्ने संक्रमणबाट आफू र अरुलाई पनि जोगाउन सकिने चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडाैं । मिर्गाैला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेका र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उनको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ । प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका  थिए ।