सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष स्थापना

भीमदत्तनगर ।  सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको बताए। “दार्चुला र बैतडीमा नेपाल–भारत सिमाना र कञ्चनपुरको गड्डाचौकी नाकामा डेस्क सञ्चालनमा आएको छ”, प्रवक्ता खड्काले भने, “गेटा विमानस्थल, धनगढीको नाका र कैलालीको खङ्ग्रोला नाकामा स्वास्थ्यकर्मीको टोली खटिएर जाँच थालेको छ ।” उनले सुदूरपश्चिममा जाँच गर्दा हालसम्म कसैलाई पनि कोरोनाको सम्भावित लक्षण नदेखिएको जानकारी दिएका छन् । सामाजिक विकास मन्त्रालयले गत माघको तेस्रो साता कोरोना भाइरस प्रतिकार्य तयारीका लागि नीतिगत निर्णयसमेत गरेको थियो । सुदूरपश्चिममा रहेका सरकारी तथा गैरसरकारी अस्पतालमा जाँचका लागि तयारी योजनासमेत बनाउन पहल भएको छ । त्यसैगरी कञ्चनपुरको गड्डाचौकी सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षा निकायले पनि नेपालबाट भारत जाने सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गर्नुका साथै सीमामा शङ्कास्पद लक्षण देखिए स्वास्थ्य जाँचसमेत गर्दै आएको छ । रासस

अब त्रिभुवन विमानस्थलबाट आवत-जावत गर्ने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गरिने

काठमाडौं । अब त्रिभुवन विमानस्थलबाट आवत-जावत गर्ने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गरिने भएकाे छ । आइतबारबाट लागु हुने गरी विमानस्थलबाट आवत-जावत गर्ने यात्रुकाे स्वास्थ्य  परीक्षण गरीने बताइएकाे छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमकाे सूचिमा राखेसँगै नेपालले सतर्कता अपनाएकाे हाे । अब सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले जाँच गर्नेछ । यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो ।

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई मेदान्त मेडिसिटी अस्पतालको सेवा शुल्कमा साे मात्राकाे छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा मेदान्त अस्पतालका सेल्स एण्ड मार्केटिङ्गका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरेका हुन् । यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ , लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।