कोरोनाको जोखिम न्यूनिकरणमा तीव्रताः मास्क संकलनदेखि नाका-नाकामा चिकित्सक

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिमको राष्ट्रमा राखिसकेपछि सबैतर्फ सर्तकता अपनाउन सुरु गरिएको छ । अहिले सरकारको ध्यान देशभित्र कोरोना छिर्न नदिन केन्द्रित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यो भाइरस बाहिरबाट आउने भएकोले विदेशबाटबाट आएका यात्रुहरुमा केन्द्रित गरेर काम गरिरहेका बताए । उनले हवाई यात्रामार्फत धेरै यात्रु नेपाल भित्रिने भएकोले त्रिभुवन अन्तार्रष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखेर काम स्वास्थ्य चेकजाँच गरिरहेका बताए । माघ १ गते देखि त्रिभुव हेल्थ डेस्क हवाई यात्रुहरुलाई चेकजाँच गर्नको लागि मन्त्रालयले विमानस्थलमा माघ १ गतेदेखि हेल्थ डेस्क संचालन गरेको छ । सुरुमा हेल्थ डेस्कमा १ जना डाक्टर राखिएको थियो । अहिले मन्त्रालयले १९ जना कर्मचारी खटाइएको छ । यात्रुहरुलाई चेकजाँच गर्नको लागि विमानस्थालमा दुइटा थर्मल स्क्यानर र ६ वटा ईन्फ्रारेड थर्मामिटर राखिएको छ । यात्रुको शरीरको १०० डिग्री फरनहाइटभन्दा माथिको तापक्रम थर्मल स्क्यानरले आफै नाप्ने हुनाले एयरपोर्ट हेल्थडेस्कले यसअघि स्कयानरबाट यात्रु पास हुँदा शरीरको तापक्रम बढी भएको अवस्थामा मात्र यात्रुहरुलाई छुट्टै बोलाएर परिक्षण गर्न गरेको थियो । तर, मानिसमा एयरपोर्टमा हेल्थ डेस्कले केही पनि जाँच गरेन भन्ने कुरा बाहिर आईसकेपछि मन्त्रलायले आइतबारदेखि यात्रुलाई विश्वास दिलाउन एक एक यात्रुलाई ह्याण्ड जाँच गरेर पठाउन सुरु गरेको छ । नाका–नाकामा चिकित्सक देवकोटाले मन्त्रालयले देशभरका ३७ नाकामा चिकित्सक पठाएको बताए । यसअघि स्वास्थ्यकर्मीहरुले मात्र नाकाहरुमा चेकजाँच गरिरहेका थिए । त्यससँगै हरेक प्रदेशमा मन्त्रलायले स्वास्थ्य सेवा विभागको टोलीहरु सम्बन्धित सामाग्री सहित गइसकेका छन् । उनीहरुले प्रादेशिक सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरेर भारत छुने नाकाहरुमा निगरानी बढाइएको देवकोटाले जानकारी दिए । परीक्षणका लागि अस्पताल तयार कोरोना देखि हालेको अवस्थामा मन्त्रालयले विभिन्न अस्पताहरुमा आइसोलेसन बेडको व्यवस्था गरेको छ । मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पताललाई ४० बेडसहित पहिलो सुचीमा राखेको छ । यसबाहेक नेपालका सबै ठूला अस्पतालहरुलाई मन्त्रालयले हब अस्पतालको रुपमा राखेको छ । मन्त्रलायले ५ वटा हब र ३६ वटा स्याटेलाइट अस्पताल तोकेको छ । विरेन्द्र सैनिक अस्पताल,पाटन अस्पताल, सिभिल अस्पताल, भक्तपुर अस्पताल तथा त्रिवि शिक्षण अस्पताल गरी ५ वटा हब अस्पतालका रुपमा तोकिएका छन् । स्याटलाइट अस्पतालका रुपमा कीर्तिपुर अस्पताल, नेपाल मेडिकल कलेज, नर्भिक हस्पिटल, स्टार हस्पिटल, नेपाल मेडिसिटी हस्पिटल आदि गरी ३६ वटा अस्पताल रहेका छन् । भक्तपुरमा क्वारेन्टाईन भक्तपुरको खरिपाटीमा सरकारले चीनको वुहानबाट ल्याइएका १ सय ७५ विद्यार्थीहरुलाई हालै बिदाई गरेको छ । उक्त स्थानलाई क्वारेन्टाईनकै रुपमा राख्ने सरकारले निर्णय गरेको छ ।  टेकुमा मात्र परीक्षण गर्ने ल्याब हाल कोरोनाको परीक्षण गर्ने ल्याब टेकुमा मात्र रहेको छ । टेकुको राष्ट्रिय स्वास्थ्य जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गरिन्छ । हालको लागि परिक्षण शुल्क निः शुल्क रहेको छ । २४ घण्टा देखि ४८ घण्टाको अवधीमा यसको नतिजा आउने प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् । बजारबाट मास्क संकलन शुरु बजारमा मास्क पाउन छाडेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजारबाट मास्क संकलन गरी मास्कको भण्डारण सुरु गरेको छ । औषधी व्यवस्था विभागसँगको समन्वयमा मन्त्रालयले मास्क संकलन गरी भण्डारण सुरु गरेको हो । मन्त्रलायले पहिलो दिन २५ हजार मास्क संकलन गरेको प्रवक्ता विकास देवकोटाले बताए । नेपालमा मास्क उत्पादन गर्ने ३ वटा कम्पनी रहेका छन् । नेपाल आफ्नै भने मास्क उत्पादन गर्न क्षमता एकदमै न्यून छ अझ त्यसमाथि मास्क बन्ने कच्चा पदार्थ पनि बाहिरबाट आउने भएकोले मास्क उत्पादन झनै कम भएको र बजारमा नदेखिएको देवकोटाको भनाइ छ । चीनबाट नेपालले सबैभन्दा धेरै मास्क आयात गर्छ । भारतबाट पनि नेपालले मास्क आयत गर्दछ । तर, त्यहाँ पनि चीनबाट नै आयत हुने भएकोले सबैतर्फ मास्कको समस्या देखिएको हो । पोखरामा ६० आईसोलेसन बेड निर्माण सम्भावित जोखिम नियन्त्रणको लागि गण्डकी सरकारले पोखराको विभिन्न अस्पतालको समन्वयमा ४ दर्जनभन्दा बढी बेड तयारी अवस्थामा राखेको छ । पोखराको चिवेक अस्पतालमा २७, गण्डकी मेडिकल कलेजमा १५, मनिपाल अस्पतालमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तगर्त पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ३ बेड तयारी अवस्थामा राखेको छ । यस्तै, चिकित्सकहरुलाई तालिम दिने तयारी गण्डकी प्रदेशले गरिरहेको छ । ं

हामी औषधीको अभाव हुन दिन्नौं: औषधी उत्पादक संघ

काठमाडौं । नेपाल औषधी उत्पादक संघले कुनै पनि अवस्थामा औषधीको अभाव हुन नदिने बताएको छ । संघले जुनसुकै देशबाट कच्चा पदार्थ आयत गर्न सक्ने र कुनै पनि अवस्थामा औषधीको अभाव हुन नदिने बताएको हो । नेपालले चीन र भारतबाट सबैभन्दा बढि कच्चा पदार्थ आयत गर्दछ । तर, अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा भारतले २६ वटा कच्चा पदार्थ र उत्पादनमा रोक लगाएको छ । भारतले  निर्यातमा रोक लगाएपछि नेपालमा हाहाकार हुने भन्ने सरोकारवालाहरुको प्रश्नलाई प्रस्ट पार्दै संघले चीनबाट अझैं पनि कच्चा पदार्थ आइरहेको र अन्य देशबाट पनि आयत गर्न सक्ने बताएका हो । संघका महासचिव अधिकारीले चीन र भारतबाट कच्चा पदार्थ आयत गर्न सजिलो भएको कारण मात्र  त्यहाँबाट सामान आयत गरेकाे बताए । यसको मतलब नेपाल अन्य देशबाट पनि आयत गर्न सक्दैनौं भन्ने नभएकाे उनकाे धारणा छ । यस्तै, आफुहरुसँग ३ महिनाको लागि बनिसकेको औषधी र बाँकी ३ महिनाको लागि औषधी बनाउने कच्चा पदार्थ भएको संघले जनाएकाे छ । नीतिगत रुपमा नेपाल औषधी बनाउन आत्मनिर्भर छ  तर व्यावहारिक पाटोमा विदेशी कम्पनिहरुलाई औषधी उत्पादन गर्न दिने सरकारलाई संघले आरोप पनि लगाएको छ । आफुसँग ७५ प्रतिशत औषधी उत्पादन गर्न सक्ने क्षमता भएको तर सरकारले ४५ प्रतिशत मात्र बजार दिएको आरोप उनीहरुको छ ।

कोरोना भाइरस रोक्न जुट्यो फेसबुक !

काठमाडौं । आजभोलि संकटको समयमा सूचना लिन विश्वभरका करोडौं मानिस सामाजिक संजाल फेसबुकमा भर पर्छन् । अहिले विश्वका ७६ देश कोरोना भाइरससँग लडिरहेका छन् । नेपाल पनि विभिन्न कार्यक्रम स्थगन गरेर तथा कोरोना रोकथामको लागि विभिन्न उपाय अपनाएर सतर्क अवस्थामा छ । अहिलेसम्म विश्वभर कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या ९३ हजारभन्दा बढी भएको पुष्टी भइसकेको छ भने करिब ३ हजार जनाले ज्यान गुमाइसकेका छन् । यस्तो परिस्थितिमा विश्वको सबैभन्दा धेरै मासिन आवद्ध रहेको सामाजिक संजाल फेसबुकले कोरोना भाइरस सम्बन्धी सही सूचना तथा जानकारी प्रवाह गर्न तथा सर्वसाधारणलाई आतंकित पार्ने भ्रमपूर्ण सूचना तथा जानकारी रोक्न के कस्तो पहल गरिरहेको छ भन्ने प्रश्न उब्जिएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार उनको कम्पनी फेसबुक स्वास्थ्य अधिकारीहरुका साथ काम गरिरहेको छ । ‘कोरोना भाइरसका बारेमा सबैले सही सूचना तथा जानकारी प्राप्त गर्न सकून भनेर हामी प्रयास गरिरहेका छौं,’ जुकरबर्गले भनेका छन् । उनका अनुसार जब कुनै फेसबुक प्रयोगकर्ताले फेसबुकमा कोरोना भाइरस शब्द खोज्ने वित्तिकै सो व्यक्तिले एउटा सन्देश देख्नेछ र धेरै जानकारी प्राप्त गर्नको लागि विश्व स्वास्थ्य संगठन वा स्थानीय स्वास्थ्य विभागको फेसबुक पेजमा लैजान्छ । यसको साथै फेसबुकले आफ्नो पेजमा विश्व स्वास्थ्य संगठनको विज्ञापनका लागि स्थान निःशुल्क उपलब्ध गराएको छ । जुकरबर्गका अनुसार उनको कम्पनीले कोरोना भाइरस कोभिड १९ नियन्त्रणको लागि पहल गरिरहेका अन्य संस्थाहरुको फेसबुक पेजमा लाखौं रुपैयाँको विज्ञापन दिने भएको छ । सोसल मिडियामार्फत आउने अफवाह तथा गलत जानकारी रोक्नका लागि फेसबुकले काम गरिरहेको जुकरबर्गको भनाइ छ । जुकरबर्गका अनुसार फेसबुकमा आफ्नो अनुभव सेयर गर्ने अधिकार सबैलाई छ । तर, गतल जानकारी तथा विभिन्न खालका अड्कलबाजी भने फेसबुकबाट हटाइएको छ । संकटको बेलामा व्यक्तिगत लाभ लिन खोज्ने कम्पनीका विज्ञापन पनि फेसबुकले ब्लक गरिरहेको छ । ‘कोरोना भाइरसको पूर्ण उपचार’ भन्ने जस्ता विज्ञापन फेसबुकले पूर्ण रुपमा ब्लक गरिरहेको छ । फेसबुक ग्रुपमा जे जस्तो कुराकानी भइरहेको छ, त्यस्ता कुराकानीको विस्तृत रुपमा हेर्न र बुझ्न सक्नु नै कम्पनीको लागि सबैभन्दा महत्वपूर्ण काम हुने जुकरबर्गको ठम्याइ छ । जुकरबर्गले बेलायतको ५जी ग्रुपमा भएको पोस्ट र कुराकानीलाई उदाहरणको रुपमा उल्लेख गरेका छन् । सो ग्रुपमा रहेको एउटा पोस्टमा एक व्यक्तिले ‘बेलायत युरोपियन युनियनबाट हट्ने विषयलाई विषयान्तर गर्न कोरोना भाइरसको बारेमा अफवाह फैलाइदैछ’ भनेर पनि लेखेका छन् । जुकरबर्गका अनुसार एक व्यक्तिले ‘कोरोना भाइरस–अ ग्लोबललिस्ट टूल’ नामक एक युट्युव भिडियोको लिंक पोस्ट गरेका थिए । यो प्रकारको विषयमा फेसबुकले आफ्नो लडाई अघि बढाउन एउटा बेग्लै प्लेटफर्ममा भर पर्नुपरेको छ । युट्युव पनि यस्तो प्रकारको भिडियो रोक्नको लागि प्रयास गरिरहेको भन्दै उनले अफवाह रोक्ने प्रयास निकै कठिनपूर्ण भएको बताए । युट्युव र फेसबुकमा राखिएका कतिपय भिडियाले कोरोना भाइरसका बारेमा झुटो सन्देश दिइरहेको जुकरबर्गको भनाई छ । अझ रोचक कुरा त के छ भने जुकरबर्गले केही दिन अगाडि युट्युवमा यस्तो एउटा भिडियो सन्देश देखे, जसमा एक व्यक्ति आफूलाई बेलायतती ५जी विरोधी अभियान संचालन गर्ने व्यक्ति हूँ भन्थे र उनले कोरोना भाइरसका बारेमा झुटो दाबी गरिरहेका थिए । सो भिडियोमा ती व्यक्ति एउटा रसियन पेन ड्राइभ विक्री गर्ने प्रयास गरिरहेका थिए । सो पेन ड्राइभको प्रयोगबाट ५जी तथा कोरोना भाइरस फैलनबाट रोक्न सकिने दाबी गरिएको थियो । सामाजिक संजाल युट्युवले पनि यस्तो प्रकारको भिडियो राख्नु आफ्नो नियमको उल्लघन भएको बताएको छ भने त्यस्तो भिडियो राख्नेलाई युट्युवले ब्लक गरेको छ । फेसमास्क जुकरबर्ग आफैले फेसबुक जस्ता सामाजिक संजालमा यो त्रासदीको लाभ उठाउने गरी तयार पारिएका विभिन्न प्रकारका विज्ञापन राखिएका भेटेका छन् । त्यस्ता विज्ञापनको आशय नै धेरै मूल्यमा सामान विक्री गरेर लाभ उठाउने रहेको छ । जुकरबर्गका अनुसार उनले एउटा यस्तो विज्ञापन पनि देखे जसमा ‘२९.९५ अमेरिकी डलरमा एउटा यस्तो पेस मास्क खरिद गर्न सकिन्छ, जसले सबै प्रकारका फ्लूबाट प्रभावकारी ढंगले बचाउँछ । किनकि यस्तो मास्कमा आधुनिक कार्बन फिल्टर जडान गरिएको हुन्छ ।’ केही विज्ञापनमा त ६५ देखि १०० डलरमा चीनबाट सोझै आयात गरिएको कोभिड १९ मास्क विक्री गर्ने दाबी गरिएको छ । केही फेसबुक ग्रुपका मोडरेटरहरु कोरोना भाइरससँग सम्बन्धित अफवाहको विरुद्ध लेखिरहेका पनि पाइएको जुकरबर्गको दाबी छ । स्टप ५जी युके ग्रुपका एक सदस्यले आफ्नो एक स्थानीय समुदायसँग सम्बन्धित ग्रुपमा ‘५जी या अन्य कुनै पनि विषयमा संचारमाध्यममा आएका खबर बाहेक यदि कुनै प्रकारको भ्रामक जानकारी पोष्ट गर्यो भने उसलाई सो ग्रुपबाट हटाइनेछ’ भन्ने सन्देश लेखे । फेसबुकमा भएका कतिपय ग्रुपहरु त कोरोना भाइरसका बारेमा आउने भ्रामक जानकारी विरुद्ध अभियान संचालन गर्ने भनिएका छन् तर वास्तबमा उनीहरु नै भ्रामक जानकारीलाई बढावा दिइरहेका छन् । जुकरबर्गका अनुसार सामाजिक संजालमा हुने गलत जानकारी तत्काल रोक्न मुस्किल छ । किनभने फेसबुकले सबै प्रयोगकर्तालाई आफ्ना निजी विषय पोष्ट गर्ने स्वतन्त्रता दिएको छ । अर्काे सामाजिक संजाल ह्वाट्स एप ग्रुपमा कोरोना भाइरसका बारेमा धेरै चर्चा भएको हुन सक्ने जुकरबर्गको भनाइ छ । (बीबीसी हिन्दीमा रोरी सेलन–जोन्सले तयार पारेको रिपोर्टको भावानुवाद)