स्वास्थ्यकर्मीहरुको तलब काट्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छैन: प्रवक्ता डा. देवकोटा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना कोषको लागि स्वास्थ्यकर्मी र चिकित्सकहरुको तलबबाट काट्ने निर्णय अहिलेसम्म नगरेको बताएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना कोषको लागिस्वास्थ्यकर्मी र चिकित्सकहरुको तलबबाट काट्ने निर्णय अहिलेसम्म नगरेकोबताएका हुन् । देवकोटाले ३ देखि ७ दिनको तलब अन्य क्षेत्रमा काट्ने भनिएपनि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म यस्तो निर्णय नगरेको र स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलसँग काम गर्न आग्रह गरेका छन् । सरकारले विभिन्न तहमा कार्यरत सरकारी कर्मचारीको ३ देखि ७ दिनको तलब काट्ने निर्णय गरेको थियो ।
प्रदेश नं २: महामारीमा खटिँदा मृत्यु भए परिवारलाई ५० लाख, किसानको ब्याज सरकारले तिर्ने
जनकपुरधाम । प्रदेश नं २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु ५० लाख राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामती, अन्य सरकारी कर्मचारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सहयोगी स्वास्थ्यकर्मीको कोरोनाको सङ्क्रमणका कारण मृत्यु भए पीडित परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी गराए । त्यसैगरी, सो बैठकले लकडाउनले गर्दा किसान पीडित भएकोमा प्रदेश सरकारले किसानले बैङ्क तथा वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको व्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको छ । बैठकले कृषि फर्मका लागि किसानले रु पाँच लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ । रु पाँच लाखदेखि रु १५ लाख सम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, रु १५ लाखदेखि रु ३० लाखसम्म ऋणमा ४० प्रतिशत र रु ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम व्याज तिरीदिने निर्णय गरेको सरकारका प्रवक्ता यादवले बताए । यसका अतिरिक्त दूध, फलफूल, तरकारी, कुखुरा र माछामा यस निर्णय अतिरिक्त राहत उपलब्ध गराउने निर्णय भएको छ ।
छैन लमजुङमा थर्मल गन पनि
लमजुङ। महामारीका रुपमा विश्वमा फैलिरहेको कोरोना नियन्त्रण तथा रोकथामका आगि आवश्यक पर्ने स्वास्थ्यजन्य सामग्री पहाडी जिल्ला लमजुङमा छैन । मस्र्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्न पर्याप्त सामग्री तथा ज्वरो नाप्ने एउटा थर्मल गनविना नै स्वास्थ्यकर्मीले काम गरिरहेका छन् । यसबाहेक एन ९५ मास्क, पिपिईसमेत पर्याप्त नभएको स्वास्थ्यकर्मीको गुनासो छ । मस्र्याङ्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमनाथ घिमिरेले भने, “यस संक्रमणको बेला हामीले थर्मल गन खोज्दा पनि पाउन सकेनौँ । सबैभन्दा महत्वपूर्णमध्येको एक थर्मल गन पनि हो, योविना बिरामीको ज्वरो थर्मामिटरबाट नाप्नुपर्दा स्वास्थ्यकर्मी डराउनाका साथै संक्रमणको उच्च जोखिमसमेत छ ।” यस्तै ह्याण्ड स्यानिटाइजरसमेत अभाव भएकाले बिहीबार ५० थान ल्याइएको र सो पर्याप्त नभएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए । सरकारसँग पटकपटक पर्याप्त स्वास्थ्य सामग्रीको माग गर्दा पनि हालसम्म स्थानीय तहले पर्याप्त प्राप्त गर्न नसकेको जनप्रतिनिधिको दुखेसो छ । हालसम्म जिल्लामा रहेका आठ स्थानीय तहमध्ये ती स्थानीय तहबाहेकमा २१ थर्मल गन छन् । त्यस्तै जिल्लाका सबै स्थानीय तहमा गरी २९३ थान पिपिई छन् । जिल्लाभरि ४६५ मात्र ह्याण्ड स्यानिटाइजर छ । त्यस्तै भिटिएम २० वटा बेँसीशहर नगरपालिकामा रहेको जिल्ला सामुदायिक अस्पताल, क्विक रेस्पोन्स टिमका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । रासस