मिस इङ्ल्याण्डकाे ताज उतारेर कोराना संक्रमितको उपचारमा खटिन भाषा मुखर्जी

काठमाडाैं । संकटको बेला बिरामीको सेवा नै सबैभन्दा ठूलो धर्म हुने गर्दछ । बेलायतकी सुन्दरी भाषा मुखर्जीले पनि अहिले आफ्ना मिस इङ्ल्याण्ड २०१९ को ताज उतारेर आफ्नो पेशामा फर्केकी छिन् । भारतीय मूलकी भाषा मुखर्जी बेलायती नागरिक हुन् । उनको बाल्यकाल भने कलकत्तामा बितेको थियो । ९ वर्षको उमेरमा परिवारसँगै बेलायत गएकी उनी गत अगष्ट २०१९ मा मिस इङ्ल्याण्ड २०१९ चुनिएकी थिइन । सिएनएनलाई दिएको एक अन्तर्वातामा भाषाले गत साता बेलायत फर्केको बताइन् । सुन्दरीको ताज पहिरिएपछि संसारका बिभिन्न देशको भ्रमणमा गएकी उनी कैयन् सामाजिक संस्थाको सदभावना राजदूत हुन् । संसारका बिभिन्न देशमा सामाजिक र मानवीय काममा नै सहभागी भएपनि अहिले देशमा कोरोना भाइरस फैलिएपछि आफूले सबै छोडेर पुरानो पेशामा फर्केको उनले बताइन् । संयोग नै भनौं मिस इङ्ल्याण्ड २०१९ चुनिनु अघि उनी बोस्टनको पिलग्रिम अस्पतालमा जुनियर डाक्टरको रुपमा कार्यरत थिइन् । उनी श्वासप्रश्वाससँग सम्बन्धि रोगको विशेषज्ञ पनि हुन् । यो त्यसै पनि कठिन निर्णय नभएको बताउँदै उनले देशलाई आफ्नो आवश्यकता परेकोले अरु देश जाने यात्रा बन्द गरेर बेलायत फर्केको बताइन् । बीबीसी हिन्दी

कोरोना भाइरसबाट पैसालाई कसरी संक्रमणरहित बनाउने ? डा. रवीन्द्र पाण्डेकाे धारणा यस्ताे छ

काठमाडाैं । हामीले दैनिक रुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा फोहोर हुन्छ | एउटा नोटमा सयौं किसिमका ब्याक्टेरिया, फंगस तथा भाइरस हुन्छन | पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकोले पैसा बिभिन्न रोगको संवाहक हुनसक्छ । कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन । नोटभन्दा क्वाइनमा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ । नोटमा २ दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ । रुघा लागेको व्यक्तिको म्युकस, मयल, ठाउँ अनुसारको फोहोर नोटमा लामो समयसम्म रहन्छ । स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहन सक्ने बताएको छ। क्यासको बिकल्पको रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ | कार्ड पनि संक्रमित हुनसक्छ । ओंलाइन कारोबार भने सुरक्षित मानिन्छ ।  – चीनमा कोरोना संक्रमण सुरु भएदेखि पुराना नोट नष्ट गरिंदै आएको छ | टर्कीमा पैसालाई संक्रमणरहित बनाउने मेसिनको प्रयोग गरिएको छ । त्यस्तै कोरियामा नोटलाई १५० डिग्री सेल्सियसको तापक्रम दिएर मात्र बजारमा पठाइन्छ भने हंगेरीमा नोटलाई १४ दिन क्वारेन्टाइनमा राखेर तथा १७० डिग्री से तापक्रम दिएर बजारमा पठाइन्छ | यसको लागि अल्ट्राभ्वाइलेट रे को प्रयोग गरिन्छ । त्यस्तै कुवेतमा पैसालाई ४ हप्ता क्वारेन्टाइनमा राखिन्छ भने अमेरिकाले पनि संक्रमित ठाउँबाट ल्याएको पैसालाई क्वारेन्टाइनमा राख्दछ । – अध्ययनले बताएको छ, १० % कोरोना भाइरस ४ घण्टासम्म मात्र नोटमा रहन्छ | जसलाई रातभर सुख्खा ठाउँमा राख्ने हो भने वा २ घण्टा घाममा राख्ने हो भने सामान्यतया संक्रमणरहित हुन्छ | केहि देशमा नोटलाई सर्फ पानीमा भिजाएर घाममा सुकाउने गरिएको पाइन्छ भने किटाणु मार्नको लागि नोटमा आइरन गर्ने पनि अभ्यास रहेको छ । –  क्वाइनलाई स्प्रिट वा स्यानिटाइजरले सफा गरेर घाममा सुकाएर सुरक्षित गरिन्छ | हाम्रो परिप्रेक्ष्यमा ग्लोभ लगाएर मात्र पैसाको कारोबार गर्ने, पैसालाई भान्सा, बैठक वा सुत्ने ठाउँमा नराख्ने, प्रयोग भएको पैसालाई सुख्खा ठाउँमा फिजारेर राख्ने तथा सामान किन्दा खुद्रा मिलाएर दिने ( पैसा फिर्ता लिनु नपर्ने गरि ) गर्नु उपयुक्त हुन्छ । –  यी जति उपाय गरेपनि सबैभन्दा प्रभावकारी उपाय भनेको हात धुने नै हो | पैसा छोएपछि हातले नाक, मुख तथा आँखामा नछुने एबम साबुनपानीले मिचिमिची हात धुने नै हो | जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेकाे फेसबुकबाट साभार गरिएकाे । 

सरकारकाे कोरोना कोषमा सहयाेग गर्ने बढे, हालसम्म करिब २ अर्ब रुपैयाँ जम्मा

काठमाडौं। सरकारले कोरोना कोषमा सहयाेग गर्नेकाे संख्या बढ्दै गएकाे छ । काेराेना राेकथाम तथा न्युनिकरणका लागि विभिन्न व्यक्ति तथा संस्थाले सरकारलाई सहयाेग गरेसँगै काेष पनि बढ्दै गएकाे हाे । हाल सम्म काेषमा एक अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बुधबार साँझसम्म एक अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको बताइएकाे छ। बुधबार मात्रै दुई करोड ७१ लाख पाँच हजार छ रुपैयाँ कोषमा जम्मा भएको छ । योसँगै अहिलेसम्म एक अर्ब ८८ करोड २९ लाख ३९ हजार ५३ रुपैयाँ कोषमा जम्मा भएको बताइएको हाे । बुधबार नेपाल लाइफ इन्स्योरेन्सले २४ लाख ३४ हजार, अर्थ मन्त्रालयले ११ लाख ९६ हजार, राष्ट्रिय समाचार समितिले पाँच लाख ८३ हजार, डिपार्टमेन्ट अफ हाइड्रोलोजीले चार लाख ३३ हजार, नारायणी अस्पतालले चार लाख ३१ हजार, रक्षा मन्त्रालयले दुई लाख ६७ हजार, न्याय परिषद् सचिवालयले दुई लाख ४३ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महिला आयोगले समान एक लाख ९४ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै, अहिलेसम्म नाम नखुलेको विभिन्न व्यक्ति तथा संस्थाबाट दुई करोड आठ लाख २० हजार ५८७ रुपैयाँ कोषमा जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेपालमा हालसम्म ९ जनामा काेराेना भाइरस देखिएकाे छ । जसमा एकजनालाइ निकाे भएर घर फर्किसकेका छन् भने ८ जना उपचाररत छन् । सरकारले पछिल्लाे समय काेराेना परीक्षणकाे दायरा पनि बढाएकाे छ ।