कञ्चनपुरमा र्यापिड टेष्ट विधिबाट परीक्षण शुरु
कञ्चनपुर। कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीका अनुसार बिहीबार शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० जना भारतबाट फर्केका व्यक्तिको र्यापिड टेस्ट गरिएको हो । क्वारेन्टाइनमा रहेका व्यक्तिसँगै पाँच स्वास्थ्यकर्मी र होम क्वारेन्टाइनमा रहेका एक व्यक्तिको पनि र्यापिड टेष्ट गरिएको छ । टेष्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको सुपरभाइजर जोशीले बताए । यस्तै बेलडाँडी गाँउपालिकाको क्वारेन्टाइनमा रहेका १२ जनाको र्यापिड टेष्ट गरिएको छ । र्यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले बताए। वेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेका क्वारेन्टाइनमा बस्दै आएका १५ जनाको समेत र्यापिड टेष्ट गरिएको छ । कञ्चनपुरमा भारतबाट फर्केका २३२ जना क्वारेन्टाइनमा छन् । सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ जिल्लामा र्यापिड टेष्ट विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना भाइरस जाँँच गर्ने निर्णय गरेको थियो । तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले र्यापिड टेष्ट विधिबाट परीक्षण गर्न शुरु गरेको हो । नेपालमा देखिएका नौ जना कोरोना सङ्क्रमितमध्ये कैलालीमा तीन, कञ्चनपुरमा एक र बाग्लुङमा दुई जना रहेका छन । कैलालीका तीन र कञ्चनपुरका एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रासस
दैलेखको एक नगरपालिकाले स्वास्थ्यकर्मीका लागि छुट्टै भत्ता दिने
दुल्लू । सरकारले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई विशेष सेवा सुविधा दिने व्यवस्था मिलाए पनि दैलेखको एक स्थानीय तहले तीबाहेक छुट्टै भत्ता दिने भएको छ । दैलेखको दुल्लु नगरपालिकाले आफ्ना कार्यक्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई छुट्टै प्रोत्साहन भत्ता दिने भएको हो । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र यो महामारी रोकथाम र नियन्त्रण गर्न उनीहरूको ठूलो योगदान हुने हुँदा उनीहरुका लागि छुट्टै भत्ताको व्यवस्थापन गरिएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । “निर्णयानुसार मेडिकल अधिकृतलाई रु तीन हजार, स्वास्थ्य कर्मचारीलाई रु दुई हजार र श्रेणीविहीन कर्मचारीलाई रु एक हजार ५०० प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराइने छ”, उनले भने । नगरपालिकाले स्थापना गरेको रु ६३ लाखको विपद् कोषबाट थप प्रोत्साहन भत्ता दिने ११ स्थानीय तहमध्ये दैलेखको यो पहिलो हो । तेह्र वडा रहेको यो पालिकामा दुई चिकित्सकसहित ११९ स्वास्थ्यकर्मी रहेका छन् । स्थानीय तहले यो विशेष सेवा दिनु एकदमै आवश्यक रहेको र स्वास्थ्यकर्मी पनि उत्साहित भएको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले जानकारी दिए । रासस
बैतडीमा ४ सय २५ को थ्रोट स्वाब सङ्कलन
काठमाडौं । क्वारेन्टाइनमा बसेका बैतडीका ४२५ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तथा पञ्चेश्वरको कुलाउ गरी चार ठाउँमा टोली पुगेर स्वाब सङ्कलन गरेको हो । स्वाब सङ्कलन गरिएका नागरिकको स्वाबको काठमाडौँमा परीक्षण हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पुर्चौंडी नगरपालिकाको हाटमा १५९, नकालीमा ७१ र गहताडमा ११३ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको हो । यस्तै पञ्चेश्वरको कुलाउमा ८२ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । उहाँका अनुसार पञ्चेश्वरमा मेलौली नगरपालिकाको क्वारेन्टाइनमा बसेका चार र शिवनाथ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १२ गरी ८२ जनाको पञ्चेश्वरमा स्वाब सङ्कलन गरिएको हो । कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब सङ्कलनका लागि टोली बैतडी आइपुगेको हो । स्वाब सङ्कलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीयस्तरका स्वास्थ्यर्मीको सहभागिता थियो । जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका नागरिकको पनि थ्रोट स्वाब दोस्रो चरणमा सङ्कलन गरिने स्वास्थ्य प्रमुख भट्टले बताए । उनीहरुको स्वाब कहिले सङ्कलन गर्ने भन्ने विषयमा टुङ्गो नलागेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । अहिले क्वारेन्टाइनमा बसेका चार स्थानीय तहका नागरिकको थ्रोट स्वाब सङ्कलन गरिएको छ । उनीहरुको स्वाब परीक्षणपछि कसैको रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर गरिने र नेगेटिभ आएपछि २१ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने प्रमुख भट्टले बताए । बैतडीका विभिन्न ठाउँमा भारत तथा अन्य ठाउँबाट फर्केका ५१३ नागरिक क्वारेन्टाइनमा बसिरहेका छन् । रासस