साइबर सुरक्षाका लागि आर्यन श्रेष्ठ लाई ‘प्रेसिडेन्ट्स अवार्ड २०२६’

काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १० औँ दिक्षान्त समारोहमा बीएसआईटी तहमा अध्ययनपुरा गरेका विद्यार्थी आर्यन श्रेष्ठलाई ‘प्रेसिडेन्ट्स अवार्ड २०२६’ प्रदान गरेको छ ।  प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक तथा कार्यकारी अध्यक्ष लक्ष्मण केसीका अनुसार यो विद्यार्थीलाई प्रदान गरिने संस्थाको सबैभन्दा प्रतिष्ठित सम्मान हो ।

स्कुलले शैक्षिक उत्कृष्टता, नेतृत्व क्षमता, संस्थागत योगदान, सामुदायिक सेवा, सहकार्य र नवप्रवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विद्यार्थीमध्ये एक जनालाई प्रत्येक वर्ष उक्त सम्मान प्रदान गर्दै आएको जनाएको छ । प्राध्यापक तथा उच्च व्यवस्थापनका प्रतिनिधिहरूको विशेष समितिले यस वर्ष श्रेष्ठलाई अवार्डका लागि छनोट गरेको हो ।

उक्त समारोहमा एमबीएका मनोज ढुंगेल र विशाल अर्यालस एमएसआइटीका सुशील तिवारी र सुष्मिता श्रेष्ठस बीबीएका बिद्यासागर श्रेष्ठ र दिनेश पाठक र बीएसआइटीका प्राप्ति रिजाल र सरू खतिवडालाई यस बर्षको उत्कृष्ट विद्यार्थी अवार्ड प्रदान गरिएको थियो ।

'हामी यस्ता विद्यार्थी उत्पादन गर्न चाहन्छौँ जसले केवल डिग्री मात्र हासिल नगरी समाज, उद्योग र राष्ट्रका लागि सकारात्मक परिवर्तन ल्याउने क्षमता विकास गरून् र वास्तविक समस्याहरूको सिर्जनशिल समाधान गर्न सकुन । आर्यन श्रेष्ठ त्यही सोचको प्रतिनिधित्व गर्ने विद्यार्थी हुन्' अध्यक्ष केसीले भने ।

यस वर्षको ‘प्रेसिडेन्ट्स अवार्ड’ अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटीकी चिफ एकेडेमिक अफिसर डा। यिङ आइभर्सन र स्कुलका संस्थापक केसीले संयुक्त रुपमा प्रदान गरेका थिए । उक्त सम्मानअन्तर्गत श्रेष्ठलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

वेस्टक्लिफ युनिभर्सिटीअन्तर्गत प्रदान गरिने यो पुरस्कारलाई शैक्षिक उत्कृष्टता, नेतृत्व क्षमता, नवप्रवर्तनशील सोच, समाजमा पारेको प्रभाव तथा संस्थागत योगदानका आधारमा प्रदान गरिने सर्वोत्कृष्ट सम्मानका रूपमा लिइन्छ । यस पुरस्कार प्राप्त गर्नु सम्बन्धित विद्यार्थीका लागि मात्र नभई सम्पूर्ण शैक्षिक समुदायका लागि पनि गौरवको विषय मानिन्छ ।

अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै श्रेष्ठले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि आफूले सँगै काम गरेका विद्यार्थी, शिक्षक तथा कलेज समुदायको सामूहिक प्रयासको परिणाम भएको बताए । उनले आगामी दिनमा पनि साइबर सुरक्षा, प्रविधि, नवप्रवर्तन तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने सिर्जना गर्ने परियोजनाहरूमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

स्कुलका संस्थापम केसीका अनुसार श्रेष्ठले अध्ययन अवधिभर नवप्रवर्तन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । उनले कलेजमा साइबर सेक्युरिटी क्लब स्थापना गर्न महत्वपूर्ण भूमिका पनि खेलेका थिए । साइबर सेक्युरिटी क्लबका अध्यक्षका रूपमा श्रेष्ठले स्कुलमा अध्ययनरत विद्यार्थीका लागि आन्तरिक कार्यक्रमहरू तथा बाह्य सहकार्यमार्फत तीन सयभन्दा बढी विद्यार्थीलाई साइबर सेक्युरिटीका बारेमा मार्गदर्शन गरेका थिए । उनी सन् २०२२ मा ह्याकरअर्थ क्याम्पस एम्बासडर समेत बनेका थिए ।

श्रेष्ठले सामाजिक सञ्जालमा आत्महत्यासम्बन्धी सामग्री पहिचान गर्ने प्रणालीसम्बन्धी परियोजना विकास गरेका थिए । उक्त परियोजना एनसिई प्रोजेक्ट डेमोन्स्ट्रेसन प्रतियोगितामा पुरस्कृत समेत भएको थियो ।

उनले विभिन्न प्राविधिक तथा शैक्षिक कार्यक्रमहरूको आयोजना र समन्वय गर्नुका साथै विश्वका विभिन्न साइबर सुरक्षा संस्थासँग सहकार्य गर्दै विद्यार्थीहरूका लागि व्यवहारिक सिकाइका अवसर सिर्जना गरेका थिए ।

श्रेष्ठले कलेजमा सेक्युरिटी अपरेसन सेन्टर स्थापना गर्न पनि महत्वपूर्ण पहल गरेका थिए । उक्त केन्द्रले विद्यार्थीलाई वास्तविक साइबर सुरक्षा निगरानी, जोखिम विश्लेषण तथा साइबर घटनाको व्यवस्थापन सम्बन्धी व्यवहारिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्दछ । 

Share News