चिसो बढ्दा मौसमी फ्लुका बिरामी बढ्यो
विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउँछन् । उनी भन्छन्, 'जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू सङ्कुचित हुन्छन् । यसले टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी ल्याउछ । त्यसैले धेरै मानिसले टाउको भारी भएको, च्यापिएको जस्तो भएको वा निरन्तर दुखेको अनुभव गर्छन् ।' उनका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो । 'जाडोमा तिर्खा कम लाग्छ, त्यसैले मानिसले पानी कम पिउछन् । तर शरीरलाई पानीको आवश्यकता जाडोमा पनि उत्तिकै हुन्छ । पानीको कमी हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिन सक्छ,' उनी भन्छन् । चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्ने हुँदा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने गरेको चिकित्सकहरूको अनुभव छ । विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको डा खड्का बताउँछन् । 'यो दुखाइ समयमै ध्यान नदिए विस्तारै दीर्घरूप लिन सक्छ,' उनी भन्छन् । त्यसैगरी जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ ।साइनसमा सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्थासमेत आउन सक्ने चिकित्सकको भनाइ छ । यसैगरी माइग्रेनका बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन् । तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी तथा मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरू बताउँछन् । डा. खड्का भन्छन्, 'माइग्रेन हुँदा एकातर्फ मात्र टाउको दुख्ने, बान्ता आउने, उज्यालो र आवाज सहन नसक्ने लक्षण देखिन्छ । जाडो मौसम माइग्रेनका बिरामीका लागि निकै संवेदनशील समय हो ।' चिकित्सकका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’को कमी हुने र यसले मांसपेशी दुखाइ, थकान तथा टाउको दुखाइलाई थप बढाउने गर्दछ । उच्च रक्तचाप भएका व्यक्ति, दीर्घरोगी, वृद्धवृद्धा तथा लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्नेहरू जाडो मौसममा टाउको दुखाइको उच्च जोखिममा पर्ने समूहमा पर्छन् । डा. खड्काले सामान्य टाउको दुखाइलाई बेवास्ता नगर्न आग्रह गर्दै भन्छन्, 'बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि निको नहुने, दृष्टि धमिलो हुने, बान्ता आउने वा ज्वरोसँगै टाउको दुख्ने लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्छ ।' उनी भन्छन्, 'सही कारण पहिचान गरी समयमै उपचार गरेमा जाडो मौसममा देखिने अधिकांश टाउको दुखाइ नियन्त्रण गर्न सकिन्छ ।' टाउको दुखाइबाट बच्न चिकित्सकहरूले पर्याप्त पानी पिउने, न्यानो कपडा लगाएर घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने तथा घाँटी र काँधको हल्का व्यायाम गर्ने सुझाव दिएका छन् । जाडो मौसममा सानो लापरबाहीले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले दैनिक जीवनशैलीमा सचेतता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् । रासस
जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
काठमाडौं । जाडोयाम सुरु भइसकेको छ । तराईमा शीतलहरका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् । यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । केही दिन अघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको मृत्यु भएको छ भने परिवारका तीन जना बेहोससमेत भए । न्यानो बनाउने विभिन्न उपकरणहरूको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा ‘कार्बन मोनोअक्साइड’ जस्तो विषाक्त ग्यास जम्मा हुन सक्छ । यो ग्यास गन्ध, रङ्ग र स्वादरहित हुन्छ जसको सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्या हुने वा ज्यान जान सक्दछ । कन्सलटेन्ट जेनेरेल फिजिसियन डा. विवेकराज पौडेल भन्छन्, 'आगो, कोइला बल्न, ग्यास गिजर चलान अक्सिजन चाहिन्छ । त्यसले बलेर निक्लिने बाइप्रोडक्ट चाहिँ ‘कार्बोन डाइअक्साइड’ र कार्बोन मोनोअक्साइड’ हो । यी दुवै ग्यास बाहिर वातावरणमा मिसिन्थ्यो भने खासै फरक पर्थेन । बन्द कोठामा अक्सिजन सकिएर यी दुई ग्यास मात्र हुँदा हाम्रो शरीरले त्यो लिन बाध्य हुन्छ ।' उनका अनुसार यसका कारण मुटुको चालमा गडबड आउने, होसमा नहुने, सास फेर्न नसक्ने, रगतमा समस्या, एसिडको मात्रा बढ्ने जस्ता खालका अवस्थाहरु सिर्जना गर्न सक्छ । डा. पौडेल ती अवस्थामा फसेकालाई जति सक्दो छिटो उद्धार गरेर बाहिरी वातावरणमा राख्ने र अस्पतालमा ‘हाइ फ्लो’ अक्सिजनमा राख्नुपर्ने बताउँछन् । उनी भन्छन्, 'घटना थाहा पाइसकेपछि सकेसम्म छिटो उद्धार गर्नुपर्छ जसले गर्दा तत्कालीनका साथै दीर्घकालीन असरबाट बचाउन सकिन्छ । दीर्घकालीनमा कसैकोमा पहिलाको जस्तो चनाखोपन, मानसिक अवस्था छिटो छरितो नहुने र भुल्ने समस्या देखिन सक्ने हुन्छ ।' बर्सेनि यस्ता खालका दुर्घटना बढे पनि सर्वसाधारणहरु अझै यसबारे सचेत हुन नसकेको विज्ञ बताउँछन् । 'विभिन्न विद्युतीय उपकरणका साथै कोइला बाल्ने, आगो ताप्ने काम गर्नु छ भने बन्द कोठा राम्रो होइन । कोठा तथा बाथरुममा भेन्टिलेशन हुुनुपर्छ । सकेसम्म शरीर न्यानो राख्न न्यानो कपडा लगाउने, ओढ्ने चिजहरु प्रयोग गर्नुपर्छ । सुत्नुअघि कोइला निभाएर मात्र सुत्ने । यो मात्र नभइ हरेक सामानको प्रयोग गर्दा बन्द गरेर सुत्नु सबैभन्दा उत्तम उपाय हो', डा. पौडेल सुझाउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै जाडोमा आगो ताप्दा, हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा निम्न सावधानीहरु अपनाउन आग्रह गरेको छ : – हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने । – कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने । – आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराख्ने । – आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने । – हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने । – सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गर्ने । – गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने । – गिजर खोलेर लामो समयसम्म बाथरूममा नबस्ने । – गिजर प्रयोग गरेर नुहाउँदा सम्भव भएसम्म बाथरूमको झ्याल बन्द नगर्ने । रासस
देउराली जनता फर्मास्युटिकल्सको आम्दानी साढे २ अर्ब, बैंकको ऋण घटाउँदै
काठमाडौं । साढे तीन दशकदेखि सञ्चालनमा रहेको देउराली जनता फर्मास्युटिकल्सले साढे २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी गत वर्षको तुलनामा १६.१६ प्रतिशत अर्थात् ३२ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब २ करोड ३० लाख रुपैयाँ बढी आम्दानी गरेको थियो । नेपाली औषधि उद्योगको अग्रणी कम्पनीको रुपमा चिनिएको देउराली जनता सन् १९९१ मा स्थापना भएको हो । देउराली जनता फार्मास्युटिकल्सले मुटु रोग, मधुमेह, स्त्रीरोग तथा बाल स्वास्थ्य, ग्यास्ट्रोलोजी र हेपाटोलोजी, छाला रोगलगायतका क्षेत्रमा प्रयोग हुने सामान्य तथा विशेष खालका औषधिहरू उत्पादन गर्दै आएको छ । हाल कम्पनीले विभिन्न वर्गमा २५० भन्दा बढी प्रकारका औषधी उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । कम्पनीले सन् २०१८ मा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँ,सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२५ को जुलाईको मध्यसम्मको तथ्याङ्क अनुसार देउराली जनता फर्मास्युटिकल्सको करिब ७१ प्रतिशत इक्विटी सेयर कम्पनीका कार्यकारी निर्देशक तथा अध्यक्ष हरिभक्त शर्माको स्वामित्वमा रहेको छ । बाँकी सेयर उनको परिवारका सदस्य तथा अन्य व्यक्तिको नाममा रहेको छ । दीर्घ अनुभव, फराकिलो उत्पादन दायरा र स्थिर स्वामित्व संरचनाका कारण देउराली जनता फर्मास्युटिकल्स नेपाली औषधि बजारमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित हुँदै आएको छ । कम्पनीले देशभर २०० भन्दा बढी वितरकहरूसँग समन्वय गरेर व्यापार विस्तार गर्दै आएको छ । ‘मानव जीवनका लागि स्वास्थ्यभन्दा बहुमूल्य अरू केही छैन’ भन्ने मूल दृष्टिकोणका साथ देउराली-जन्ता फर्मास्युटिकल्सको स्थापना गरिएको हो । दीर्घकालीन रूपमा नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित कम्पनीले मानव जीवनजस्तो संवेदनशील र अमूल्य सम्पत्तिको संरक्षण तथा सम्वर्द्धनलाई आफ्नो प्रमुख मिसन बनाएको कार्यकारी सञ्चालक हरिभक्त शर्माले बताए । गुणस्तरीय औषधि उत्पादनप्रतिको गहिरो प्रतिबद्धता कम्पनीको डीएनएमै रहेको र घरेलु तथा क्षेत्रीय औषधि उद्योगको अग्रपङ्क्तिमा पुर्याएको उनको भनाइ छ । सन् १९९१ मा ज्वरो घटाउने औषधि एन्टिबायोटिक्स र भिटामिनजस्ता उत्पादनबाट यात्रा सुरु गरेको देउराली जनताले समयक्रमसँगै आफ्नो उत्पादन दायरा निरन्तर विस्तार गर्दै आएको शर्माले बताए । हाल कम्पनीले ट्याब्लेट, क्याप्सुल, मलहम, ड्राइ पाउडर तथा तरल डोज फर्मसहितका औषधि उत्पादन गरिरहेको उनले जनाए । नेपालमा औषधि कम्पनीहरूको संख्या बढेसँगै प्रतिस्पर्धा पनि वृद्धि भएपनि रणनीतिक सुधार, अत्याधुनिक उत्पादन प्रविधिको प्रयोग र गुणस्तरीय मानव संसाधन विकासमार्फत कम्पनीले आफ्नो अग्रणी स्थान जोगाउँदै आएको उनको भनाइ छ । उद्योगले बैंकको ऋण पनि घटाउँदै लगेको देखिन्छ । हाल उद्योगले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६ करोड १० लाख रुपैयाँ लिएको छ । जबकि सन् २०२४ मा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ ऋण थियो । त्यसअघि सन् २०२३ मा उद्योगले १ अर्ब १७ करोड ५६ लाख रुपैयाँ ऋण लिएको थियो ।