स्वास्थ्यकर्मीका निजी मेडिकल, अस्पतालमा औषधि अभाव
काठमाडौं । सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ-चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध बिरामीले नियमित रूपमा सेवन गर्ने थाइरोइड, कोलेस्टेरोल, उच्च रक्तचाप, सुगर र मुटुलगायतका औषधि नपाएको गुनासो गरेका छन् । तीन महिनाअघि थाइरोइडका औषधि नपाएर रित्तो हात फर्किएका तुलसी शर्माले मेडिकल पसलमा पुगेर औषधि लगे । दोस्रोपटक अस्पताल आउँदा पनि उहाँले थाइरोइडका औषधि पाएन । शर्मा प्रतिनिधि पात्र मात्रै हुन् । अस्पताल आउने बिरामीले परीक्षण राम्रो भए पनि औषधि नपाएको गुनासो गरिरहेका छन् । थाइरोइड २५ र थाइरोइड १२.५ को औषधि अहिले अस्पताल फार्मेसीमा उपलब्ध छैन । अस्पतालले समयमै औषधि ल्याउन नसक्दा बिरामी महँगो मूल्यमा औषधि खरिद गर्न बाध्य छन् । अस्पतालका केही स्वास्थ्यकर्मीको स्वार्थका कारण अस्पतालले सबै औषधि समयमै उपलब्ध गराउन नसकेको बिरामी बताउँछन् । अस्पतालका स्वास्थ्यकर्मी र फार्मेसीको बाहिर आफ्नो निजी पसल भएकाले अस्पतालमा औषधि अभाव बनाइराख्ने गरेको बिरामीको गुनासो छ । अस्पतालमा अहिले थाइरोइडका मात्र होइन, मुटुसम्बन्धी रोगको औषधि पनि अभाव छ । समय-समयमा जीवनजल र सिटामोलको समेत अभाव देखाउँदै आएको अस्पतालले गुणस्तरीय सेवालाई वृद्धि गर्दै अघि बढेको जनाए पनि औषधि खरिदमा ढिलाइ गर्दै आइरहेको छ । खासगरी स्वास्थ्य बीमाका बिरामीले औषधि नपाएको गुनासो गर्दै आएका छन् । अस्पतालमा स्वास्थ्य परीक्षण राम्रो भए पनि बीमामार्फत औषधि नपाएको अस्पतालमा उपचारका लागि आएका सिसम बोहोरा बताउँछन् । उनले चिकित्सकले सिफारिस गरेका अधिकांश औषधि अस्पतालको फार्मेसीमा नपाइएको गुनासो गरे । फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले औषधि ट्रान्सपोर्टमा आउन समय लागेको बताए । औषधिको मौज्दात हेरेर समयमै खरिद गर्दा यस्तो समस्या नआउने भन्दै धवलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले अभाव भएका औषधि तत्काल पूर्ति गर्ने प्रतिबद्धता जनाए । ‘औषधि अभाव हुन नदिन नियमित खरिद भइरहेकै हुन्छ तर धेरै औषधि खरिद तिहारलगत्तै ठेक्कामा जानेगरी तयारी गरिएको छ, फार्मेसीलाई चुस्त बनाउन थप लागिपर्छु,’ तिवारीले भने, ‘नागरिकलाई सर्वसुलभ ढङ्गबाट औषधि प्रदान गर्न व्यवस्थापन टिम खटेको हुन्छ, केही औषधि अभाव भएको गुनासो आएको छ, तत्कालै समस्या समाधान गर्छौँ ।’
स्वास्थ्य क्षेत्रको सुधारमा जुट्यो गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय
गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय स्वास्थ्य क्षेत्र सुधारमा जुटेको छ । सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको मन्त्रालय चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनमा जुटेको हो । कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट तथा कार्यसञ्चालन निर्देशिका र मापदण्ड तयार गरी सम्बन्धित निकाय तथा कार्यालयमा पठाइसकिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले मन्त्रालय र मातहतका निकायहरूले तदारुकताका साथ कार्यक्रम कार्यान्वयन गर्ने बताए । 'कार्यक्रम कार्यान्वयनमा कहीँकतै ढिलासुस्ती भएमा मन्त्रालय, मेरो सचिवालय वा म स्वयंलाई सम्पर्क गर्न अनुरोध गर्दछु', मन्त्री पाठकले भने, 'बजेट तथा कार्यक्रमको कार्यान्वयनबाट गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।' मन्त्री पाठकले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सिङ्गो प्रदेश सरकार र मन्त्रालयको नेतृत्वले गत वर्षदेखि पहल थालेको बताए । उनले चालु आवमा स्वास्थ्यका ४३ वटा कार्यक्रम कार्यान्वयन हुने जानकारी दिए । तीमध्ये केही कार्यक्रम पहिलोपटक गण्डकी प्रदेशमा लागू हुन लागेका छन् । मन्त्रालयले गत वर्ष प्रदेश मातहतका नौ अस्पताल स्तरोन्नति गरेको थियो । प्रदेश सरकार अन्तर्गतका कूल १४ अस्पतालको स्वीकृत शय्या सङ्ख्या तीन सयबाट बढाएर ७५० पुर्याइएको उनको भनाइ छ । 'अस्पताल स्तरोन्नतिको निर्णयसँगै सम्बन्धित अस्पतालमा चिकित्सकको दरबन्दी थप, उपकरण, बजेट तथा कार्यक्रमको व्यवस्था गरी पठाइएको छ', उनले भने, 'मन्त्रालय मातहतका निकाय र जिल्लास्तरका कार्यालयहरूको संरचनागत हेरफर गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रिपरिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा गइसकेको छ ।' धवलागिरि, गोरखा र मध्यविन्दु प्रदेश अस्पतालमा आँखा उपचार शिविर एवं मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि बजेट विनियोजन गरिएको मन्त्रालयका निमित्तसचिव डा रमेशकुमार केसीले बताए । धवलागिरि आयुर्वेद अस्पताल, गण्डकी आयुर्वेद अस्पताल र प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा गुदारोगको निःशुल्क स्क्रिनिङ तथा उपचार सेवा सुरु गरिने उनको भनाइ छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि यातायात तथा सञ्चार खर्च उपलब्ध गराइने भएको छ । मुस्ताङ र मनाङको उच्च हिमाली भेगमा उच्च भेगीय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । क्यान्सरका बिरामीको उपचारका लागि प्रदेश सरकारका तर्फबाट थप रु एक लाख उपलब्ध गराउनेगरी देशका विभिन्न छवटा अस्पतालसँग क्यान्सर उपचार सहायता कार्यक्रमको सम्झौता भइसकेको मन्त्रालयका निमित्तसचिव डा केसीले बताए । गर्भवती तथा नवशिशुहरूको ज्यान जोखिममा परेमा तत्काल निःशुल्क हवाई उद्धार गर्नेगरी मन्त्रिपरिषद्बाट निर्देशिका स्वीकृत भई कार्यान्वयनमा गएको उनको भनाइ छ । मन्त्रालयले गण्डकी प्रदेशभित्रका सहिद, बेपत्ताका परिवार, द्वन्द्वपीडित, विभिन्न आन्दोलनका घाइते, अपाङ्गता भएका व्यक्तिहरू, मिर्गौलापीडित, यौनिक अल्पसङ्ख्यकको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाएको छ । यस वर्षदेखि प्रदेशभित्रका पत्रकारहरूको पनि निःशुल्क स्वास्थ्य बीमा प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । सम्बन्धित अस्पतालबाटै प्रोत्साहन सुविधा पाउनेगरी मनाङ, मुस्ताङ, बागलुङको बुर्तिबाङ र गोरखाको आँपपिपल अस्पतालमा विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम लागू गरिएको निमित्तसचिव डा केसीले बताए । रासस
आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा रहेकी उनले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन् । देशमा रहेका दक्ष जनशक्तिलाई अत्यन्तै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने प्रधानमन्त्री कार्कीले बताइन् । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा छन् । मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो ।