जाजरकोट: सिधै भारतबाट घर, जिल्ला अस्पतालमा मात्र २ शय्याको आइसोलेसन

जाजरकोट । कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो । सयौँको संख्यामा भारतबाट सर्वसाधारण जाजरकोट पुगेका छन् । प्रहरीले सदरमुकाममा ‘कोरोनाबाट बच्न मास्क लगाऔँ’ जस्ता नारा लगाएर बजार परिक्रमा गरे पनि अन्य कुनै पनि निकायले सतर्कता अपनाएको देखिँदैन । जिल्ला अस्पतालमा समेत दुई शय्याको आइसोलेसनबाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन । ठाउँको अभावमा आइसोलेसन बनाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । नयाँ अस्पतालको भवन बन्दै गरेकाले पुराना अधिकांश भवन भत्काउँदा व्यवस्थापनमा समस्या भएको हो । अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरे पनि अहिलेसम्म खरिद भएको छैन । दुइ वर्षदेखि एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालमा बिरामी ल्याउन र लैजान समस्या हुँदै आएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै जाजरकोटमा विगत दुई दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा मात्र सङ्क्रमितको २० नाघेको छ । कोरोना जाँचका लागि आएकामध्ये ८० प्रतिशतलाई कोरोना देखिएको छ । भारत तथा अन्य ठाउँबाट आएका सयौँ सर्वसाधारणको जाँच गर्न बाँकी रहेकाले अझै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएको हुनसक्ने कार्यालयले जानकारी दिएको छ । अधिकांश डोल्पा यार्सा सङ्कलनतिर भारतबाट कमाइ नभएको भन्दै केही सर्वसाधारण उपल्लो डोल्पाका पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका छन् । नाकामा जाँच नहुँदा जहाँ गए पनि स्वतन्त्र भएका कारण सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँमा जान पाएका हुन् । रासस

फेरि निषेधाज्ञा गर्ने सीसीएमसीकाे निर्णय, मन्त्रिपरिषदमा सिफारिस

काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड-१९) सक्रिय संक्रमितको संख्याका आधारमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ। आइतवार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी र शहरी क्षेत्रमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो। सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । यस्तै (सीसीएमसी)ले सबै परीक्षा स्थगित गर्न पनि सिफारिस गरेको छ।

आइतबार ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै १४ सय बढी

काठमाडौं । नेपालमा आइतबार ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयका प्रवक्त प्राडा जागेश्वर गौतमको अनुसार आज ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएको ३१२२ जनामा उपत्यकाका मात्रै १४९८ जना रहेका छन् जसमा काठमाडौंका ११३२, ललितपुरको २७० र भक्तपुरको ९६ जना रहेका छन् । यो सहित नेपालमा सकृिय कोरोना संक्रमितको संख्या १९ हजार ३५२ जना पुगेको छ । यस्तै आज ४५० जना निको भएसँगैं हालसम्म २ लाख ७७ हजार ५७३ जना निको भएर घर गइसकेका छन । आज काेराेना संक्रमणकाे कारण २८ जनाकाे मृत्यु भएकाे छ ।