चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन
चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०÷२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमितलाई होमआइसोलेसन अथवा स्थानीय पालिकाले सञ्चालन गर्ने आइसोलेसनमा राखिनेछ । स्वास्थ्य अवस्था जटिल भएका सङ्क्रमितलाई भने अस्पताल आउन डिसिसिएमसीले आग्रह गरेको छ । यस्तै डिसीसिएमसीले चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)लगायतका निजी अस्पतालमा थप आइसोलेसन, एचडीयू, आइसीयू र भेन्टिलेटर निर्माण गरी सङ्क्रमितको सहज उपचार गराउन पनि आग्रह गरेको छ । यसमा सहजीकरण तथा समन्वयका लागि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको संयोजकत्वमा रहेको समितिलाई पुनः क्रियाशील बनाउन निर्देशन दिएको छ । जिल्लाभित्र अक्सिजन उत्पादन गर्ने सबै कम्पनीलाई क्षमताअनुसार अधिकतम अक्सिजन उत्पादन गरी मौज्दात राख्न पनि आग्रह गरिएको छ । बैठकले भरतपुर अस्पतालमा थप भेन्टिलेटरको व्यवस्था गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । रासस
बिपी प्रतिष्ठान धरानमा थप दुई सङ्क्रमितको मृत्यु
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए । डा पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उहाँलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको थियो । उनी पनि उच्च रक्तचापको बिरामी रहनुभएको थियो । दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । हालसम्म १२५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।
काठमाडाैंमा १६ गतेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द, यस्ता छन् गर्न पाइने र नपाइने काम
काठमाडौं । उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो । अत्यावश्यकबाहेक सबै सेवा स्थगित हुनेछन्। सार्वजनिक र निजी यातायात बन्द हुनेछन्। अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ। तर एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी चल्न पाउने भएका छन्। अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने निर्णय समेत भएको छ । त्यसैगरी होटल तथा रेष्टुरेन्टले होम डेलिभर गर्न अनुमति दिने तयारी छ। बैंक तथा वित्तीय संस्थाले तोकिएको मापदण्ड पालना गरेर सिमित जनशक्तिमा काम गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारी कार्यालयले पनि मापदण्ड पालना गरेर खोल्न सकिने व्यवस्था मिलाइएको छ। खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसल हरेक दिन निश्चित समयसम्म खोल्न पाइने छ। विद्यालय, पार्टी प्यालेस, सिनेमा हल, सार्वजनिक सभा तथा जुलुसलगायतका भीडभाड हुने गतिविधिमा यसअघि नै सरकारले प्रतिबन्ध लगाइसकेको छ।