‘सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गराउन कठिन’
काठमाडाैं । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने तर केही व्यक्तिले लापरवाही गर्नाले सार्वजनिक यातायात चढ्ने यात्रुमा कोरोना सङ्क्रमणको उच्च जोखिममा पर्ने खतरा बढेको छ । सार्वजनिक यातायातमा कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूर्णरुपमा कार्यान्वयन नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको यात्रुको गुनासो छ । उपत्यकाको भित्री भाग विशेष गरी चक्रपथभित्र चल्ने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड बढी पालना भएको देखिए पनि उपत्यकाको काठ क्षेत्र एवं लामो दूरीका सवारीमा पालना हुन नसकेको ललितपुर बुङ्मतीका यात्रु जयराम महर्जनले गुनासो गरे । उपत्यकाको मुख्य भागमा चल्ने सवारीमा मापदण्डअनुसार नै यात्रु चढेको देखिए पनि काठ क्षेत्रमा चल्ने यातायातमा बिहान कार्यालय र बेलुका कार्यालय फर्कने समयमा भीड हुने गरेको छ । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई मास्क दिएर मात्र यात्रा गराउनुपर्ने नियम सरकारले बनाए पनि प्रहरी कार्यालय आएपछि मात्र परिचालकले ‘कसैले मास्क लगाउनुभएको छैन कि ?’ भनी सोध्ने गरेका छन् । यात्रु चढ्ने बेलामै मास्क लगाएर मात्र यात्रा गर्नुस् भनेको नदेखिएको रत्नपार्कबाट भक्तपुरको कमलविनायक यात्रा गरिरहेकी यात्रु सविना कोजुले सुनाइन् । सबै तहका सरकारले कानून बनाउने तर कार्यान्वयनमा ध्यान नदिने गरेकाले महामारीका बेला कोरोना जोखिम उच्च भएको उनको भनाइ छ । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन समितिको व्यवस्था भए पनि प्रभावकारी रुपमा काम गर्न नसक्दा सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना हुन नसकेको हो । स्थानीय सरकारले स्थानीय मार्गमा चल्ने सार्वजनिक यातायातमा अनुगमन गरेर नियमन गर्न नसक्ने देखिएको यात्रु कोजुको गुनासो छ । स्थानीयस्तरमा चिनिने भएकाले भावी निर्वाचनमा प्रभाव पर्न सक्ने डरले पनि उपप्रमुख नेतृत्वको अनुगमन समितिको प्रभावकारी हुन नसकेको हो । उपप्रमुख आगामी निर्वाचनका स्वाभाविक रुपमा प्रमुखको दावेदार हुने र अनुगमन एवं कारवाहीको प्रक्रियामा जाँदा चुनावको माहोल बिग्रने विश्लेषणले काम नभएको यात्रुको विश्लेष्ण छ । स्थानीय तहका अनुगमन समितिले बजार अनुगमन गर्नुपर्नेमा त्यो हुन सकेको छैन । उपभोग्य वस्तुको विना कारण मूल्य वृद्धि भइरहँदा पनि अनुगमन समिति मूकदर्शक मात्र बन्ने गरेको उपभोक्ता मञ्चका सदस्य रोशन पोखरेलले बताए । पछिल्लो समय तेल, तरकारीलगायत खाद्यपदार्थको मूल्य एकाएक बढेको छ ।
उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ । अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको हो ।
चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन
चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०÷२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमितलाई होमआइसोलेसन अथवा स्थानीय पालिकाले सञ्चालन गर्ने आइसोलेसनमा राखिनेछ । स्वास्थ्य अवस्था जटिल भएका सङ्क्रमितलाई भने अस्पताल आउन डिसिसिएमसीले आग्रह गरेको छ । यस्तै डिसीसिएमसीले चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)लगायतका निजी अस्पतालमा थप आइसोलेसन, एचडीयू, आइसीयू र भेन्टिलेटर निर्माण गरी सङ्क्रमितको सहज उपचार गराउन पनि आग्रह गरेको छ । यसमा सहजीकरण तथा समन्वयका लागि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको संयोजकत्वमा रहेको समितिलाई पुनः क्रियाशील बनाउन निर्देशन दिएको छ । जिल्लाभित्र अक्सिजन उत्पादन गर्ने सबै कम्पनीलाई क्षमताअनुसार अधिकतम अक्सिजन उत्पादन गरी मौज्दात राख्न पनि आग्रह गरिएको छ । बैठकले भरतपुर अस्पतालमा थप भेन्टिलेटरको व्यवस्था गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । रासस