थप साढे ८ हजार जनामा संक्रमण पुष्टि, ६ हजार बढी निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ४७८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ । त्यस्तै, पछिल्लाे २४ हप्तामा ६ हजार १३५ जना संक्रमित निको भएका छन् । जुन हालसम्मकै उच्च हाे । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।

चुरोटको कर ७० प्रतिशत बढाऔं, राजस्व १२ अर्बले बढ्छः एनडीआरआई

काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) ले चुरोटमा अहिले लाग्दै आएको कर ७० प्रतिशतसम्म बढाउनु पर्ने निष्कर्ष निकालेको छ । प्रतिष्ठानले गरेको अध्ययन अनुसार चुरोटमा अहिले लाग्ने करमा ७० प्रतिशतले बढाउने हो भने वार्षिक १२ अर्ब रुपैयाँ राजस्व बढ्ने निष्कर्ष पनि निकालिएको छ । कोरोना भाइरस संक्रमणका कारण नेपालको अर्थतन्त्र थलिएको अवस्थामा चुरोट जस्तो हानिकारक पर्दामा लाग्ने कर बृद्धि गर्नु उपयुक्त हुने प्रतिष्ठानको भनाई छ । प्रतिष्ठानले वरिष्ठ अर्थविद्हरुको संलग्नतामा ३ वर्ष लगाएर गरेको अध्ययन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । ‘विश्व महामारीले देशको अर्थतन्त्र थलिएको अवस्थामा चुरोट जस्तो हानिकारक पदार्थमा लाग्ने कर बृद्धिले देशको राजस्वमा उल्लेखनीय टेवा पुग्ने र पदतमा कमि हुन गई एकातिर जनस्वास्थ्यमा फाइदा पुग्छ भने अर्काेतर्फ भविष्यमा हुने स्वास्थ्य खर्चमा पनि कमि ल्याउन सक्छ, त्यसैले आगामी आर्थिक वर्षको बजेटमा उक्त करमा ५० देखि ७० प्रतिशतले बृद्धि गर्नुपर्छ, यसो गर्दा राजस्वामा ८ देखि १२ अर्ब रुपैयाँ राजस्व बढी बृद्धि हुने देखिन्छ,’ प्रतिष्ठानले भनेको छ । प्रतिष्ठानले बृद्धि हुने भनेको राजस्व परिमाण अहिलेको रावस्वको तुलनामा ४२.६ प्रतिशतदेखि ६६.६ प्रतिशतसम्म बढी हो । यसरी कर बृद्धि गर्ने हो भने चुरोटको खपत १.४ प्रतिशतदेखि ६.९ प्रतिशतसम्म घट्न सक्ने प्रतिष्ठानको दाबी छ । कुल सरकारी राजस्वमा सूर्तीजन्य बस्तुबाट उठ्ने अन्तः शुल्कको हिस्सा अन्य देशको तुलनामा न्युन रहेको अध्ययनले देखाएको छ । सन २००९/१० मा सूर्तीजन्य बस्तुबाट प्राप्त हुने अन्तः शुल्कको योगदान, कुल राजस्वको २.५४प्रतिशत थियो भने सन २०१८/१९ मा यसको हिस्सा न्युन हुन गई १.८२ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । यस्तै, कोभिडको महामारीले गर्दा नेपालको अर्थतन्त्र पनि १.९ प्रतिशतले खुम्चिन गएको विश्व बैंकको तथ्यांकले देखाएको छ । दक्षिण एसियाली मुलुकमध्ये चुरोटमा सबैभन्दा बढि कर लगाउने देशमा बंगलादेश पर्दछ र सबैभन्दा बढि (कुल राजस्वको ९.५३ प्रतिशत) राजस्व संकलन गर्ने देशमा पनि पर्दछ । नेपालले पनि चुरोटमा कर वृद्धि गरि उल्लेखनीय राजस्व संकलन गर्ने राम्रो अवसर देखिएको अध्ययनको निक्र्याेल छ । अध्ययन अनुसार दक्षिण एसियाली देशमा बंगलादेशले ७१ प्रतिशत, माल्दिभ्सले ६८.७३ प्रतिशत, श्रीलंकाले ६६.१७ प्रतिशत, पाकिस्तानले ५६.३६ प्रतिशत र भारतले ५४.०४ प्रतिशत कर लगाउने गरेको प्रतिष्ठानले उल्लेख गरेको छ । नेपालले भने चुरोटमा ३० प्रतिशत कर लिने गरेको छ । यस्तो कर बृद्धि गरी ३ वर्षभित्रमा कम्तिमा पनि भारतको बराबर बनाउनु पर्ने अध्ययनको सुझाव छ । आर्थिक भार अत्याधिक, कर न्यून प्रतिष्ठानले गरेको अध्ययन अनुसार नेपालमा सन २०२० मा मात्र चुरोट र बिंडी सेवनका कारण निम्तिने रोगहरुको उपचारार्थ भएको प्रत्यक्ष र अप्रत्यक्ष खर्च, रोगीहरुको उत्पादकत्वमा आएको ह्रास र असामयिक मृत्यु समेत जोड्दा बर्सेनि करिब ४० अर्ब (कुल गार्हस्त उत्पादनको १.०४ प्रतिशत) रुपैयाँको आर्थिक क्षति भएको छ । यसमा धुवाँ रहित सूर्तिजन्य पदार्थको कारणले हुने प्रत्यक्ष तथा अप्रत्यक्ष क्षतिलाई पनि समावेश गर्ने हो भने माथि उल्लेखित लागतमा थप वृद्धि हुन जाने अध्ययनको ठहर छ । तर सन् २०२० मा चुरोट र बिंडीबाट संकलन भएको राजस्वको राशी भने १८.५५ अर्ब रुपैयाँ मात्र छ । सूर्तीजन्य पदार्थको सेवनको मात्रा घटाउनका लागि गरिएका विभिन्न प्रयासका वावजुद हाल नेपालमा सूर्तिजन्य पदार्थ सेवनकर्ताको संख्या निकै नै उच्च रहेको प्रतिष्ठानले उल्लेख गरेको छ । प्रतिष्ठानका अनुसार अहिले सूर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या ३२ प्रतिशत रहेको छ । यो संख्या बढ्दो क्रममा रहेको पनि उल्लेख गरिएको छ । कर बढाऔं, युवा बचाऔं अहिले नेपालको कुल जनसंख्याको झन्डै ४१ प्रतिशत हिस्सा युवाको छ । अहिलेको तथ्यांक हेर्दा करिब एक चौथाई युवा सूर्तीजन्य पदार्थको कुलतमा फसेका प्रतिष्ठानको अध्ययनले देखाएको छ । सूर्तीजन्य पदार्थ किफायती, पहुँच योग्य र सजिलै उपलब्ध गर्न सकिने भएको किशोर किशोरी र युवा यसको कुलतमा फसेको अध्ययनको ठहर छ । ‘चुरोटको बट्टा खोलेर एक खिल्ली चुरोट मात्र पनि किन्न सकिन्छ जसले गर्दा विद्यार्थीलाई चुरोट सस्तो र किन्न सजिलो भएको छ, युवामा भएको सूर्तीजन्य पदार्थको महामारी एक ठुलो चुनौती हो, सानै उमेरदेखि नै सूर्तीजन्य पदार्थ सेवनको सुरुवात गर्ने भएकोले युवालाई यसको लतमा फस्नबाट जोगाउनु पर्ने कुरा अत्यन्तै जरुरी देखिन्छ,’ अध्ययनमा भनिएको छ । भित्रन्न अवैध, हुन्न तस्करी नेपाल र भारतको खुल्ला सिमानाको कारणले नेपालमा चुरोटमा कर बढाइयो भने भारतको चुरोटभन्दा महँगो भई अवैध रुपमा भारतबाट नेपाल भित्रिन सक्छ भन्ने तर्क आउने गरेको छ । तर, तथ्यांक अनुसार भारतमा चुरोटको खुद्रा मूल्य नेपालको भन्दा अत्यधिक बढी भएकोले यस्तो सम्भावना भएको अध्ययनको ठहर छ । ‘भारतको गोल्ड फ्लेक किंग्स नामक चुरोट ४८० रुपैयाँ (२० खिल्लीको) पर्न आउछ भने सोही लम्बाइको नेपाली सूर्य लाईट चुरोट २७५ रुपैयाँ (२० खिल्लीको) पर्न आउँछ, जसलाई तुलना गर्दा भारतको चुरोट नेपाली चुरोट भन्दा लगभग ७५ प्रतिशतले महँगो देखिन्छ,’ अध्ययनमा उदाहरण दिदै भनिएको छ । नेपाली चुरोट भारतको भन्दा सस्तो भएकोले भारतको उत्तराखण्ड, बिहार जस्ता सिमानाका राज्यहरुमा प्रशस्तै बिक्री हुने गरेको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गर्ने गरेको भन्दै अध्ययनले नेपालमा चुरोटको कर बढाउदा भारतबाट नेपालमा अबैध चुरोट भित्रिन्छ भन्ने तर्क मिथ्या मात्र भएको दाबी गरेको छ ।

चिकित्सक, आइसियु र भेण्टिलेटर विहीन मुस्ताङ

काठमाडौं । अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरिएन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ । मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना सङ्क्रमित छन् । जिल्लाको चारवटै गाउँपालिकामा सङ्क्रमित पुगेका छन् । सङ्क्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आवश्यकता रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘यहाँ उच्च सजगता अपनाइएकै हो, अहिले लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दो छ’ स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले भने, ‘‘सङ्क्रमितलाई उच्च निगरानीमा होम आइसोलेसन र अस्पतालमा राखिएको छ ।’ मुस्ताङ अस्पतालमा छ शैयाको आइसोलेसन बनाइएको छ । ती छ वटै शैयामा अक्सिजनको व्यवस्था रहेको भएपनि भेण्टिलेटर र सघन उपचार कक्ष भने छैन । भेण्टिलेटर र सघन उपचार कक्ष नरहेका कारण चुनौतीबीच कोरोनाको सामना गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए । सामान्य समयमा समेत बाहिरी जिल्लाबाट मुस्ताङका विभिन्न स्थानमा भ्रमणको लागि पुग्ने सर्वसाधारणको लागि अक्सिजनको कमी हुने मुस्ताङले अहिले कोरोनासँग जुध्न अक्सिजनको समस्या टड्कारो बनेको छ । ‘स्थानीय तहमा पनि आइसोलेसन बनेका छन् तर अक्सिजन पुर्याउन सकिएको छैन्’ सहायक प्रजिअ अर्याल भने, ‘जनसङ्ख्या थोरै भएर के गर्नु छिरोलिएको ठूलो जिल्ला भएकाले व्यवस्थापनमा कठिन भैरहेको छ ।’ मुस्ताङमा १३ हजारको हाराहारीमा जनसङ्ख्या छ । महामारीको दोस्रो लहर शुरु हुँदादेखि नै सतर्कता अपनाएको मुस्ताङले महामारीको लहरलाई रोक्न भने सकेन । पहिलो चरणको कोरोनाको प्रभाव कम भएपछि जिल्लामा आन्तरिक पर्यटकको निकै चहलपहल बढेको थियो । यस अवधिमा नेपालमा रहेका विदेशी संस्थाका कर्मचारीदेखि नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको जिल्ला आवतजावतका कारण कोरोना भित्रिएको प्रशासनको ठम्याइ छ । दुई/चार दिन घुम्नेलाई रमाइलो लागे पनि बार्है महिना कष्टकर जीवन बिताएका मुस्ताङवासीलाई अहिले कोरोनाको कहरले झन पिरोलिरहेको छ । स्थानीय सर्वसाधारणभन्दा देशका अन्य जिल्ला र विदेशी पर्यटकको आवागमन धेरै हुने गर्दछ । कोरोनाको पहिलो लहर चल्ने बेला मुस्ताङ निकै कठोर बनेर रोगको सङ्क्रमणलाई रोक्न सफल भएको थियो । पहिलो चरणमा बिदामा घर हिँडेका कर्मचारी हुन् वा कामको सिलिसिलमा मुस्ताङ बाहिर निस्केका सर्वसाधारणले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यात्मक व्यवस्था जिल्लाभर गरिएको थियो । निकै कठोर बनेर जिल्लालाई सुरक्षित र सजग राखेको मुस्ताङले अहिले कोरोना महामारीको दोस्रो लहरसँग पौंठेजोरी खेलिरहेको छ । अहिले कोरोनाको दोस्रो भेरिएन्टको प्रभाव बढेपछि मुस्ताङ प्रवेशका लागि सिमित नाकाहरु मात्रै सञ्चालनमा छन् । नाकाहरुमा पहिलेदेखि नै कडाइ गरेको भए महामारीको कम प्रभाव पर्ने स्थानीयवासीको भनाइ छ । महामारीको दोस्रो लहरले पहिलोपटक केही दिन पहिला मुस्ताङकी एक महिलाको मृत्यु भएको थियो । सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएपछि जिल्लाका सम्बन्धित निकाय, स्थानीय निकाय र स्थानीयवासी सजग बनेका छन् । ‘हामीकहाँ अक्सिजन प्लान्ट छैन्, बाहिरबाट भरेर ल्याउँदा यही अवस्थामा सङ्क्रमण फैलिँदा कठिन छ’अर्यालले भने, ‘यो अवस्थाको मूल्याकङ्न गरेर हामीले निशेधाज्ञा गरेका छौँ ।’ जिल्लाभर एक जना समेत चिकित्सक नरहेका कारणले पनि बिरामीको उपचारमा समस्या भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख भण्डारी बताउँछन् । ‘हामीसँग जनशक्तिको पनि अभाव छ, विषेशज्ञ डाक्टर छैनन्, स्वास्थ्यकर्मी पनि चाहिने जति छैनन्’ उनले भने । यहाँका आइसोलेसनमा उपचरा गराइरहेका छ जना अहिलेसम्म बाहिरी जिल्ला पठाइएका छन्। श्वासप्रश्वासमा समस्या भएपछि ‘हाइकेयर युनिट’ मा उपचार गर्न सकिने बिरामी समेत पोखरा, काठमाडौँ पठाउने गरिएको छ । रासस