भेन्टिलेटर, एचडियू र आइसियूका श्यया चाहिए बिएण्डसी अस्पताल आउनु आग्रह

काठमाडाैं । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी , आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टिकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको दाबि गरिइएको छ । अहिले अस्पतालमा प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी काठमाडौं, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा, चितवन , कास्की , बाँके, मुगु, डोटी र कैलाली लगायतका जिल्लाका सङ्क्रमित उपचाररत् छन् । महङ्गो ‘हवाई लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौँ सहित विभिन्न जिल्लामा भेन्टिलेटर, सघन उपचार कक्ष (आइसियू) तथा अक्सिजनका चरम अभाव हुन थालेपछि सङ्क्रमित बिएण्डसीमा उपचारार्थ जानेक्रम जारी छ । अहिले भर्ना भएका सङ्क्रमित बिरामीका स्वास्थ्यावस्था सुधारोन्मुख, भेन्टिलेटर मुक्त र डिस्चार्ज हुनेक्रम जारी भएको अस्पतालले जनाएको छ । शनिबार मात्र जनता बैँकका पूर्व अध्यक्ष एवम् ग्लोबल बैँकका निर्देशक केशव रायमाझी र उनका पत्नी पवित्रा रायमाझी ‘हवाई लिफ्ट’ गरी अस्पतालमा भर्ना भएकाे अस्पतालले जनाएको छ । बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईँद्वारा आज जारी विज्ञप्तिमा कोरोनालाई जितेर बिएण्डसीबाट घर फर्किने दर उच्च र जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा कोरोनाका सङ्क्रमितका लागि अति आवश्यक पर्ने भेन्टिलेटर , ,एचडियू, आइसियू तथा अक्सिजनको हालसम्म अभाव छैन । बिरामीका जीवन बचाँउने ती सामग्रीको आवश्यक व्यवस्था मिलाएका छौँ ।’ अस्पतालले सङ्क्रमितलाई उपचार गर्न हाल २०० श्यया सञ्चालनमा ल्याएको छ । ‘हवाई लिफ्ट’ गरी सङ्क्रमित धमाधम बिएण्डसी आउनेक्रम जारी रहेपछि अस्पतालले विशेष कोभिड श्यया थपेको थियो । आवश्यकता परेमा श्यया थपिने र आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आउन अन्तीम तयारी भइरहेका विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा मौज्दात रहेका ६५ भेन्टिलेटर सहित आइसियू मध्ये गम्भीर सङ्क्रमितका लागि छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उल्लेख छ । अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कूल ९०० श्यया छ । ‘महामारीसँग जुध्न ’¥यापिड रेस्पोन्स टिम’ सक्रिय छ । अस्पताल आउने सङ्क्रमित वृद्धि भएमा आवश्यक पर्याे भने सबै श्यया उपचारमा लगाउन सकिन्छ । यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ । उपचारको अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने नै अस्पतालको ध्येय रहेको छ ।’ कार्यकारी निर्देशक प्रसाईँले भने । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थाेका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहनुभएको अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमितलाई भरतपुर अस्पतालको टेलिफाेन परामर्श सुरु

चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमितका लागि शय्या, अक्सिजन, बिरामीले होमआइसोलेशनमा रहँदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्नेछन् । त्यसका लागि ०५६–५९६०९० मा सम्पर्क गर्न सकिने उनले बताए । डेस्कका लागि १० चिकित्सक तथा छ पारामेडिक्सलाई जिम्मेवारी तोकिएको छ । बिहान७ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट्, दिउँसो १ देखि साँझ ७ बजेसम्म अर्को र रातिको समयमा गरी तीन सिफ्ट्मा २४सै घण्टा सेवा सञ्चालनमा गरिएको छ । अस्पतालमा आएका बिरामीले समेत आकस्मिककक्षसँगै रहेको ‘कोभिड–१९ हेल्थ डेस्क’मार्फत कोरोनासँग सम्बन्धित सम्पूर्ण जानकारी लिन सक्नेछन् । सङ्क्रमितलाई शय्या बुझ्न, सामान्य जिज्ञासा तथा समस्याका लागि अस्पताल आइराख्नुपर्ने समस्या केही हदसम्म समाधान हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले बताए । अस्पताल आउँदा हुनसक्ने कोरोना सङ्क्रमणसमेत कम गर्न सकिने तिवारीले विश्वास व्यक्त गरे । जिल्लामा अहिले तीन हजार ७४१ सक्रिय सङ्क्रमित छन् । तीमध्ये २१४ अस्पतालको आइसोलेशनमा, तीन हजार ५२४ होमआइसोलेशनमा र तीन जना सार्वजनिक आइसोलेशनमा उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १६३ को मृत्यु भइसकेको छ । रासस

हाम्रो स्वास्थ्य प्रणाली कोल्याप्स भएको होइन, महामारीलाई धान्ने प्रणाली अपुग भएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीबाट विरामी भएका नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य उपकरणको तत्काल व्यवस्थापनका लागि निर्देशन दिएका छन् । विभिन्न अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र, मन्त्री र सरकारी निकायसँगको विशेष छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका लागि तीव्र रफ्तामा काम गर्न निर्देशन दिएका हुन् । कोभिड १९ को दोस्रो भेरियन्ट संक्रमणका सन्दर्भमा आयोजित विशेष छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले चालेका कदमका विषयमा जानकारी दिंदै विभिन्न निकायले गर्नु पर्ने कामबारे निर्देशन दिएका थिए । तत्कालको काम अक्सिजन आपूर्ति प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षाका लागि आवश्यक अक्सिजन आपूर्ति, उत्पादन र वितरणमा लाग्न निर्देशन दिए । घरघरमा अक्सिजनको सिलिण्डिर राख्ने र अस्पतालमा अक्सिजन अभाव हुने गरेकोप्रति लक्षित गर्दै उनले त्यसका लागि आवश्यक सचेतना आवश्यक रहेको वताए । ‘सुरक्षाका मापदण्ड नअपनाउने, कोभिड लाग्छ भनेर अक्सिजन घरमै लगेर राख्ने प्रवृत्ति बढेको छ, यसले अस्पतालको विरामीलाई पनि बचाउन सक्दैन र घरमा राखेको अक्सिजनले पनि काम गर्दैन, यस कुरामा जनचेतना जगाउनु आवश्यक देखियो,’ प्रधानमन्त्री ओलीले भने । सरकारले तत्काल गर्ने कामको रुपमा अहिले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई लिएको उनको भनाई थियो । ‘अक्सिजन खरिद र वितरणका लागि तत्काल के के गर्नुपर्छ गर्ने, निजी अस्पतालमा बढेको नाफाखोर प्रवृत्ति हटाउने, भेन्टिलेटर अपुग भए तत्काल मगाएर त्यसको पूर्ति गर्ने काम गर्नु प¥यो, मानवीय संकटको बेला ३५ दिने सूचना पर्खेर बसे नागरिकको ज्यान जान्छ,’ उनले भने । विरामीलाई खोजेको औषधि र अन्य उपचार सामग्री नपाएर मर्छु भन्ने मनोविज्ञानबाट समेत मुक्त गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘विरामीले मैले खोजेको औषधि पाउँदिनँ, अक्सिजन पाउँदिनँ भन्ने सोच्नु नपरोस्, तत्काल उपलब्धता र सुलभताका लागि तपाईंहरु सबैको सक्रियता आवश्यक छ,’ उनले थपे । अफवाह फैलाएर ह्यारेसमेन्ट नगरौं प्रधानमन्त्री ओलीले मानवीय संकटका बेला तत्काल आवश्यक सामग्री खरिद गर्दा अफवाह फैलाएर जे कुरामा पनि भ्रष्टााचार नै हुन्छ भन्ने स्थायी प्रचारले काम गरिरहेकाहरुको मनोवल गिर्नेतर्फ सचेत रहन पनि आग्रह गरे । ‘भ्रष्टाचार भयो भने क्षम्य हुँदैन, तर मानव संकटलाई राजनीतिकरण गर्न स्थायी रुपमा भ्रष्टाचारको अफवाह फैलाएर महामारीसँग अग्रमोर्चामा लडिरहेकालाई ह्यारेसमेन्ट गर्ने, बदनाम गर्ने र कामबाट निरुत्साहित गर्ने प्रवृत्ति छ, मानवीय रक्षाको लागि गरेका प्रयासहरुलाई विकृत रुपमा ब्याख्या गर्ने पेशा नै भएकाहरुसँग सजग रहेर महामारीबाट जनतालाई वचाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने । ओलीले विज्ञहरुलाई आफूले प्रयोग गर्ने टर्मिनोलोजीमा परिवर्तन गर्न सुझाव पनि दिए । ‘हाम्रो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्नेजस्ता टर्मिनोलोजी प्रयोग नगरौं, महामारीलाई धान्ने प्रणाली अपुग भएको हो, कोल्याप्स भएको होइन, हामीसँग यसअघि नभएका प्रणालीहरुलाई पनि हामीले यसबीचमा विस्तार गरेका छौं, त्यसैले प्रणाली कोल्याप्स भएको होइन,’ उनले भने । महामारीलाई राजनीति लाभको विषय नबनाऔं विश्वव्यापी रुपमा आएको महामारी सबैको साझा समस्या भएको वताउँदै प्रधानमन्त्री ओलीले यसका विरुद्ध मिलेर सामना गर्नु पर्ने वताए । राजनीतिक विपक्षीहरुले सरकारले कामै गरेर भनेर महामारीबाट लाभ लिने प्रयास गरेको उनको दाबी थियो । ‘हाम्रा विपक्षीले भनेजस्तो सरकारले केही नगरेको होइन, सरकारले गरेको छ, गर्छ र गर्नेछ, सिमसिम पानीमा छाता ओढेर ओत लागेजस्तो आँधी आउँदा छाताले थेग्दैन । त्यस्तै भएको हो,’ उनले भने । छलफलमा सीसीएमसी र स्वास्थ्य मन्त्रालयका तर्फबाट अहिले भएका कामबारे रिपोर्ट प्रस्तुत गरिएको थियो । उपत्यकाका विभिन्न अस्पतालका सञ्चालक, अक्सिजन उत्पादक र वितरकहरुले आ–आफ्नो तर्फबाट महामारी नियन्त्रण प्रभावकारी बनाउनेबारे सुझाव दिएका थिए ।