बेड अभाव भएपछि भूँईमै राखेर उपचार गराईंदै

काठमाडौं । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीले भूँईमा बसेर उपचार गराईरहेका छन् । कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसँगै गम्भिर बिरामीको संख्या पनि थपिदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो । संघीय राजधानी काठमाण्डौको टेकू स्थित सरुवा रोग अस्पतालमा पनि बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भूँईमा नै राखेर विरामीको उपचार गराईएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बेड अभाव नभएको भनेर रटान लगाईरहेपनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै यस्तो दृश्य देखिएको छ । वेड अभाव भएपनि चिकित्सकहरुले आकस्मिक कक्ष बाहिर भूईं मै राखेर विरामीको स्वास्थ्य जाँच गरिरहेका छन् । आकस्मिक कक्ष बाहिर छरिएर बसेका विरामीहरु सबैले अक्सिजन लिईरहेका छन् । कतिपय विरामी त छत विनाको खुल्ला स्थानमा बस्न बाध्य भएका छन् । दिउँसोको घाम र रातको सित खेपेरै भएपनि उनीहरु कोरोनाको उपचार गराउन बाध्य भएका छन् ।

काेराेनाकाे रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

काठमाडाैं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।  

सनराईज फाउन्डेशनले टेकु अस्पताललाई हस्तान्तरण गर्यो दुईवटा अक्सिजन कन्सनट्रेटर

काठमाडौं । अक्सिजनको अभावलाई राहत दिनका लागि टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । आइतबार सनराईज फाउन्डेशन नेपालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको हो । अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले अक्सिजनको अभावमा कसैको पनि मृत्यु नहोस् भनेर अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको सनराईज फाउन्डेशन नेपालकी अध्यक्ष गंगालक्ष्मी अवालले बताइन् । उनले ८०/९० हजार मूल्य बराबरको ५ लिटर र ७ लिटर क्षमताको कन्सनट्रेटर अस्पताललाई दिइएको जानकारी दिइन् ।