कोभिडपछि मेडिकल ल्याबः पीसीआर परीक्षणबाटै साढे १ अर्बको व्यापार (देशभरमा कसको कति?)
काठमाडौं । नेपालमा कोभिड संक्रमण सुरु भएपछि मेडिकल ल्याबहरुको व्यापार बढेको छ । सामान्य अवस्थामा थोरै व्यापार गर्ने निजी क्षेत्रका ल्याबहरुले पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए नभएको यकिन गर्न गरिने पीसीआर परीक्षणबाट राम्रो व्यापार गरेका तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत बैशाख २३ गतेसम्ममा ल्याबहरुले १० लाख ५४ हजार २२६ नमुनाको पीसीआर परीक्षण गरेका छन् । यो संख्या सरकारी तथा निजी क्षेत्रबाट संचालित ल्याबहरुको मात्रै हो । अस्पतालका ल्याबहरुले गरेको परीक्षणको संख्या यो तथ्यांकमा समावेश छैन । नेपालमा कोभिड संक्रमण फैलन सक्ने भन्दै सरकारले २०७६ सालको चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेर पीसीआर परीक्षण गर्न सुरु गरेको थियो । सुरुमा सरकारी ल्याबहरुले निःशुल्क परीक्षण गरेका थिए । पछि निजी क्षेत्रबाट संचालित ल्याबहरुलाई पनि पीसीआर परीक्षण गर्ने अनुमति दिइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ को असार ८ गते एउटा निर्देशिका जारी गरेर निजी क्षेत्रका ल्याबहरुले पीसीआर परीक्षण गर्न पाउने बाटो खुल्ला गरेको थियो । सो निर्देशिकामा निजी क्षेत्रका ल्याबहरुले स्वाब संकलन गर्न नपाउने र सरकारी ल्याबहरुले संकलन गरेको स्वाब मात्रै परीक्षण गर्न पाउने भनिएको थियो । तर, २०७७ कै साउन १५ गते मन्त्रालयले निजी ल्याबहरुलाई पनि स्वाब संकलन गरेर परीक्षण गर्न पाउने गरी पहिलो पटक मूल्य पनि तय गरेको थियो । सो मूल्य अनुसार स्वाब पीसीआर गरेको प्रतिनमुना ५ हजार ५ सय रुपैयाँ लाग्ने बताइएको थियो । सरकारले पीसीआर परीक्षण शुल्क प्रतिनमुना ५ हजार ५ सय रुपैयाँ तोकेपनि निजी क्षेत्रका ल्याबहरुले सोभन्दा सस्तोमा पीसीआर गराउने घोषणा नै गरेका थिए । त्यसपछि मूल्य क्रमशः घट्दै गएको हो । सरकारले पछिल्लो समय पीसीआर परीक्षण गर्दा प्रतिनमुना १ हजार रुपैयाँ तोकेपनि सरकारी बाहेक निजी क्षेत्रबाट संचालित र अस्पतालहरुले संचालन गरेका प्रायः सबै ल्याबहरुले प्रतिनुमना २ हजार रुपैयाँमा स्वाब परीक्षण गरिरहेका छन् । कसले कति रुपैयाँको व्यापार गरे ? सरकारी ल्याबहरुले सुरुमा निःशुल्क परीक्षण गरेको र पछि प्रतिनमुना १ हजार रुपैयाँ शुल्क लिएर परीक्षण गर्न थालिएको छ । अहिले पनि लक्षणसहितका व्यक्तिहरुको निःशुल्क परीक्षण गराउने सरकारी निर्णय छ । यस्तै, पैसा तिर्न सक्दिन भन्ने व्यक्तिहरुलाई पनि निःशुल्क परीक्षण गराउने सरकारको निर्णयमा उल्लेख छ । सुरुमा निःशुल्क परीक्षण गरिएको र अहिले पनि केही नमुनाको परीक्षण शुल्क नलिई परीक्षण गराउने गरिएको कारण सरकारी ल्याबहरुले कति रुपैयाँको व्यापार गरे भन्ने यकिन छैन । तर, सरकारी ल्याबहरुले प्रतिनमुना १ हजार रुपैयाँको दरले शुल्क लिएका छन् भनेर आकलन गर्दा र निजी क्षेत्रका ल्याबहरुले प्रतिनमुना २ हजार रुपैयाँको दरले मात्रै शुल्क लिएका छन् भनेर मान्दा पनि पीसीआर परीक्षणबाट ल्याबहरुले यो अवधीमा १ अर्ब ४५ करोड ३३ लाख ७८ हजार रुपैयाँ बराबरको व्यापार गरेको देखिन्छ । सम्बन्धित समाचार १२ दिनको पीसीआरः निजीको साढे २३ करोड र सरकारी ल्यावको १६ करोडको व्यापार
पोखरामा ‘अक्सिजन बैँक’ स्थापना
फाइल फोटो कास्की । कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् । अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुु¥याउने गरी बैँक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन् । अटो मेकानिकल वर्कसपहरुमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालहरुमा उपलब्ध गराउने गरी अक्सिजन बैँक स्थापना गरिएको बताइएको छ । कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आपतकालीन अवस्थामा कसैलाई पनि अनावश्यक अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै अक्सिजन सिलिण्डर उपलब्ध गराएर आफूहरुको अभियानमा साथ दिन आग्रह गरेका छन् । उनले भने, ‘अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर लागि परेका छौँ । कोही कसैसँग अक्सिजन ग्यास सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिन अपिल गरेका छौैँ ।’ रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ लेकसाइड, रोटरी क्लब अफ न्यूरोड, रोटरी क्लब अफ अन्नपूर्ण, रोटरी क्लब अफ फिस्टेल, रोटरी क्लब अफ मिट टाउन र रोटरी क्लब अफ पोखरा लेखनाथले अक्सिजन बैँक स्थापनाको अभियान सुरु गरेका हुन् । गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखराका अस्पतालहरुमा पछिल्लो समय अक्सिजनको माग बढ्दो छ । अक्सिजन प्लान्ट रहे पनि सिलिण्डर अभाव भएपछि स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधिहरु सिलिण्डर खोजीमा जुटेका छन् । रासस
भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय पठायाे पत्र
भक्तपुर । मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र पठाएको हो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाएको जानकारी दिए । ‘कारवाहीको प्रक्रिया सुरु गरेका छौँ । त्यसका लागि अस्पताललाई पत्र पठाएका छौँ’, उनले भने । उनले अनुसन्धानका धेरै पाटो अहिले नै खुलाउन नहुने जानकारी दिँदै अस्पताललाई पत्र पठाएको स्पष्ट पारे । उनले भने, ‘यो अनुसन्धानको पाटो हो । धेरै कुरा अहिले नै खुलाउन नमिल्ला ।’ उनले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने बताए । पन्ध्र शय्याको स्विकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको थियो । स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना सङ्क्रमितलाई भर्ना लिइएको थियो । दिउँसोदेखि नै अक्सिजनको अभाव झेलेको अस्पतालले समयमा अक्सिजनको व्यवस्था गर्न नसकेपछि राति आइसीयु र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीलाई समेत निकालेर अन्यत्र लैजान बिरामीका आफन्तलाई दबाब दिएको थियो । सोही क्रममा अक्सिजन नहुँदा भेन्टिलेटरमा उपचाररत कोरोना सङ्क्रमित भक्तपुर कमलविनायकका ४५ वर्षीय पुरुषको सोही अस्पतालमा मृत्यु भएको थियो भने अस्पतालले अन्यत्र लैजानु भन्दै आइसीयुबाट बाहिर निकालेका पोखरा स्थायी घर भएका ६० वर्षीय पुरुषको अल्का अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सो अस्पतालले बिरामीलाई रिफरको कागजपत्र नदिई जबरजस्ती अन्यत्र लैजान भन्दै बिरामीलाई आइसीयुबाहिर निकालेको मृतकका आफन्तको आरोप छ । रासस