चुरोटको कर ७० प्रतिशत बढाऔं, राजस्व १२ अर्बले बढ्छः एनडीआरआई

<p>काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) ले चुरोटमा अहिले लाग्दै आएको कर ७० प्रतिशतसम्म बढाउनु पर्ने निष्कर्ष निकालेको छ । प्रतिष्ठानले गरेको अध्ययन अनुसार चुरोटमा अहिले लाग्ने करमा ७० प्रतिशतले बढाउने हो भने वार्षिक १२ अर्ब रुपैयाँ राजस्व बढ्ने निष्कर्ष पनि निकालिएको छ । कोरोना भाइरस संक्रमणका कारण नेपालको अर्थतन्त्र थलिएको अवस्थामा चुरोट जस्तो [&hellip;]</p>

काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) ले चुरोटमा अहिले लाग्दै आएको कर ७० प्रतिशतसम्म बढाउनु पर्ने निष्कर्ष निकालेको छ । प्रतिष्ठानले गरेको अध्ययन अनुसार चुरोटमा अहिले लाग्ने करमा ७० प्रतिशतले बढाउने हो भने वार्षिक १२ अर्ब रुपैयाँ राजस्व बढ्ने निष्कर्ष पनि निकालिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण नेपालको अर्थतन्त्र थलिएको अवस्थामा चुरोट जस्तो हानिकारक पर्दामा लाग्ने कर बृद्धि गर्नु उपयुक्त हुने प्रतिष्ठानको भनाई छ । प्रतिष्ठानले वरिष्ठ अर्थविद्हरुको संलग्नतामा ३ वर्ष लगाएर गरेको अध्ययन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

‘विश्व महामारीले देशको अर्थतन्त्र थलिएको अवस्थामा चुरोट जस्तो हानिकारक पदार्थमा लाग्ने कर बृद्धिले देशको राजस्वमा उल्लेखनीय टेवा पुग्ने र पदतमा कमि हुन गई एकातिर जनस्वास्थ्यमा फाइदा पुग्छ भने अर्काेतर्फ भविष्यमा हुने स्वास्थ्य खर्चमा पनि कमि ल्याउन सक्छ, त्यसैले आगामी आर्थिक वर्षको बजेटमा उक्त करमा ५० देखि ७० प्रतिशतले बृद्धि गर्नुपर्छ, यसो गर्दा राजस्वामा ८ देखि १२ अर्ब रुपैयाँ राजस्व बढी बृद्धि हुने देखिन्छ,’ प्रतिष्ठानले भनेको छ ।

प्रतिष्ठानले बृद्धि हुने भनेको राजस्व परिमाण अहिलेको रावस्वको तुलनामा ४२.६ प्रतिशतदेखि ६६.६ प्रतिशतसम्म बढी हो । यसरी कर बृद्धि गर्ने हो भने चुरोटको खपत १.४ प्रतिशतदेखि ६.९ प्रतिशतसम्म घट्न सक्ने प्रतिष्ठानको दाबी छ ।

कुल सरकारी राजस्वमा सूर्तीजन्य बस्तुबाट उठ्ने अन्तः शुल्कको हिस्सा अन्य देशको तुलनामा न्युन रहेको अध्ययनले देखाएको छ । सन २००९/१० मा सूर्तीजन्य बस्तुबाट प्राप्त हुने अन्तः शुल्कको योगदान, कुल राजस्वको २.५४प्रतिशत थियो भने सन २०१८/१९ मा यसको हिस्सा न्युन हुन गई १.८२ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ ।

यस्तै, कोभिडको महामारीले गर्दा नेपालको अर्थतन्त्र पनि १.९ प्रतिशतले खुम्चिन गएको विश्व बैंकको तथ्यांकले देखाएको छ । दक्षिण एसियाली मुलुकमध्ये चुरोटमा सबैभन्दा बढि कर लगाउने देशमा बंगलादेश पर्दछ र सबैभन्दा बढि (कुल राजस्वको ९.५३ प्रतिशत) राजस्व संकलन गर्ने देशमा पनि पर्दछ । नेपालले पनि चुरोटमा कर वृद्धि गरि उल्लेखनीय राजस्व संकलन गर्ने राम्रो अवसर देखिएको अध्ययनको निक्र्याेल छ । अध्ययन अनुसार दक्षिण एसियाली देशमा बंगलादेशले ७१ प्रतिशत, माल्दिभ्सले ६८.७३ प्रतिशत, श्रीलंकाले ६६.१७ प्रतिशत, पाकिस्तानले ५६.३६ प्रतिशत र भारतले ५४.०४ प्रतिशत कर लगाउने गरेको प्रतिष्ठानले उल्लेख गरेको छ ।

नेपालले भने चुरोटमा ३० प्रतिशत कर लिने गरेको छ । यस्तो कर बृद्धि गरी ३ वर्षभित्रमा कम्तिमा पनि भारतको बराबर बनाउनु पर्ने अध्ययनको सुझाव छ ।

आर्थिक भार अत्याधिक, कर न्यून

प्रतिष्ठानले गरेको अध्ययन अनुसार नेपालमा सन २०२० मा मात्र चुरोट र बिंडी सेवनका कारण निम्तिने रोगहरुको उपचारार्थ भएको प्रत्यक्ष र अप्रत्यक्ष खर्च, रोगीहरुको उत्पादकत्वमा आएको ह्रास र असामयिक मृत्यु समेत जोड्दा बर्सेनि करिब ४० अर्ब (कुल गार्हस्त उत्पादनको १.०४ प्रतिशत) रुपैयाँको आर्थिक क्षति भएको छ । यसमा धुवाँ रहित सूर्तिजन्य पदार्थको कारणले हुने प्रत्यक्ष तथा अप्रत्यक्ष क्षतिलाई पनि समावेश गर्ने हो भने माथि उल्लेखित लागतमा थप वृद्धि हुन जाने अध्ययनको ठहर छ । तर सन् २०२० मा चुरोट र बिंडीबाट संकलन भएको राजस्वको राशी भने १८.५५ अर्ब रुपैयाँ मात्र छ ।

सूर्तीजन्य पदार्थको सेवनको मात्रा घटाउनका लागि गरिएका विभिन्न प्रयासका वावजुद हाल नेपालमा सूर्तिजन्य पदार्थ सेवनकर्ताको संख्या निकै नै उच्च रहेको प्रतिष्ठानले उल्लेख गरेको छ । प्रतिष्ठानका अनुसार अहिले सूर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या ३२ प्रतिशत रहेको छ । यो संख्या बढ्दो क्रममा रहेको पनि उल्लेख गरिएको छ ।

कर बढाऔं, युवा बचाऔं

अहिले नेपालको कुल जनसंख्याको झन्डै ४१ प्रतिशत हिस्सा युवाको छ । अहिलेको तथ्यांक हेर्दा करिब एक चौथाई युवा सूर्तीजन्य पदार्थको कुलतमा फसेका प्रतिष्ठानको अध्ययनले देखाएको छ । सूर्तीजन्य पदार्थ किफायती, पहुँच योग्य र सजिलै उपलब्ध गर्न सकिने भएको किशोर किशोरी र युवा यसको कुलतमा फसेको अध्ययनको ठहर छ ।

‘चुरोटको बट्टा खोलेर एक खिल्ली चुरोट मात्र पनि किन्न सकिन्छ जसले गर्दा विद्यार्थीलाई चुरोट सस्तो र किन्न सजिलो भएको छ, युवामा भएको सूर्तीजन्य पदार्थको महामारी एक ठुलो चुनौती हो, सानै उमेरदेखि नै सूर्तीजन्य पदार्थ सेवनको सुरुवात गर्ने भएकोले युवालाई यसको लतमा फस्नबाट जोगाउनु पर्ने कुरा अत्यन्तै जरुरी देखिन्छ,’ अध्ययनमा भनिएको छ ।

भित्रन्न अवैध, हुन्न तस्करी

नेपाल र भारतको खुल्ला सिमानाको कारणले नेपालमा चुरोटमा कर बढाइयो भने भारतको चुरोटभन्दा महँगो भई अवैध रुपमा भारतबाट नेपाल भित्रिन सक्छ भन्ने तर्क आउने गरेको छ । तर, तथ्यांक अनुसार भारतमा चुरोटको खुद्रा मूल्य नेपालको भन्दा अत्यधिक बढी भएकोले यस्तो सम्भावना भएको अध्ययनको ठहर छ ।

‘भारतको गोल्ड फ्लेक किंग्स नामक चुरोट ४८० रुपैयाँ (२० खिल्लीको) पर्न आउछ भने सोही लम्बाइको नेपाली सूर्य लाईट चुरोट २७५ रुपैयाँ (२० खिल्लीको) पर्न आउँछ, जसलाई तुलना गर्दा भारतको चुरोट नेपाली चुरोट भन्दा लगभग ७५ प्रतिशतले महँगो देखिन्छ,’ अध्ययनमा उदाहरण दिदै भनिएको छ ।

नेपाली चुरोट भारतको भन्दा सस्तो भएकोले भारतको उत्तराखण्ड, बिहार जस्ता सिमानाका राज्यहरुमा प्रशस्तै बिक्री हुने गरेको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गर्ने गरेको भन्दै अध्ययनले नेपालमा चुरोटको कर बढाउदा भारतबाट नेपालमा अबैध चुरोट भित्रिन्छ भन्ने तर्क मिथ्या मात्र भएको दाबी गरेको छ ।

Share News