२० गतेपछि बैंक तथा वित्तीय संस्था संञ्चालनमा सहज हुने हो ?

<p>काठमाडौं । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको बैठकले जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म कायम राख्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । बैठकले जारी निषेधाज्ञालाई १० दिन थप गरेर जेठ ३० गतेसम्म कायम राख्ने निर्णय गरेको हो । तर, २० गतेसम्म निषेधाज्ञाको समय बाँकी रहेकाेले अहिले नै औपचारिक रुपमा सार्वजनिक नगरेर १९ गते बिहान [&hellip;]</p>

काठमाडौं । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको बैठकले जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म कायम राख्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । बैठकले जारी निषेधाज्ञालाई १० दिन थप गरेर जेठ ३० गतेसम्म कायम राख्ने निर्णय गरेको हो ।

तर, २० गतेसम्म निषेधाज्ञाको समय बाँकी रहेकाेले अहिले नै औपचारिक रुपमा सार्वजनिक नगरेर १९ गते बिहान सार्वजनिक गर्ने सीडीओहरुको बैठकले योजना बनाएको छ ।

‘आज बसेको बैठकले प्रारम्भिक निर्णय गरेको छ, निश्कर्षमै पुगिसकेका छैनौं, तर, आजको छलफललाई आधार मान्दा जेठको मसान्तसम्म निषेधाज्ञा कायम नै राख्ने कुरा भएको छ, हामी आधिकारिक निर्णय भोलि बिहान सार्वजनिक गर्छौं,’ काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीले विकासन्युजसँग भने ।

उनले खाद्यान्न पसल खोल्ने भने निर्णय भएको बताए । यस्तै, अन्य क्षेत्रमा पनि निषेधाज्ञा केही खुकुलो हुने उनकाे भनाइ छ ।

उनले भने, ‘एक हप्ता निषेधाज्ञा थप्ने वा जेठको मसान्तसम्म नै कायम राख्ने भन्ने बारे भने यकिन भएको छैन, आजको निश्कर्ष भने मसान्तसम्म नै कायम गर्ने हो ।’

अन्य धेरै क्षेत्रहरुमा निषेधाज्ञा खुकुलो हुने भएसँगै बैंक तथा वित्तीय संस्थामा के हुन्छ भन्ने विषयले पनि चर्चा पाएको छ । प्रजिअ पराजुलीले बैंक तथा वित्तीय संस्थामा निषेधाज्ञा खुकुलो सम्बन्धि आजको बैठकले निष्कर्षमा पुगेर निर्णय नगरेको बताए ।

‘अहिले कतिपय ठाउँबाट अब बैंक तथा वित्तीय संस्थामा निषेधाज्ञा अलि खुकुलो गर्नु पर्छ भनेर कुरा आइरहेको छ, त्यसको बारेमा पनि हामी सोचिरहेका छौं, यसको बारेमा पनि हामी भोलि निर्णय गर्छौं, तर, आज खासै यही नै गर्छौं भन्न सकिने अवस्था छैन,’ उनले भने ।

हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

Share News