वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला
वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिए । ‘आइतबार बेलुका ८ः०० बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए,’ उनले भने, ‘सोमबार बिहानसम्म थप आठ जना हैजाका सङ्क्रमित भेट्टिएका छन् । हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन,’ उनले भने । ‘विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँका पानीको परीक्षणलगायतका गरिरहनुभएको छ । सम्भवतः आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौं,’ उनले थपे । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिए । ‘नारायणी अस्पतालमा हैजाको उपचारको लागि शय्या र जनशक्ति दुवैको अभाव देखिएको छ,’ उनले भने, ‘अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगिसकेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगिसकेको छैन ।’ प्रवक्ता सिंहले हैजाको महामारीको साथसाथै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गरे । ‘हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौँ । सर्पदंशको बिगबिगी छ । ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा भने व्यवस्थापन गर्न मुस्किल भइरहेको छ,’ उनले भने, ‘भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ । तर अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन ।’ प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवतः आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिए । नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमित देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा तीन जना कलेरा सङ्क्रमित बिरामी भेट्टिएका हुन् । त्यस्तैगरी वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्तताल, मङ्गलम प्याथोलोजीमा दुई–दुई जनाको दरले आठ जना हैजा कोलेरा सङ्क्रमित बिरामी भेट्टिएका छन् । थप आठ जना बिरामी सोमबार विहानीको समयमा थपिएको सोको विवरण कुन अस्पतालमा परीक्षण गरिएको खुल्न सकेको छैन ।
सरकारले सुरु गरेको स्वर्णकल्प खुवाउने अभियान रोक्न निपासको आग्रह
काठमाडौं । बालबालिकालाई स्वर्णभस्म/स्वर्णकल्प खुवाउने सरकारी अभियान विरोध गरिएको छ । नेपाल पेडियाट्रिक सोसाइटी (निपास)ले हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण नभएको भन्दै यो अभियान रोक्न माग गरेको छ । सोसाइटीले एक विज्ञप्ति निकाल्दै यो अभियान अगाडि नबढाउन भनेको छ । ‘स्वर्णभस्ममा बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएको हुँदा शिशुहरूमा स्वर्णकल्प बाट 'प्रतिरक्षा प्रणालीको वृद्धि' हुने आधारको अभाव, हेवी मेटल (गोल्ड) सम्बन्धी जोखिम, र औषधी व्यवस्था विभागमा दर्ता व्याच–परीक्षण सार्वजनिक नभएका कारण यसमा हाम्रो असहमति छ,’ निपासले निकालेको विज्ञप्तिमा भनिएको छ । वैज्ञानिक प्रमाण, बाल–सुरक्षा र नियामक पारदर्शिता नआएसम्म यो अभियान स्थगित गर्न निपासले सरकार समक्ष आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको अगुवाइमा सरकारले देशका २५ वटा आयुर्वेदिक संस्थाहरूबाट स्वर्णकल्प खुवाउने कार्यक्रम राखेको छ । भदौ ५ गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको धनगढी पुगेर स्वर्णकल्प खुवाउने कार्यक्रम सुरु गरेका थिए । सरकारले पहिलो चरणमा छ महिना देखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरूलाई स्वर्ण विन्दु थोपा खुवाउन सुरु गरेको थियो । यो कार्यक्रमका लागि करिब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
सिरहा । लहान नगरपालिका–४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ । करिब छ महिनाअघि अस्पताललेबहिरङ्ग (ओपिडी) सेवा प्रारम्भ गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. सञ्जयप्रसाद साहका अनुसार मुटु सम्बन्धी सम्पूर्ण परीक्षण प्रयोगशालामा न्यूनतम शुल्कमा सुरुआत गरिएको छ । काठमाडौँको सहिद गङ्गालाल अस्पतालमा रु एक हजार पाँच सय रुपैयाँ पर्ने ‘इको’ परीक्षण यहाँ केवल हजार रुपैयाँमै गरिनेछ । त्यस्तै अन्य शुल्क पनि न्यूनतम रहेको छ । हालसम्म दुई हजार तीन सयभन्दा बढी बिरामीहरूले सेवा लिइसकेका छन्, भने दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले नाफा नभइ सेवा लक्षित मोडेलमा काम गरिरहेको छ । 'नाफारहित अस्पताल बन्ने भएकाले यहाँका नागरिकले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिएका छौँ,' अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहले बताए । अहिले दुई भवनमा ओपिडी सेवा चलिरहेको छ, जुन लहान नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक ११ बिघा जग्गामा निर्माण गरिएको हो । डा साहका अनुसार, सो जग्गामै आगामी दिनमा पूर्ण पाँच सय शय्याको अस्पताल निर्माण हुने योजना छ, जसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । अस्पताल प्रशासनले आगामी एक वर्षभित्र २५ शय्याको ‘आईसियू’ (सघन उपचार कक्ष) र ‘सिटी स्क्यान’ सहितको सेवा सुरु गर्ने तयारी गरिरहेको छ । ‘कार्डियो र डाइबेटिक सेन्टर’को रूपमा विस्तार हुँदै गरेको यो अस्पतालले स्थानीयहरूलाई अब धरान, विराटनगर वा काठमाडौँ जानु नपर्ने विश्वास दिलाएको छ । यो अस्पताल नेपाल हृदय रोग निवारण सङ्घ अन्तर्गत सञ्चालनमा ल्याइएको हो । सङ्घका कार्यकारी अध्यक्ष डा बालकृष्ण ओग्र्यान लहानमै जन्मिएर हाल जर्मनीमा वरिष्ठ मुटुरोग विशेषज्ञका रूपमा कार्यरत छन् । उनकै पहलमा ‘नेपाल मेड ई भि’ र ‘रोटरी क्लब कटबस’ जस्ता दुई जर्मन गैरसरकारी संस्थाबाट करिब रु दुई अर्ब बराबरको आर्थिक सहयोगमा अस्पतालको निर्माण प्रक्रिया अघि बढाइएको हो । 'यस प्रकारको अस्पतालको अवधारणा डा बालकृष्ण ओग्र्यानका कारण सम्भव भएको हो,' डा. सञ्जयप्रसाद साहले भने, 'जो यही लहानको भूमिमा जन्मिएर मुटुरोग विशेषज्ञको रूपमा हाल जर्मनीमा कार्यरत रहनुभएको छ ।' अस्पतालका निर्देशक डा. साहका अनुसार, आगामी अक्टोबरमा डा ओग्र्यानसहित जर्मनिमा कार्यरत मुटु विशेषज्ञहरूको टोली नेपाल आउने र अस्पतालको प्रगति निरीक्षण गर्नुका साथै प्राविधिक सल्लाह दिनेछ । अस्पतालको प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीका अनुसार विभिन्न सङ्घ संस्था र दाताहरूसँग समन्वयको प्रक्रिया जारी रहेको छ । जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै उनले अस्पतालसम्मको सडक पूर्वाधार सुधार आवश्यक रहेको बताए । यति न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइदै आएको भए पनि प्रचारप्रसारको अभाव रहेको उल्लेख गर्दै, स्थानीयको साथ, सहयोग र विश्वासले नै अस्पतालको भविष्य उज्ज्वल बनाउने विश्वास पनि उनले व्यक्त गरे । लहानको यो मुटु अस्पताल केवल स्वास्थ्य सेवा केन्द्र मात्र नभइ, स्थानीय विकासको एक गौरवपूर्ण आयोजना बन्दै गएको छ । कम शुल्क, गुणस्तरीय सेवा, अन्तरराष्ट्रिय सहयोग र दीर्घकालीन लक्ष्यले यो अस्पताललाई प्रदेश नं २ कै उत्कृष्ट स्वास्थ्य संस्था बनाउने स्पष्ट सङ्केत देखिन्छ । लहानको यो मुटु अस्पताल केवल स्वास्थ्य सेवा केन्द्र मात्र नभइ, स्थानीय विकासको एक गौरवपूर्ण आयोजना बन्दै गएको छ । 'स्वास्थ्यको पहुँच सबैका लागि सुनिश्चित गर्ने दिशामा यो अस्पताल ऐतिहासिक कदम हो,' रोटरी क्लब अफ लहानका अध्यक्ष तथा स्थानीय समाजसेवी अभिषेक रोसनले भने, 'कम शुल्क, गुणस्तरीय सेवा, अन्तरराष्ट्रिय सहयोग र दीर्घकालीन लक्ष्यले यो अस्पताललाई मधेश प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्था बनाउने स्पष्ट सङ्केत देखिन्छ ।' रासस