बाल अस्पताल निर्माणमा नेपाल लाइफले गर्‍यो १ करोड सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई राजधानीको बुढानीलकण्ठमा निर्माणाधीन बाल अस्पतालका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको हो । किओचको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र किओचका संस्थापक अध्यक्ष डा। भगवान कोइराला बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माण भइरहेको बहुविशिष्टिकृत बाल अस्पताल ‘किओच–काठमाडौं’ को मुख्य भवन निर्माण अन्तिम चरणमा पुगेको छ । त्यहीँ क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भइसकेको र सेवा सञ्चालन भइसकेको जानकारी दिइएको छ । अस्पतालमार्फत बिरामी बालबालिकालाई सेवा दिनुका साथै बाल स्वास्थ्य तथा नसर्ने रोगसम्बन्धी अनुसन्धान पनि अघि बढाउने योजना रहेको छ । कार्यक्रममा नेपाल लाइफका संचालक कमलेश कुमार अग्रवालले डा. कोइरालाको नेतृत्वमा भइरहेको यो परियोजनाले नेपालका बालबालिकाको स्वास्थ्य सुधारमा अतुलनीय योगदान दिने विश्वास व्यक्त गरे । उनले यस्तो सामाजिक परियोजनामा निजी क्षेत्रको सहभागिता बढ्नुपर्ने र राज्यले लिएका लक्ष्यहरूमा टेवा पुग्ने बताए । नेपाल लाइफका सीईओ प्रवीण रमण पराजुलीले शैक्षिक, स्वास्थ्य र सांस्कृतिक रूपान्तरणमा कम्पनीको सक्रियता रहेको उल्लेख गरे । आर्थिक रूपमा कमजोर वर्गका बालबालिकालाई गुणस्तरीय सेवा दिने उद्देश्यले सहयोग गरिएको र आगामी दिनमा पनि देशभर यस्ता पहलहरूमा संलग्न रहने प्रतिबद्धता व्यक्त गरे । किओचका अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसले अस्पताल निर्माणलाई गति दिने बताए । उनले यस्ता सहयोगहरूले काम गर्न थप उत्साह दिने उल्लेख गर्दै, 'नेपाल लाइफ जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यले किओचको गरिमा अझ बढेको छ,' भने ।

ओम मेगाश्रीले जडान गर्‍यो ३५० किलोवाटको सौर्य विद्युत्, हरितगृह ग्यास घटाउँदै

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित उद्योग परिसरमा ३५०.३५ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरेको छ । ऊर्जा आत्मनिर्भरता र वातावरणमैत्री औद्योगिक उत्पादनतर्फको यो कदमले कम्पनीलाई यस क्षेत्रमा उदाहरणीय बनाएको छ । ‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मूल मन्त्रका साथ अघि बढेको कम्पनीले सौर्य ऊर्जा प्रयोगमार्फत उद्योगको सञ्चालन खर्च घटाउने, उत्पादन लागत कम गर्ने र त्यसको प्रत्यक्ष लाभ मुनाफा प्रवाहमार्फत लगानीकर्तासम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासनको अनुमति प्राप्त गरिसकेको कम्पनीले ६३७ वटा प्यानल प्रयोग गरी सौर्य प्रणाली जडान गरेको हो । यस प्रणालीले विशेषगरी पिक आवर (उच्च माग हुने समय) मा नवीकरणीय ऊर्जाबाट औद्योगिक गतिविधि सञ्चालन गर्न मद्दत पुर्‍याउनेछ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँगको समझदारीमा अतिरिक्त विद्युत् बिक्री गरी आम्दानीको नयाँ स्रोत सिर्जना गर्ने योजना पनि अघि सारेको छ । हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने यस कदमले ओम मेगाश्रीलाई वातावरणमैत्री तथा दीगो औद्योगिक मोडलका रूपमा उभ्याएको छ । कम्पनीले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वातावरण, अर्थतन्त्र र नीतिगत व्यवस्थाबीच सन्तुलन कायम गर्दै 'हरित उत्पादन, उच्च मुनाफा' भन्ने अवधारणालाई व्यवहारमा उतारिरहेको जनाएको छ ।

क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र महँगा औषधी अब निःशुल्क

काठमाडौं । अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।  नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो भाग नेपाल आइपुगेको हो । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधी प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए । डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनत पछि सफलता प्राप्त गरेको बताए ।  डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधी नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग स्वरुप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिए ।  ‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’ मन्त्री पौडेलले भने,‘राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।’ हाल ३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधी समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए ।  ‘सुची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’ मन्त्री पौडेलले भने । मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएको जानकारी समेत दिए ।   मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे ।  मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधी प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए ।  वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधी प्राप्त भएको भन्दै यो नेपालका लागि ठूलो उपलब्धि भएको बताए ।  स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई  निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।  मन्त्रालयलाई हस्तान्तरण गरिएका औषधी र स्वास्थ्य सामाग्रीहरु आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौंलाई हस्तान्तरण गरिएको छ ।