काठमाडौं । सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय भएको जनाएका हुन ।
पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताएका हुन । अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो ।
६५४ नेपालीको उद्धार
अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका हुन । मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका छन् ।
नेपाली नागरिकको स्वदेश आगमनपश्चात अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा उनिहरुलाई सामाखुशीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्यका मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।
अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।