चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा. शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् । काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा देवले चिकित्सकहरूले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने जस्ता कार्य सामाजिक सञ्जालबाट नगर्न आग्रह गरेका हुन् । सामाजिक सञ्जालमा चिकित्सकले गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्नाको साथै गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना उच्च हुने भएकाले चिकित्सकलाई त्यस्तो कार्य नगर्न काउन्सिलले अनुरोध गरेको हो । रजिष्ट्रार डा. देवले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको उचित परीक्षण आवश्यक जाँच र चिकित्सकको प्रत्यक्ष मूल्याङ्कन विना औषधि सेवन गर्न सुझाव दिनु र त्यस्तो सल्लाहले विरामीको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने, अनावश्यक जटिलता बढ्न सक्ने तथा दीर्घकालीन हानि पुग्न सक्ने बताए । काउन्सिलले बिरामीलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको मात्र परामर्शमा औषधि लिन अनुरोध गरेको छ । काउन्सिलले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न र गर्नुपर्ने अवस्था भएका बिरामीको अनुहार र पहिचान नखुलाउन आग्रह गरेको छ । रासस
पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड–बैंक’
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित पनौतीमा प्रविधिको प्रयोगद्वारा तरकारी तथा फलफूलका विषादीको अवशेष न्यूनीकरण गर्न फुड बैंक सञ्चालनमा ल्याइएको छ । पनौती नगरपालिका–४ स्थित ठाडोबाटोमा राष्ट्रिय कृषि कम्पनी नेपालको सहायक कम्पनी आरकेसिएनएल फुड बैंक लिमिटेडले सो ‘फुड बैंक’ सञ्चालनमा ल्याएको हो । कम्पनीले ‘ओजोन वास’ प्रविधिद्वारा तरकारी तथा फलफूलको बाहिरी भागमा रहेको विषादीको अवशेषलाई ९९ प्रतिशतसम्म कम गर्ने जनाएको छ । उक्त प्रविधियुक्त फुड बैंकमा स्थानीयस्तरमै उत्पादन भएको तरकारी–फलफूललाई ‘ओजोन वास’ गरी उपभोक्तालाई उपलब्ध गराइने फुड बैंकका अध्यक्ष विशाल हुमागाईँले बताए । 'फुड बैंकमार्फत कृषक र उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्य राखेका छौँ, यसले बिचौलियालाई समावेश हुन दिँदैन', उनले भने । लिमिटेडले शनिबार औपचारिक कार्यक्रमका बीच फुड बैंकको शुभारम्भ गरेको हो । विशेषगरी काभ्रेपलाञ्चोकको तीन स्थानीय तह पनौती, बेथानचोक र बनेपाका कृषकलाई समेटेर पहिलो चरणमा कार्यक्रम सुरु गरिएको अध्यक्ष हुमागाईले जानकारी दिए । उनका अनुसार क्रमशः जिल्लाका करिब ६० हजार कृषकसम्म यो कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको छ । उक्त फुड बैंकमा ताजा तरकारी र फलफूल सङ्कलन गर्दै ओजोन वास गरी बिक्री वितरणका लागि राखिनेछ । बैंकमा पाँच हजार केजी क्षमताका दुई शीत भण्डारकोसमेत व्यवस्था गरिएको छ । कम्पनीले प्रयोगमा ल्याएको ओजोन वास प्रविधिअन्तर्गत ओजोनयुक्त पानी प्रयोग गरी तरकारी तथा फलफूलमा रहेका विषादी अवेष न्यूनीकरण गर्दै जीवाणुसमेत नष्ट गरिन्छ । यसले कीटनाशक अवशेष हटाउने, दुर्गन्ध तथा हानिकारक तत्व हटाउने, साथै खाद्य पदार्थको ‘सेल्फ लाइफ’ बढाउने काम जनाइएको छ । यस प्रविधिबाट उपभोक्ताले सुरक्षित र स्वास्थ्यकर खाद्य पदार्थ उपभोग गर्न पाउने विश्वास गरिएको छ । यस्तो प्रविधि जिल्लामै पहिलोपटक सञ्चालनमा ल्याइएको हो । रासस
आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुवात
काठमाडौं । नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मानक स्थापित गर्ने ध्येयले विराटनगर आँखा अस्पतालमा अत्याधुनिक ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन ल्याइएको छ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित सो अस्पतालमा अर्बिस इन्टरनेशनलसँगको सहकार्यमा लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणाली (लिक्स) अन्तर्गत पहिलो पटक ‘डिजिटल ट्रेनिङ हब’ थालनी गरिएको हो । नेपालमै पहिलो पटक स्थापना गरिएको सो ‘हब’ले विशेष गरेर आँखा स्वास्थ्य सेवामा परम्परागत शिक्षण पद्धतिबाट प्रविधिमा आधारित आधुनिक चिकित्सा तालिमतर्फ ऐतिहासिक फड्को मार्ने अपेक्षा गरिएको छ । अत्याधुनिक ‘सर्जिकल सिमुलेटर’, ‘वेट ल्याब’, ‘भर्चुअल लर्निङ सिस्टम’ तथा ‘साइबर साइट’ मार्फत उपलब्ध विश्वव्यापी टेलि-मेन्टोरिङ सुविधासहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अझ सुरक्षित, भरपर्दो र आत्मविश्वासका साथ सो तालिम केन्द्रबाट सीप विकास गर्न सक्ने जनाइएको छ । लिक्स परियोजनाअन्तर्गत सञ्चालन हुने तालिममा नेपालभरिका आँखा अस्पताल, मेडिकल कलेज, निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिका साथै अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाका पेशाकर्मीहरूकाे समेत सहभागिता रहनेछ । तालिमहरू विश्वस्तरका अनुभवी विशेषज्ञहरूद्वारा सहजीकरण गरिने नेपाल नेत्र ज्योति संघले जनाएको छ । यस केन्द्रले स्वास्थ्य सेवा सुदृढीकरणसँगै अन्तर्राष्ट्रिय प्रशिक्षार्थी आकर्षित गरी चिकित्सा शिक्षा पर्यटन प्रवर्द्धन गर्ने तथा महँगो विदेश तालिममा निर्भरता घटाउने अपेक्षा गरिएको छ । साथै यससँगै विराटनगर आँखा अस्पताल एक अग्रणी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तालिम केन्द्रका रूपमा स्थापित हुने विश्वास गरिएको छ । लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणालीका (लिक्स) प्रमुख प्रशासक सुधीर ठाकुरका अनुसार लिक्स अन्तर्गत सञ्चालित यस सञ्जालले दुई अस्पताल तथा ४० भन्दा बढी आँखा उपचार केन्द्रमार्फत शहरदेखि दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्दै आएको छ । सन् २०२५ मा मात्र १४ लाखभन्दा बढी आँखा सेवा प्रदान गरिएको छ, यसमा १ लाख ३२ हजारभन्दा बढी दृष्टि पुनःस्थापना शल्यक्रिया तथा ७ लाख ६४ हजारभन्दा बढी सामुदायिक सेवा समावेश छन् । स्थापना कालदेखि हालसम्म १ करोड ६६ लाखभन्दा बढी सेवा र झण्डै २५ लाख शल्यक्रिया भइसकेका छन् । नेपालको आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको सो ‘हब’को कोशी प्रदेशका स्वास्थ्य मानबहादुर लिम्बू तथा अर्बिस इन्टरनेशनलकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत क्याथलिन ए. शेरविनले हालै संयुक्त रूपमा शुभारम्भ गरे । सो अवसरमा नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरी तथा अर्बिस इन्टरनेशनल भारतका देशीय निर्देशक डा ऋषिराज बोहरा लगायतको उपस्थिति थियो । ‘डिजिटल ट्रेनिङ हब’ले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मापदण्ड स्थापित गर्दै रोकथामयोग्य अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।