अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच ग्राहक तथा कर्मचारीका लागि छुट सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका, वाड नं ११, बबरमहलस्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूका लागि छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन र ग्राहकहरूले अन्नपूर्ण न्यूरो हस्पीटलमा १०–१५ प्रतिशत छुट पाउने भएका छन् । यो छुट हस्पीटलमा उपलब्ध सबै सेवासुविधामा लागू हुनेछ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटलको तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेम कुमार दाहाल तथा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दीन चित्कारले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सेवाका कर्मचारीको पद हेरफेर

काठमाडौं । स्वास्थ्य सेवाका कर्मचारीको पद हेरफेर गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले कर्मचारीको पद हेरफेर गरिएको हो ।  जसमा कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलियालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ भने प्युठान अस्पतालका प्रमुख डा. अर्याललाई मधेश प्रदेशको स्वास्थ्य सचिवका रूपमा सरुवा गरिएको छ ।  मधेश प्रदेशका तत्कालीन स्वास्थ्य सचिव डा. श्रवण मिश्रलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका डा. यदुचन्द्र घिमिरेलाई कोशी प्रदेशको सचिवका रूपमा पठाइएको छ।  

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ : पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताएका छन् । ।       प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिए ।  यी आधारभूत अस्पतालहरूमा चिकित्सक र उपकरण पुर्‍याउने तयारी भइरहेको उनले बताए ।  बैठकको प्रश्नोत्तर कार्यक्रममा उनले मन्त्रालयबाट प्रतिबद्धता गरिएका दायित्वहरू प्रक्रियागत ढङ्गबाट समयमा सम्पन्न गरिएको दाबी गरे । कतिपय अस्पताल भने प्रक्रियागत विषय टुङ्गो लाग्न बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ ।        ‘बाहिरबाट भवन उभिएको देख्छौं । तर त्यस्ता भवनहरू हस्तान्तरण नभएका, निर्माण सम्पन्न नभएका, मुद्दा परेकालगायत अनेकौं समस्याहरू छन्,’ मन्त्री पौडेलले भने, ‘प्रक्रियागत विषयहरू नटुङ्गिएका कारण आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन ।’ बाँके जिल्लाको राप्तीको सोनारी नरैनापुर–४ मा अस्पतालको भौतिक प्रगति शतप्रतिशत भई हस्तान्तरण गर्न बाँकी रहेको जानकारी दिँदै उनले स्तान्तरणलगत्तै सञ्चालनमा आउने उल्लेख गरे । उनका अनुसार अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि बनेर पारित भइसकेको छ ।