एभरेष्ट हस्पिटलमा एनआईसी एशिया ग्राहकलाई छुटको व्यवस्था
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख नरेन्द्र मैनाली तथा एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरू उपयोग गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । तर, आउटसोर्स सेवा, चिकित्सक परामर्श शुल्क र एम्बुलेन्स सेवामा भने यो सुविधा लागू नहुने जनाइएको छ । त्यसैगरी, ग्राहकहरूले शल्यक्रिया (अपरेशन) सेवामा ५ प्रतिशत र अस्पतालको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यो सुविधा प्राप्त गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप ‘मोबैंक’मार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको विस्तार र नगदरहित कारोबार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
काभ्रेपलाञ्चोकमा वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सरकारी वन क्षेत्रमा ‘जडीबुटी’को प्रचुर सम्भावना रहेको देखिएको छ । हाल यहाँको एक लाख ४० हजार किलोसम्म जडीबुटी सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय धुलिखेलको तथ्याङ्कले देखाएको छ । वन नियमावलीअनुसार तोकिएका जडीबुटी अनुमति लिएर सङ्कलन गर्न सकिने भए तापनि हालसम्म कसैले चासो नदिँदा बहुमूल्य जडीबुटी खेर गएको हो । कार्यालयको रणनीतिक कार्ययोजनाअनुसार सरकारी वन क्षेत्रबाट ३१ प्रकारका जडीबुटी सङ्कलन गर्न सकिने उल्लेख छ । यस वर्ष पाँच–औँले तीन हजार छ किलो, वन लसुन एक हजार २००, सतुवा एक हजार ६५०, पाखनवेद सात हजार ५००, जटामसी चार हजार ५००, पाषणवेद तीन हजार किलो सङ्कलन गर्न सकिने कार्यालयले छ । यसैगरी कुरिलो एक हजार पाँच किलोग्राम, ठूलो ओखती दुई हजार २५०, मजिठो एक हजार ५००, सुगन्धवाल एक हजार ५००, बुहारीझार छ हजार, निमपात तीन हजार किलोग्राम सङ्कलन गर्न सकिने कार्यालयका सूचना अधिकारी वन अधिकृत सरिता लामाले जानकारी दिए । उनका अनुसार धसिङगरे छ हजार किलोग्राम, तितेपाती दुई हजार ८००, गुर्जो एक हजार ६००, कालीकाठ १५ हजार, बेल तीन हजार, अमला एक हजार ७६०, सिलटीमुर सात हजार ५०० किलो सङ्कलन गर्न सकिनेछ । त्यसैगरी कण्ठकारी ८०० किलोग्राम, हर्रो एक हजार २००, बर्रो एक हजार ६००, पिपला १२ हजार, बनकरेला दुई हजार, नुनढिकी एक हजार ७५०, काफल आठ हजार, काउलो ६००, सिस्नु सात हजार दुई, चिराइतो १५ हजार र कुकुरडाइनो दुई हजार किलो सङ्कलन गर्न सकिने छ । जिल्लामा ५८४ सामुदायिक वन, ४६० कबुलियति वन, एक धार्मिक वन तथा १२ निजी (दर्ता) वन रहेका छन् । रासस
केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिट दुवाकोटमा मुटुको पहिलो सफल उपचार सम्पन्न भएको छ । भक्तपुर नगरपालिका इनाचोका स्थानीय ६९ वर्षीय मसिनु माकजू केएमसी दुवाकोटबाट मुटुको सफल उपचार सेवा लिने पहिलो बिरामी बनेका हुन् । पेट र मुटु दुख्ने समस्याले पिरोलिएका माकजुलाई उनका छोरा अजयले उपचारका लागि यहाँ ल्याएका थिए । त्यसपछि अस्पतालको अत्याधुनिक प्रविधिका साथ विशेषज्ञ टोली उनको उपचारमा तल्लीन भयो । मुटुरोग विशेषज्ञद्वय डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले माकजूको मुटुको गहिरो परीक्षण गर्दै अस्पतालको अत्याधुनिक क्याथ ल्याबमा पहिलो पटक सफलतापूर्वक डाइग्नोस्टिक एन्जियोग्राम सम्पन्न गर्यो । करिव ३० मिनेटको उक्त परीक्षणका क्रममा उनको मुटुका दुईवटा नसाहरू अवरुद्ध भएको तथ्य फेला पर्यो । पहिलो पटकमै यस्तो महत्वपूर्ण सफलता हासिल गर्न सकिएकोमा डा. तामाङले खुशी व्यक्त गरे । हाल बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूको सल्लाहबमोजिम परिवारले चाँडै नै मुटुको अवरुद्ध नशा खुलाएर स्टेन्ट अर्थात जाली राख्ने योजना बनाएका छन् । वास्तवमा एन्जियोग्राम भनेको मुटुको नशाको अवस्था कस्तो छ भनेर गरिने एक सुक्ष्म जाँच हो । सामान्यतया मुटु दुख्ने बित्तिकै हृदयघात नै भएको नहुन पनि सक्छ, यस्तो अवस्थामा एन्जियोग्रामले नशा अवरुद्ध भए, नभएको र हृदयघातको जोखिम रहे, नरहेको छर्लङ्ग पारिदिन्छ । केएमसी दुवाकोटमा सञ्चालनमा आएको यस क्याथ ल्याबमा अब हृदयघातको उपचार, मुटुको शल्यक्रिया, नशा खोल्ने र जाली राख्नेदेखि भल्भ खेल्ने उपचारसम्मका सम्पूर्ण सुविधाहरू उपलब्ध छन् । यो सफल उपचारले अब भक्तपुरवासीका लागि मात्र नभएर आसपासका सम्पूर्ण मुटुसम्बन्धी जटिल समस्या भएका बिरामीको उपचार आफ्नै घरदैलोमा सहज बनाएको छ । दुवाकोटमा नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिट सञ्चालनमा ल्याएका हुन् ।