आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा काठमाडौंको लैनचौरमा सम्पन्न भएको थियो । 'रगतदान, जीवनदान' भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी सयौं व्यक्तिले स्वेच्छिक रक्तदान गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले भने, 'स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको महत्वपूर्ण आधार हुन् । रक्तदान जस्तो जीवनरक्षक कार्य हामी सबैको दायित्व हो ।' नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले कम्पनीसँगको दीर्घकालीन सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै, रक्तदानले धेरै जीवनमा नयाँ आशा थप्ने उल्लेख गरे । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सव सप्ताहभित्र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा स्वास्थ्य शिविर, बीमा सचेतना, प्रभातफेरी लगायतका कार्यक्रमहरू समावेश छन् ।
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बीमा गरिने
काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गर्ने भएको छ । आइतबार भक्तपुरमा सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने गरी बिमा कार्यक्रम लागू गरिने उल्लेख गरे । मन्त्री थापाले भने, ‘पत्रकारहरूको स्वास्थ्यप्रति हामी गम्भीर भएका काम गरिरहेका छौं, त्यसैले प्रदेशका १३ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य बिमाभित्र समेटेर बीमाबापतको प्रिमियम शुल्क प्रदेश सरकारले व्यहोर्ने गरी कार्यक्रम लागू गर्ने भएका हौं, त्यसका लागि बजेटको व्यवस्था गरिसकेका छौं ।’ उनले पत्रकार स्वास्थ्य बिमाका लागि मन्त्रालयले २० लाख रुपैयाँको बजेट चालु आर्थिक वर्षका लागि व्यवस्था गरेको जानकारी दिँदै यसका लागि कार्यविधि तयार भइरहेको बताए । बीमाको प्राविधिक पक्षलाई सरल, पारदर्शी र डिजिटलमैत्री बनाउँदै पत्रकारलाई पाँच जनाको परिवार मानेर समूहमा आबद्ध गराएर बिमाको प्रिमियम सरकारले तिर्नेगरी व्यवस्था गर्ने तयारी भएको उनले बताए । मन्त्री थापाले पत्रकारको स्वास्थ्य सुरक्षामा बीमाले दीर्घकालीन रूपमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनाका रूपमा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ कार्यक्रम पनि यसै वर्षदेखि सञ्चालन हुने जानकारी दिए । मन्त्री थापाले १३ जिल्लाका १३ प्रादेशिक अस्पताल मात्रै नभइ अब दूरदराजका विकट क्षेत्रका नागरिकलाईसमेत सहज स्वास्थ्य सेवाको पहुँच पुर्याएर आमनागरिकले सरकार गाउँगाउँ पुगेको महसुस गर्नेगरी कार्ययोजना अगाडि बढाइएको बताए । स्वास्थ्य सामग्री, औषधि, उपकरण लिएर आफैं गाउँगाउँ पस्ने गरेको भन्दै उनले जनताले परिवर्तनलाई अनुभूति गर्नेगरी सबैले काम गर्नुपर्नेमा जोड दिए ।
गण्डकीमा ८ सय जनामा डेङ्गी सङ्क्रमण, पोखरामै आधाभन्दा बढी
गण्डकी । गण्डकी प्रदेशमा गत पुसयता डेङ्गी सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गी रोग देखिएको हो । मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेङ्गी देखिएको छैन । प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए । प्रदेशको राजधानी पोखरा गत वर्ष डेङ्गीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रमणको दर बढ्दै जाने अनुमान छ । डेङ्गी न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन् । स्थानीय तहले डेङ्गी रोग फैलन नदिन डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेङ्गी फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने गरेको छ ।