स्वास्थ्य मन्त्रालयको निर्णयविरुद्ध स्वास्थ्यमा क्रियाशील पेशागत संगठनहरु विरोधमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि अस्पतालको ओपिडी लगायतका सेवा सुचारु गर्न निर्णय गरेपछि स्वास्थ्यमा क्रियाशील पेशागत संगठनहरु विरोधमा उत्रिएका छन् । उनीहरुले मन्त्रालयको निर्णयको अवज्ञा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपिल समेत गरेका छन् ।  'मन्त्रीपरिषदले शनिबार र आइतबार बिदा दिने गरेको निर्णयलाई स्वागत गर्दै,' भनेको छ, 'स्वास्थ्य क्षेत्रमा लामो समयदेखि जनसरोकारको अनुपातमा चिकित्सक तथा स्वास्थ्यकर्मीको आवश्यक्ता अनुसार संगठन संरचना हुन नसक्दा स्वास्थ्यकर्मीहरूप्रति कार्यबोझ अधिक हुनगइ मानसिक तनाव थपिएको छ यस्तो अवस्थामा मन्त्रालयले गरेको  मन्त्रीपरिषद्को निर्णयको खिलाफामा गरेको निर्णय कानुनतः कार्यान्वयन योग्य छैन ।’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की संयोजक रहेको संयुक्त संगठनको बैठकले मन्त्रालयको निर्णयप्रति विरोध जनाएको हो ।  

एनआईसी एशिया बैंकद्वारा आमा घर सेवा आश्रमलाई आरओ वाटर प्युरिफायर सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुरको मनहरी–८ स्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ । आश्रयस्थलमा रहेका व्यक्तिलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिलाई खानेबस्ने सुविधासहित आश्रय दिँदै आएको उक्त संस्थालाई बैंकका सर्कल हेड–नारायणगढ रामकृष्ण काफ्लेले वैशाख २ गते आयोजित कार्यक्रममा आश्रमका संरक्षक विजयराज सिग्देललाई आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् । बैंकले प्रदान गरेको सहयोगबाट आश्रममा आश्रित व्यक्तिहरूले स्वच्छ खानेपानीको सुविधा प्राप्त गर्नुका साथै उनीहरूको स्वास्थ्य र दैनिक बसाइ थप सहज हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

आँखा स्वास्थ्य सेवा र अनुसन्धान विस्तारका लागि तिलगंगा र बीपीकेआइएचएसबीच सम्झौता

काठमाडौं । नेपालको आँखा उपचार क्षेत्रमा विशिष्ट पहिचान बनाएको तिलगंगा आँखा प्रतिष्ठान र पूर्वाञ्चलको प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) बीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । बुधबार आयोजित एक विशेष समारोहका बीच तिलगंगाका कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र बीपीकेआइएचएसका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताले विशेषगरी पूर्वी नेपालको आँखा स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।  तिलगंगाका विशेषज्ञ प्राध्यापकहरूले बीपीकेआइएचएसमा नियमित रूपमा आँखाका विभिन्न उप(विशेषज्ञता सेवाअन्तर्गत ओपिडी तथा शल्यक्रिया सेवा प्रदान गर्नेछन् ।   त्यस्तै, बीपीकेआइएचएसका रेसिडेन्ट डाक्टरहरूलाई तिलगंगाका उप–विशेषज्ञ क्लिनिकहरूमा क्लिनिकल पोस्टिङ्गको व्यवस्था गरिनेछ । साथै आरओपी स्क्रिनिङ्ग, लेजर र जटिल शल्यक्रियासम्बन्धी तालिम समेत प्रदान गरिनेछ । त्यस्तै, क्लिनिकल तथा सामुदायिक आँखा स्वास्थ्यका क्षेत्रमा बीपीकेआइएचएसलाई सहकार्यत्मक अनुसन्धान केन्द्रका रूपमा विकास गरी संयुक्त अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गरिनेछ । दुवै संस्थाका प्राध्यापकहरूबीच ‘फ्याकल्टी डेभलपमेन्ट’ तालिम र शैक्षिक कार्यक्रमहरू आदानप्रदान हुनेछन् । पूर्वी क्षेत्रका अन्य आँखा अस्पतालहरूलाई समेत सहभागी गराई नियमित चिकित्सकीय शिक्षा कार्यक्रम र आँखा जाँच तथा शल्यक्रिया शिविरहरू आयोजना गरिनेछ । हस्ताक्षर कार्यक्रममा बोल्दै प्रा. डा. सन्दुक रुइतले यो सहकार्यले विशेषज्ञ सेवालाई राजधानी बाहिर विस्तार गर्न र अनुसन्धानको माध्यमबाट नयाँ तथ्यहरू उजागर गर्न मद्दत पुग्ने बताए । त्यस्तै, उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले देशकै दुई ठूला संस्थाहरूको मिलनले स्वास्थ्य शिक्षा र सेवा प्रवाहमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे । यो साझेदारीले नेपालको स्वास्थ्य क्षेत्रमा संस्थागत सहकार्यको उत्कृष्ट नमूना पेश गर्दै दीर्घकालीन रूपमा सर्वसाधारणलाई सुलभ र गुणस्तरीय आँखा उपचार सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।