एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवामा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन, फ्रन्टलाइन हस्पिटल र एनआईसी एशिया बैंकबीच भएको सम्झौतापछि ग्राहकहरूले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिँदा बैंकको डिजिटल माध्यमबाट भुक्तानी गरेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र अस्पतालका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् । ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा सो छुट उपलब्ध हुनेछ । बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई स्वास्थ्य सेवामा सहजता पुग्ने र देशमा नगदरहित कारोबार तथा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको छ ।
विपन्न महिलाको उपचारका लागि सानिमा बैंक र पाटन अस्पतालबीच सहयोग सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार सानिमा बैंकले आगामी एक वर्षसम्म पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ, जसअन्तर्गत न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारमा सहयोग गरिनेछ । बैंकले २०७४ सालदेखि नै पाटन अस्पतालमार्फत विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । यस अभियानलाई थप सुदृढ बनाउँदै, बैंकले 'नारी बचत खाता' खोल्ने प्रत्येक ग्राहकका लागि मासिक रु १ को दरले 'नारी राहत कोष'मा रकम संकलन गर्दै आएको छ । सो कोषमा संकलित रकम देशभरका विभिन्न अस्पतालमार्फत प्रयोगमा ल्याइँदै आएको छ । पाटन अस्पतालको परिसरमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सानिमा बैंक हाल देशभर सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई अल्फा हेल्थ केयरमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता भएका ग्राहकहरूले उक्त सेन्टरबाट प्रदान गरिने प्याथोलोजी ल्याब सेवा र औषधी खरिदमा ७ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । साथै ल्याब सेवा अन्तर्गत निःशुल्क होम डेलिभरी सुविधा समेत उपलब्ध गराइनेछ । उक्त सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयरका ल्याब निर्देशक डा. आभाष कोइरालाले साउन १९ गते हस्ताक्षर गरेका हुन् । यस सहकार्यबाट बैंकका कर्मचारी र ग्राहकहरू सहुलियतपूर्ण, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्न सक्षम हुने विश्वास गरिएको छ ।