नर्भिक हस्पिटलको ४२.१०५ प्रतिशत लाभांश घोषणा, २० प्रतिशत आईपीओ

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकट कलेजले लाभांश घोषणा गरेको छ । नर्भिक हस्पिटलको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  नर्भिकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर नगद लाभांशबाट कट्टा गरिने जनाएको छ ।  प्रस्तावित लाभांश पारित गर्न हस्पिटलले भदौ २९ गते थापाथली काठमाडौंमा साढे १२ बजे वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ ।  यस्तै, संचालकहरुको निर्वाचन र सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्ने एजेन्डा राखेको छ । 

नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र मोरङको बिराटनगर–१० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा ग्राहकले अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । भदौ २ गते सम्पन्न सम्झौतामा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र अस्पतालको तर्फबाट निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका थिए ।

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले धनगढीमा रहेको कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार, बैंकका ग्राहकले हस्पिटलमा उपलब्ध विभिन्न सेवामा छुट सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा लिनका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउने मात्र नभई डिजिटल भुक्तानी प्रवद्र्धनमा समेत योगदान पुर्‍याउनेछ । नगदरहित कारोबारलाई अघि बढाउँदै, यस कदमले डिजिटल वित्तीय कारोबारको संस्कृति विस्तार गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।