त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नै पालना गरेन स्वास्थ्य मापदण्ड

काठमाडौं । सरकारले माग ३ गतेदेखि सार्वजनिक स्थलमा कोरोना विरुद्ध खोप लगाएको कार्ड देखाएपछि मात्रै प्रवेश गर्न दिने निर्णय गरेको छ । आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले गरेको सिफारिसका आधारमा सोमबार गृह मन्त्रालयले खोप कार्डलाई अनिवार्य गर्ने निर्णय गरेको हो । सरकारले निर्णय अनुसार अब माघ ३ गतेदेखि कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क लगायतका सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्नेछ । हवाई यात्रामा समेत सरकारले अनिवार्य रुपमा खोप कार्डको व्यवस्था गरे तापनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले न्यूनतम स्वास्थ्य मापदण्डको समेत पालना गरेको छैन । यसअघि देखिएका कोभिड भेरियन्टको समयमा आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनको गेटमा स्यानिटाइजर, थर्मल गनदेखि दुई मिटरको भौतिक दुरी कायम गर्ने व्यवस्था विमानस्थलले गरेको थियो । तर, अहिले कुनै पनि मापदण्डको पालना नभएको वायुसेवा कम्पनीहरुले बताएका छन् । आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले आफ्ना यात्रुलाई स्याटिनाइजरको व्यवस्था गरेपनि विमानस्थलको गेटमा कुनै व्यवस्था नभएको उनीहरुको भनाई छ । ‘विमानस्थल कार्यालयले आन्तरिक उडानका यात्रुबाट सेवासुविधा भनेर प्रतिउडान २ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ तर, कोरोनाको यस्तोे महामारीमा कार्यालयले न्यूनतम मापदण्डको समेत पालना गरेको छैन्, विमानस्थल कार्यालयले गर्नुपर्ने काम निजी वायुसेवा कम्पनीहरुले गर्नुपरेको छ,’ एक निजी वायुसेवा संचालकले विकासन्युजसँग भने । सागुरो आन्तरिक टर्मिनल भवनमा यात्रुको चाप बढ्दा त्यहीबाट संक्रमण फैलने सम्भावना उच्च भएको वायुसेवा कम्पनीका कर्मचारीहरुको गुनासो छ । ‘पहिला दैनिक सफाईदेखि गर्ने, स्यानिटाइज गर्ने, न्युनतम तापक्रम नाप्ने लगायत स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार यात्रुको व्यवस्थापन हुने गरेको थियो, अहिले त्यस्तो केही हुँदैन, संक्रमण फैलने जोखिम बढेको छ, बिहानको समयमा मौसम खराब हुँदा समयमा नै उडान तथा अवतरण हुन सकेका छैनन्, समयमा नै उडान नहुँदा यात्रुको भिड विमानस्थलमा बढेको छ,’ निजी वायुसेवा कम्पनीका एक कर्मचारीले भने । विमानस्थल कार्यालयका महाप्रबन्धक भोलाप्रसाद गुरागाई पहिलाको तुलनामा पछिल्लो समय स्वास्थ्य मापदण्डकोे कडाईमा केही कमी आएको स्वीकार गर्छन् । ‘यसअघिका भेरियन्ट देखिएको समयमा हामीले न्यूनतम स्वास्थ्य मापदण्डको पालनामा कडाई गरेका थियौं, पछिल्लो समय संक्रमितको संख्यामा कमी आएसँगै स्वास्थ्य मापदण्ड पालनामा केही कमी भएको थियो तर, अहिले देखिएको ओमिक्रोनपछि हामीले पहिलाकै तुलनामा कडाई थालेका छौं, आवश्यक स्थानमा स्यानिटाइर राख्ने, सफाईदेखि दैनिक रुपमा विमानस्थल परिसर स्यानिटाइज गर्नेसम्मका स्वास्थ्य मापदण्ड पालनमा बढी कडाई गरिरहेका छौं,’ महाप्रबन्धक गुरागाईंले भने । कस्तो छ वायुसेवा कम्पनीको तयारी ? पछिल्लो समय कोरोना संक्रमितकोे संख्यामा बृद्धि भएसँगै आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गरिएको बताएका छन् । प्रत्यक उडानमा विमानलाई पूर्ण रुपमा स्यानिटाइज गर्ने, अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजरको व्यवस्था गरिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नागरिक उडड्यन प्राधिकरण र अन्तर्राष्ट्रिय रुपमा तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेको सूचना अधिकारी दिपेन्द्र कर्ण बताउँछन् । ‘हामीले हाम्रा सबै कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप समेत लगाइसकेका छौं, हाम्रा कर्मचारी पूर्णरुपमा सुरक्षित भएपछि मात्र यात्रु सुरक्षित हुन्छन्, हामीले सुरक्षा मापदण्डको पालनामा कुनै कमि गरेका छैनौं,’ कर्णले भने । उनले उडान तथा आवातजावतले संक्रमण फैलाउने कुनै पनि आधार अहिलेसम्म नभेटिएको र त्यसमा पनि हवाई यातायात सबैभन्दा सुरक्षित मानिएको बताए । बुद्धले प्रत्यक उडानपछि जहाजको डिसइन्फेक्सन गर्ने, यात्रुलाई माक्स अनिवार्य र उडानका क्रममा अनावश्यक हिडडुलमा रोक लगाउँदै आएको छ । यति एयरलाइन्सले सरकारले तोकेको मापदण्डको पूर्ण रुपमा पालना गर्दै उडान गरिरहेको बताएको छ । यति एयरका प्रवक्ता सुदर्शन बर्तौला सुरुवाती चरणदेखि नै सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै उडान तथा अवतरण गरिएको बताउँछन् । ‘हामीले कोरोनाको पहिलो र दोस्रो भेरियन्टको समयदेखि नै सरकारले तोकिएको स्वास्थ्य मापदण्डको पालना गर्दै आएका छौं, हामीले सुरक्षित तथा संक्रमणरहित उडानमा पालना गर्नुपर्ने मापदण्डमा कमि आउन दिएका छैनौं,’ बर्तौलाले भने । श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर सरकारले अनिवार्य गरेको खोप कार्डका कारण हवाई यात्रुमा कमी आउने अनुमान गरिएको बाताउँछन् । ‘हामीले सुरुवाती चरणदेखि नै स्वास्थ्य मापदण्डको पालना गर्ने गरेका छौं, सरकारले माघ ३ गतेबाट अनिवार्य रुपमा खोप कार्ड भनेको छ, खोप लगाएकाले मात्र उडान गर्छन् भन्ने छैन, खोप कार्ड अनिवार्य गर्दा यात्रा गर्नुपर्ने यात्रुलाई समस्या आउने हो कि भन्ने हाम्रो अनुमान, सरकारले भिड गरेर खोप अभियान सञ्चालन गर्नुभन्दा यात्रुको बढी भिडभाड हुने विमानमा नै खोपको व्यवस्था गर्दा प्रभावकारी होला,’ मानन्धरले भने । काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा, विराटनगर, सुर्खेत लगायतका बढी भिडभाड हुने विमानस्थलमा खोपको व्यवस्था भए हवाई यात्रुलाई सहज हुने उनको भनाई छ ।

भारतमा एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन । मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ । दैनिक नयाँ सङ्क्रमितहरुको बृद्धिदर ११।५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । महामारीको प्रभाव सवैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ । महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ सङ्क्रमित थपिएका छन् ।दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएको छ ।नयाँ सङ्क्रमित मध्ये चार हजार ८६८ जना ओमिक्रोनभाइरसबाट सङ्क्रमितहरु रहेको जनाइएको छ । अघिल्लो दिन सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । भारतमा सक्रिय सङ्क्रमित र नयाँ सङ्क्रमित दुवैको सङ्ख्या तिव्र रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतमा मंगलबार आठ लाख २१ हजार ४४६ जना सक्रिय सङ्क्रमित रहेका थिए । रासस/एएनआई

म्याग्दीको मङ्गलामा १३ कराेड लागनीमा अस्पताल निर्माण गरिँदै

म्याग्दी । मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो । मङ्गला गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलले १० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको जानकारी दिए । ‘आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागिएको हो’, उनले भने, ‘आगामी २०८० असारसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौंसँग २०७८ असारमा नौ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो । भवनको कूल १२ करोड ९७ लाखको लागत अनुमान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाका अनुसार दुई भवनमा ३५ कोठा निर्माण गरिनेछन् । विसं २०७७ पुस १५ गते सो अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गरेका थिए । अस्पतालका लागि अर्मन स्वास्थ्यचौकी परिसरमा तीन वर्षअघि आठ रोपनी जग्गा व्यवस्थापन गरिएको थियो । मङ्गलाका साथै म्याग्दीको अन्नपूर्ण र धवलागिरि गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण सुरु गरेका छन् । धवलागिरि गाउँपालिकाले ताकममा र अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोबामा अस्पताल निर्माण सुरु गरेका छन् । अस्पताल बनाउन सरकारले गत आवमा अन्नपूर्ण र धवलागिरि गाउँपालिकालाई ७०–७० लाख तथा रघुगङ्गा र मङ्गला गाउँपालिकालाई ८५–८५ लाख बजेट विनियोजन गरेको थियो । रासस