नवलपरासीमा सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र बनाइने
परासी । नवलपरासी-बर्दघाट सुस्ता पश्चिम)मा पहिलो पटक सामुदायिक मिर्गाैला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ । आगामी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी सुनवलमा सेवा केन्द्र स्थापना गर्न लागिएको हो । नवलपरासी सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना तथा सञ्चालनका लागि सुनवल नगरपालिका र बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबीच दुईपक्षीय सम्झौता गरी तयारी थालिएको सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले जानकारी दिए । जिल्लामै मिर्गाैला डायलाइसिस सेवा नहुँदा यहाँका बिरामी बुटवल, भैरहवा, चितवन वा काठमाडौं जानुपर्ने बाध्यता थियो। हाललाई दश वटा उपकरणसहित सुनवलको बालमैत्री सिकाइ केन्द्रको भवनमा डायलाइसिस सेवा सञ्चालन गर्ने गरी काम थालिएको उल्लेख गर्दै उनले भने, ‘सेवा केन्द्रको स्थायी संरचना नहुँदासम्मका लागि सिकाइ केन्द्रको भवनमा सञ्चालन गर्न लागेका छौँ, यसबाट मिर्गाैलापीडित बिरामीले जिल्ला बाहिर गएर सेवा लिनुपर्ने बाध्यता हट्नेछ ।’ सुनवलमा स्थापना हुने सेवा केन्द्रबाट सुनवलसहित पश्चिम नवलपरासीका मिर्गाैलापीडित बिरामीले सेवा पाउने छन् । करिब पाँच करोडको लागतमा स्थापना हुने उक्त केन्द्रमा दैनिक बीस बिरामीको नियमित डायलाइसिस गरिने र बिरामीको चाप बढ्दै गए सेवा सुविधा पनि विस्तार गरिने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । उनका अनुसार पश्चिम नवलपरासी जिल्लाबाट ४२ बिरामी नियमित डायलाइसिसका लागि बुटवलको मुटु अस्पतालमा जाने गरेका छन् । त्यसमध्ये अधिकांश सुनवलका बिरामी रहेकोले पनि सेवा केन्द्र सुनवलमा सञ्चालन गर्न लागिएको होे । सेवा केन्द्रमा तालिम प्राप्त विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । मिर्गाैलापीडित रेकबहादुर गुरुङ्ले जिल्लामै सेवा केन्द्र स्थापना हुनु खुसीको कुरा भएको र अब टाढा जान नपर्ने भएकोले राहत हुने बताए । रासस
साउनभर जानकी मेडिकल कलेजमा ओपिडी र एम्बुलेन्स सेवा नि:शुल्क
काठमाडौं । धनुषास्थित जानकी मेडिकल कलेजले ओपिडी लगायत अन्य केही स्वास्थ्य सेवा निशुल्क सेवा प्रदान गर्ने भएको छ । इन्टिच्युट अफ मेडिसिनको ५० वर्षको वार्षिकोत्सवको अवसरमा कलेजले यस्ताे सेवा दिने भएकाे हाे कलेजले साउन महिनाभरि आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा, मनोचिकित्सा, चर्म अनि पिसाबका बिरामीहरूलाई नि:शुल्क ओपिडी सेवा प्रदान गर्ने जनाएकाे छ । त्यसबाहेक, जानकी मेडिकल कलेजले ल्याब परिक्षण, रेडियोलोजी, आईसीयु र एनआईसीयुमा र वार्डको शुल्कमा पनि २५ प्रतिशत छुट दिने भएको छ । यसका साथै कलेजले आफ्नो २४ घण्टा उपलब्ध एम्बुलेन्स सेवा पनि साउन महिनाभरि नि:शुल्क बनाएको छ ।
यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज सङ्क्रमणका कारणले एक/एक सङ्क्रमितको ज्यान गएको छ । सङ्क्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा सङ्क्रमण देखिएको छ । शून्य दशमलव पाँच प्रतिशतमा रहेको सङ्क्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित काठमाडौं जिल्लामा रहेका छन् । शून्य सङ्क्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताउँछन् । ‘भारतमा दैनिक सङ्क्रमण बढिरहेको छ । भारतबाट हजारौँ मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्,’ उनले भने, ‘ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक सङ्क्रमण देखिएको छ । ती मानिसले नै सङ्क्रमण सारिरहेका छन् ।’ उनका अनुसार भारतमा सङ्क्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू नगर्नाले सङ्क्रमण बढेको हो । मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि सङ्क्रमण फैलिएको बताइन्छ । नेपालमा पनि अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको सङ्क्रमित भेटिएको छ । उनले बिएफाइभ प्रजातिको सङ्क्रमण फैलिने उच्च दर रहेकाले अहिले सङ्क्रमित बढेको बताए । महाशाखाका निर्देशक डा दासले सङ्क्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउँछन् । उनका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलो पटक असारमा बिरामी उपचारका लागि आएका थिए । अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । तीमध्ये सघन उपचार कक्ष (आइसियु) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन् । अस्पतालमा हिजो साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो । उनले अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको बताए । रासस