आइतबार कोरोनाको ३४७ संक्रमित थपिए, दुई जनाको मृत्यु
काठमाडौं । आइतबार कोरोनाको ३४७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार ३ हजार ८८८ जनामा परीक्षण गर्दा ३४७ जनामा संक्रमण देखिएको हो । गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ । उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ३ हजार १७७ जना सक्रिय संक्रमित छन् ।
काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै
काभ्रेपलाञ्चोक । यहाँ दैनिक कोरोना सङ्क्रमणदर बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा आठ सङ्क्रमित निको भएको जनाइएको छ । पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक–एक सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेडाईँले जानकारी दिए । उनका अनुसार पछिल्लो दिनमा सङ्क्रमणदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ । यस्तै नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् । हाल जिल्लामा कूल ४२ मा सङ्क्रमण रहेको हो । करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा सङ्क्रमण देखिएको छ । यसमध्ये १९५ सङ्क्रमितको मृत्यु भएको छ । रासस
नेपाल भित्रियो बिरामी राखेर उपचार गर्न मिल्ने बस, एउटाकै मूल्य १ करोड
काठमाडौं । नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ । तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ । त्यसभित्र एउटा होइन छ/छवटा सुविधायुक्त शय्या र साथमा सिसीक्यामेरा । मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला ? हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ । अब भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता सवारीसाधनलाई नेपालमा भित्र्याएर अविश्वासलाई विश्वासमा बदलिदिएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्ने सुविधासहितको सेवा प्राप्त हुने सवारीसाधन नेपालमा पहिलोपटक भित्रिएको हो । अबका विपत्तिमा ती गाडीले नेपालमा पनि सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ । चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर उक्त गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनले उक्त गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपद्मा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको बताए । उनले यस्तो प्रकारको गाडी नेपालमा पहिलोपटक भित्रिएको दाबी पनि गरे । यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठवटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरीले जिम्मेवारी प्राप्त गरेको छ । सरकारले उक्त गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो । मुख्यतः उक्त फण्डमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एमसिडिओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पाेरेशनको पैसा परेको छ । गृहमन्त्री बालकृष्ण खाणले आजै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गरे । उक्त गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछ जनाइएको छ । विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा सोही गाडीमा राखेर उपचार गर्न सकिन्छ । गाडीभित्रै छ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ । प्राकृतिक विपद्को चुनौती सामना गरिरहेको नेपालजस्तो मुलुकका लागि उक्त गाडीको प्रयोगले विपद्मा परेका मानिसको अकाल मृत्युबाट जोगाउने विश्वास गरिएको छ । नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैमा विदितै छ । कठिन भौगोलिक अवस्थाको कारणले भूकम्प, बाढी र पहिरो, डुबान, आगलागीजस्ता विपद् बल्झिरहन्छ । कोभिडजस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । सडक, हवाई र निर्माणसम्बन्धी ठूला दुर्घटना भइरहेको छ । त्यसैले जनताको जीवनरक्षाका लागि यस्ता गाडी सहयोगी हुन्छ । सरकारसँगको सहमतिअनुसार अशोक लेल्याण्डले उक्त गाडी खरिद गरी सरकारलाई बेचेको हो । उक्त गाडीलाई विपद् सामूहिक उद्धार एम्बुलेन्सको नाम दिइएको छ । यसले बिरामी ओसारपसारमात्र गर्दैन, यसमा रहेको उपकरणले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पताल नै बनाएको छ । डाक्टर र नर्सले बाटोमै बिरामीको उपचार र हेरचाह गरी बचाउन सक्छन् । जीवन बचाउने आधुनिक उपकरण, महत्वपूर्ण हेरचाह सुविधा यसमा छ । यसमा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सिसीटिभी क्यामेरा छन् । उक्त गाडी एउटाको झण्डै एक करोड पर्ने बताइएको छ । ठूला घटनामा उद्धार गर्न मद्दत गर्नेछ । गृहमन्त्री खाणले गाडी निरीक्षण गर्दै यसले जुनसुकै विपत्तिमा परेका मानिसको ज्यान जोगाउन महत्वपूर्ण योगदान गर्नै विश्वस व्यक्त गरे । शनिबारै प्राधिकरणले अपाङ्गता भएकाहरूका लागि १५१ प्रकारका सहयोगी सामग्रीसमेत राष्ट्रिय अपाङ्ग कोषलाई हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले अपाङ्गता भएकाहरूका लागि बजेट बढाउनुपर्ने आवश्यकता औँल्याउँदै हरेक क्षेत्र उनीहरुका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिए । उनीहरुको जीवनयापनलाई कसरी सहज बनाउने भन्नेमा नै सरकारको ध्यान रहेको बताए । गृहसचिव टेकनारायण पाण्डेले उक्त सुविधायुक्त गाडीले मानवीय जीवनलाई सङ्कटबाट बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल उक्त गाडीलाई गुड्ने अस्पतालकै सङ्ज्ञा दिन्छन् । समारोहमा सशस्त्र प्रहरीलाई ६५ थान विपद् उद्धार सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराई, सहसचिव अनिता निरौला, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले धारण राखेका थिए । रासस