४३५ जनामा कोरोना संक्रमण पुष्ट, सक्रिय सङ्क्रमित २५ सय नाघ्यो
काठमाडौं । पछिल्लो समय ४३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको अनुसार बिहीबार ५६ जना डिस्चार्ज भएका छन् र योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५३७ पुगेको छ ।
भारतमा एकैदिन २१ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि
नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक दिनमा १८ हजार दुई सय ९४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३१ लाख ५० हजार चार सय ३४ पुगेको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २६ हजार जना भन्दा बढीको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८९ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ । भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध दुई अर्ब ९१ लाख मात्रा भन्दा बढी खोप लगाइएको छ । यसैबीच पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच सय ९९ कोभिड–१९ का थप सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँग कूल सङ्क्रमितको संख्या १५ लाख ४८ हजार तीन सय ९४ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चार सय ५५ जनाको मृत्यु भएको छ भने बुधबार थप तीन जनाको मृत्यु भएको छ ।
मधेस प्रदेशमा पुनः कोरोना सङ्क्रमण बढ्दै
जनकपुरधाम । मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरी सर्तकर्ता अपनाउन अपिल गरेको हो । हाल कोभिड–१९ को सङ्क्रमण दर बढिरहेकाले मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा नजान, सङ्क्रमणको शङ्का भएमा सङ्क्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा छ जना कोरोना सङ्क्रमित पाइएको छ । यसअघि गत मङ्गलबार पनि मधेस प्रदेशसमा चार जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । योसँगै मधेस प्रदेशमा कोरोना पोजेटिभका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, पर्साको वीरगन्ज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोठ नाकामा २०३ जनाको गरिएको एन्टिजेन परीक्षण गर्दा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नभेटिएको निर्देशानालयले जनाएको छ । यसैबीच, अहिलेसम्म मधेश प्रदेशमा कोरोना सङ्क्रमित भएकामध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना सङ्क्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।