नेपालमै पहिलोपटक नयाँ विधिबाट पाखुराको जोर्नी खुस्किएको अपरेशन
काठमाडौं । किष्ट मडिकल कलेजमा नेपालकै पहिलोपटक पाखुराको जोर्नी खुस्किएको व्यक्तिको नयाँ विधिबाट अपरेशन भएको छ । बरिष्ठ आर्थ्रोस्कोपिक एण्ड स्पोर्टस सर्ज डा. अमित जोशी नेतृत्वको टिमले नेपालमै पहिलोपटक कन्जुरेन्ट आर्क लाटारजेट विधिबाट जोर्नी खुस्किएको व्यक्तिको अपरेशन गरेको हो । जोशीको नेतृत्वमा डा श्रीराज श्रेष्ठ र सौरभ दाहालको टिमले ४० वर्षिय सागर उप्रेतीमा सो अपरेशन सफलता पुर्वक गरेको हो । टिमले एक्स रे, सिटी स्क्यान र एमआरआइको सहायताले उप्रेतीको पाखुराको जाँच गरेर हेर्दा जोर्नीको ग्लिनोइड भन्ने भागमा ठुलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केहि मात्रामा हड्डी नभएको पाएपछि पहिलोपटक कन्जुरेन्ट आर्क लाटारजेट विधिबाट अपरशेन गरिएको अस्पतालले जनाएको छ ।
आजबाट लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र बेड निःशुल्क
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बहिरङ सेवा र जनरल बेड सेवामा निःशुल्क व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बहिरङ सेवा र जनरल बेड सेवामा शुल्क नलिने व्यवस्था गरेसँगै उक्त निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिए । ‘लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट २०७९ साउन १ गतेदेखि बहिरङ सेवा र जनरल बेड सेवा निःशुल्क हुने छ’, उनले भने, ‘प्रदेश सरकारले दुवै अस्पतालमा ओपिडी र बेड निःशुल्क गर्न एक करोड ५० लाख बजेट विनियोजन गरेको छ ।’ यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि अब रगत पनि निःशुल्क हुने भएको छ । रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले बजेटमा निःशुल्क रगतका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ ।
बढे डेङ्गुका बिरामी
धादिङ । धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन् । बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएकोे हो । पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ । धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेङ्गुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरेका छन् । रासस