डेङ्गु रोग पीडितका लागि हेल्थ एट होमले सुरु गर्यो रुक्तदान अभियान
काठमाडौं । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले डेङ्गु रोग पीडितको सहयोगार्थ रक्तदान अभियान सुरु गरेको छ । राजधानी काठमाडौ लगायत देशभर डेङ्गु रोगको प्रकोप बढिरहेका बेला हेल्थ एट होमले पाटन जेसिज,नेपाल भेन्टिलेटर सेवा र सघन क्रिटिकल केयर सँगको संयुक्त आयोजनामा रक्तदान शिविर सञ्चालन गरेको हो । यो अभियान दुई सातासम्म सञ्चालन हुनेछ । हेल्थ एक होमको प्राङ्गढबाट सुरु भएको रक्तदान अभियान राजधानीका विभिन्न स्थानमा सञ्चालन हुने पाटन जेसिजका अध्यक्ष प्रवेश मल्लले बताए । मुलुकभर डेङ्गुका बिराभी बढिरहेका बेला उनीहरुलाई रगतको पनि आवश्यकता पर्न सक्छ । प्रकोप बढिरहेका बेला कोसैलेपनि रगत अभावमा आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले आफुहरुले संयुक्त रुपमा रक्तदान अभियान सञ्चालन गरेको हेल्थ एट होमकी एचआर एण्ड अपरेशन म्यानेजर डेजी नापितले बताए । हेल्थ एट होमले विभिन्न समयमा रक्तदान शिविर सञ्चालन गर्दै आएको छ । साथै हेल्थ एट होमले अहिले डेङ्गु रोग पीडितलाई निशुल्क स्वास्थ्य परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । हेल्थ एट होमले बीरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निशुल्क परामर्श सेवा दिइरहेको छ । साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वासथ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ । कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घरघरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो । १४ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले हालै मात्रै घरमै पुगेर स्वास्थ्य सेवाका अलावा रेडियोलोजी सेवा दिन सुरु गरेको छ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।
एकैदिन १ हजार ५२ जनामा देखियो डेंगुको संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुको १ हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १ हजार ५२ जना संक्रमित थपिएका हुन् । हालसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमणका कारण सोमबारसम्म ३२ जनाको मृत्यु भएको छ ।
शल्यक्रिया सेवाले जिल्लावासीलाई राहत
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई राहत भएको छ । उक्त केन्द्रले साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि बाहिरी जिल्ला जानुपर्ने बाध्यता अन्त्य भएको हो । उपचार केन्द्रमा बिहीबारमात्रै पित्तथैलीमा पत्थरीको सफल शल्यक्रिया गरिएको थियो । शुक्लागण्डकी नगरपालिका–७ निवासी ६१ वर्षीया कुमारी गाहा मगरको पित्तथैलीमा पत्थरीको उक्त उपचार केन्द्रमा गरिएको शल्यक्रिया सफल भएको थियो ।जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको उनले बताए । ‘बाहिर उपचार गर्न जाँदा खर्च बढी हुन्थ्यो, आफ्नो घर नजिकैको अस्पतालमा शल्यक्रिया सेवा पाउँदा सहज भयो,’ उनले भने । उक्त केन्द्र नियमितरुपमा शल्यक्रिया सेवा सञ्चालन भएपछि सामान्य शल्यक्रियाका लागि पनि पोखरा, भरतपुरलगायत ठूला शहरमा जानुपर्ने बाध्यता अन्त्य भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नीलगायतमा शल्यक्रिया सेवा दिइरहेको उनले बताए । ‘यहाँ नियमितरुपमा सञ्चालन भएको शल्यक्रिया सेवा तनहुँलगायत आसपासका जिल्लावासीलाई सहज भएको छ,’ डा श्रेष्ठले भने । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा। विद्याभुषण ताम्राकार, सर्जन डा। परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा। रमेश घिमिरे, डा। अभिषेक पौडेल आदी छन् । केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई पनि राहात भएको छ । केन्द्रमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । उक्त केन्द्रले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गर्नाका साथै केही समय अगाडिदेखि कल्चर सेवा पनि शुरु गरेको छ । बिहान १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायत सेवा पनि उक्त केन्द्रबाट सञ्चालन भइरहेको छ । पचास शैय्याको उक्त केन्द्रमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेट सम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व।गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।उक्त केन्द्रमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत् उपचार केन्द्रमा पूर्वाधार निर्माणका लागि सहयोग गर्ने घोषणा गरेको थियो । केन्द्रमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन भइरहेको छ । दुई करोड १८ लाख रुपैयाँको लागतमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । रासस