कञ्चनपुरमा सिफारिसबिना बेच्न नपाइने औषधि आफूखुसी बेच्दै
कञ्चनपुर । चिकित्सकको सिफारिसमा मात्रै बेच्न पाइने औषधि शुक्लाफाँटा नगरपालिका क्षेत्रमाका मेडिकल सञ्चालकले आफूखुसी बेच्दै आएका छन् ।चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने गरेको पाइएको हो । चिकित्सको सिफारिसअनुसार अभिलेख राखेर बेच्नुपर्नेमा मेडिकल सञ्चालक बिनाअभिलेख बेचेको पाइएपछि त्यस्ता औषधि जफत गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब हरिनाथले बताए ।’नशा रोग, निन्द्रा लगाउने, गर्भपतन गराउनेलगायत औषधि बेच्नका लागि मेडिकलमा राखेको पायौँ’, उनले भने, ‘बेचिएका त्यस्ता औषधिको अभिलेखसँगै चिकित्सकको सिफारिस पनि फेला नपारेपछि जफत गरेका छौँ ।’ भियग्रा नामक औषधिसमेत चिकित्सको सिफारिसबिना बेच्न नपाइने भएकाले सो समेत जफत गरिएको सिनियर अहेब हरिनाथले बताए । उनका अनुसार म्याद नाघेको ठूलो परिणामको औषसधसमेत तीनवटै मेडिकलबाट बरामद गरिएको छ । चिकित्सकको सिफारिसबिना चलाउनै नपाइने औषधि बेच्ने मेडिकलका बारेमा प्रचलित कानुनअनुसार कारबाही हुने बताइएको छ । बजार अनुगमनका क्रममा म्याद नाघेका र मेडिकल सञ्चालकले सिफारिसबिना आफ्नै खशीले बेच्न नपाउने औषधि नबेच्न सचेत गराइए पनि अटेरी गर्दै मानव स्वास्थ्यमा असर पर्ने गरी औषधि बेच्न थालेपछि नगरपालिकाले कारबाही अगाडि बढाउने भएको छ । अनुगमन टोलीले औषधि पसल चार, मासु पसल एक, नास्ता पसल चार, मिठाइ पसल एक, किराना पसल सात, मोबाइलसम्बन्धी पसल चार, सुनचाँदी पसल एक, हार्डवेयर पसल तीन, फेन्सी पसल दुई, श्रृङ्गार पसल एक र अन्य एक गरी ३१ वटा पसलमा अनुगमन गरेको थियो । अनुगमन गरिएका पसलमा मूल्यसूची नराखिएको, म्याद नाघिएका वस्तु राखिएको र नापतौलाका उपकरण प्रमाणित नगरेको पाइएको छ । ‘म्याद नाघेका वस्तु तत्कालै जफत गरेका छौँ’, अनुगमन टोलीमा सम्लग्न नगरपालिकाका नायब सुब्बा लक्ष्मीदत्त पाण्डेयले भने, ‘नापतौलका उपकरण तत्काल प्रमाणित गराउन र चियानास्ता पसलमा सरसफाइ गर्नका लागि पहिलोपटकका लागि सचेत गराएका छौँ ।’ बजार क्षेत्रमा हुने कालोबजारी नियन्त्रण गर्ने कार्यसँगै सर्वसाधारणले सहज र सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु चाडपर्वका बेला उपभोग गर्न पाउन् भनेर अनुगमनलाई अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । चाडपर्वका बेला बजार क्षेत्रमा व्यापारीले मनोमानी तरिकाले मूल्य वृद्धि गरी सामान बेच्दा सर्वसाधारणलाई आहात हुने भएकाले त्यस कुरालाई मध्यनजर गरी बजार अनुगमनको कार्यलाई कडाइका साथ अगाडि बढाइएको उनको भनाइ थियो । दशैँ, तिहारसँगै छठपर्वसम्म बजार अनुगमन जारी रहने बताइएको छ । रासस
दक्षिणी पाकिस्तानमा डेङ्गुको कारण २७ को मृत्यु
इस्लामावाद । पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेङ्गु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । यस सङ्क्रमणको कारण मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात देशको सबैभन्दा ठूलो सहर कराचीमा भएको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ सङ्क्रमित भएका विभागले मङ्गलबार साँझ जानकारी दिएको छ । सेप्टेम्बरमा बिरामीको सङ्ख्या तीन हजार ५ सय ९४ पुगेको छ । वर्षभरि कुल बिरामीको सङ्ख्या छ हजार एक ६३ पुगेको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय ८४ लाई डेङ्गु सङ्क्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । यसवर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार सात सय २९ सक्रिय सङ्क्रमितको सङ्ख्या रहेका छन् । कुल सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई ६४ पुगेको बताइएको छ । यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय १५ सङ्क्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन् । पञ्जाबको राजधानी लाहोरमा एक सय पाँच जना सङ्क्रमित भएका छन् । रावलपिंडी सहरमा ५४ जनामा सङ्क्रमण देखिएको छ । यसवर्ष रावलपिंडीमा कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ६ सय ४५ पुगेको छ । यसैबीच २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार साँझसम्म पाकिस्तानको विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा १० को मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ । बाढी सम्बन्धी छुट्टाछुट्टै घटनाहरूमा ज्यान गुमाउनेहरूमध्ये चार बालबालिका र दुई महिला रहेका एनडीएमएले मङ्गलबार जनाइएको छ । देशको सबैभन्दा बढी प्रभावित क्षेत्र दक्षिणी सिन्ध प्रान्त नौ जनाको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा एक जनाको मृत्यु भएका जनाइएको छ । एनडीएमएले मङ्गलबार राति सार्वजनिक गरेको विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीसम्बन्धी घटनामा एक हजार पाँच सय ६९ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ६० जना घाइते भएका छन् । यस प्रकोपले ५० हजार नौ सय ४० घरहरु क्षतिग्रस्त पारेको समाचारमा जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।
अमेरिकामा २४ हजार जनामा देखियो मङ्किपक्स
लस एन्जलस । अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ । केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९८ जनामा मङ्किपक्स पुष्टि भएको छ । मङ्किपक्स सङ्क्रमण घातक नभए पनि धेरै बिरामीले दुईदेखि चार साताभित्र स्वास्थ्य लाभ गर्दछन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्किपक्सबाट हुने मृत्यु दर तीनदेखि छ प्रतिशतसम्म छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले उक्त रोगको उपाचारका निम्ति उपलब्ध एकमात्र औषधिको अधिक प्रयोग नगर्न सुझाएका छन् ।