२७ वर्षीय चिकित्सक, घरघरमा चिकित्सा सेवा

काठमाडौं । उपचारका लागि बारम्बार धाइरहनु पर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय बनेको छ । पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलको सघन उपचारकक्षमा कार्यरत २७ वर्षीय डा. चेवनराज कार्कीले डेढ वर्षअघि बिर्तामोडमा आफ्ना केही साथीसँग मिलेर सरकारी निकायमा संस्था दर्ता गरी होम केयर सेवा सुरु गरेका थिए । हाल झापाभर उपलब्ध यो सेवा कोशी प्रदेशका विभिन्न जिल्लामा विस्तारका क्रममा रहेको जनाइएको छ । अस्पताल जान नसक्ने र अस्पतालबाट डिस्चार्ज भएका बिरामीका लागि ‘जीवन रक्षा होम केयर’ले ‘पेन म्यानेजमेन्ट’देखि शल्यक्रियापछिको ड्रेसिङ, फिजियोथेरापी र स्लाइन चढाउनेसम्मका उपचार सेवा घरमै उपलब्ध गराउँदै आएको संस्थाका संस्थापक एवं कार्यकारी प्रमुख डा चेवनराज कार्कीले बताए ।  घरै बसेर स्वास्थ्यलाभ गरिरहेका क्यान्सरका बिरामीका लागि होम केयरले प्रदान गर्ने उपचार सेवा वरदान सावित हुने गरेको छ । जुनसुकै समयमा खबर आउनासाथ होम केयरको चिकित्सा टोली आवश्यक उपकरण र औषधिसहित बिरामीको घरमै पुग्ने गरेको उनले बताए ।  होम केयरको चिकित्सा टोलीमा अनुभवी चिकित्सकसहित १५ जनाभन्दा बढी नर्स, हेल्थ असिस्टेन्ट र कर्मचारी प्रत्यक्ष रूपमा जोडिएका छन् । जिल्लाको विभिन्न सहरका स्थानीय अनुभवी नर्स र हेल्थ असिस्टेन्टहरू होम केयरको नेटवर्कमा जोडिएको हँुदा जुनसुकै बेला र अवस्थामा जहाँ पनि उपचार पुर्याउन सहज भएको उनले जानकारी दिए ।  टोलीले एम्बुलेन्स, अल्ट्रासाउन्ड, इसिजी, ड्रेसिङलगायतका सेवा घरमै उपकरण पुर्याएर दिने गरेको छ भने रगत, पिसाब, दिसालगायत जाँच ‘सेम्पल’ लिएर प्रयोगशालामा जाँच गरी घरमै रिपोर्ट उपलब्ध गराउँदै आएको छ ।  ‘यो एकप्रकारको घरमै अस्पताल पुर्याउने प्रयास हो’, डा कार्की भन्छन्, ‘शल्यक्रियापछि लामो समय अस्पताल बसेर घर फर्किएका बिरामीलाई सानो विषयमा पनि पटकपटक अस्पताल धाइरहनुपर्ने झन्झट नहोस् भनेर हामीले घरमै अस्पतालको सेवा पुर्याएका हौं ।’  रोजगरीका क्रममा छोराछोरी टाढा रहेको परिवारका वृद्धावस्थाका बुबाआमा बिरामी पर्दा एम्बुलेन्स खोजेर अस्पताल पुर्याउने र कुरुवा बस्ने आफन्त तत्काल पाउन पनि कठिनाइ पर्न सक्छ । यस्तो अवस्थामा होम केयरको सेवा झनै प्रभावकारी हुने गोमेन्द्र महाविद्यालयका अध्यापक आशीष शर्मा बताउँछन् ।  ‘विदेशतिर होम केयर सेवा प्रचलित नै हुन्छ, तर हाम्रो ठाउँमा नयाँ हो’, उनी भन्छन्, ‘हाम्रो परिवारले पनि जीवन रक्षा होम केयरको सेवा लिएको छ । डा कार्कीको टिमको सेवाभाव प्रशंसनीय लाग्यो ।’  होम केयरको चिकित्सा टोलीले भेन्टिलेटरसहितको एम्बुलेन्समा जटिल बिरामीलाई काठमाडौं, विराटनगर, धरान र सिलीगुढीका सुविधासम्पन्न अस्पतालमा सुरक्षित पुर्याउने सेवासमेत प्रदान गर्दै आएको छ भने जिल्लाकै कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीको हेरचाह गरिदिने कुरुवा सेवा दिँदै आएको छ । होम केयर सेवालाई व्यापार गर्ने थलो नबनाउने र सामाजिक सेवाको माध्यम बनाउने संस्थापक डा. कार्कीको भनाइ छ । घरमै सेवा पुर्याएबापत होम केयरले लिने सेवा शुल्क महँगो छैन । सामान्य ड्रेसिङका लागि रु ३०० देखि ३५० र डाक्टर भिजिटको न्यूनतम शुल्क लिएर होम केयरले अहोरात्र जुनसुकै देहाती बस्तीमा स्वास्थ्य सेवालाई सर्वसुलभ पुर्याइरहेको छ । वृद्धाश्रमहरूमा ‘बेसलाइन रेट’मा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य राखेर विर्तामोडका विभिन्न वृद्धाश्रमहरूमा होम केयरले प्रस्ताव पठाएको जनाएको छ ।  बिर्तामोडबाट सुरु भएको ‘जीवन रक्षा होम केयर’को सेवालाई विराटनगरमा पुर्याइसकेको र धरानमा चाँडै पुर्याउने लक्ष्य रहेको डा कार्कीले सुनाए । होम केयर सेवा दिने कोशी प्रदेशकै पहिलो संस्था ‘जीवन रक्षा होम केयर’ले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा पुर्याइरहेको छ । स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने विभिन्न कार्यक्रमसमेत यसले गर्दै आएको छ । पूर्वाञ्चल युनिभिर्सिटीमा एमबीए अध्ययनरत डा. कार्की व्यवस्थापकीय रूपमा पनि स्वास्थ्य क्षेत्रलाई नयाँ प्रविधिमार्फत सुधार्ने प्रयास गरिरहेको बताउँछन् । मोबाइल एपमार्फत ‘टेलिमेडिसिन’ सेवा दिने र कारागार तथा सुधारगृहमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको उद्देश्य रहेको उनले बताए ।  ‘जीवन रक्षा होम केयर’को स्थापना गरेर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट र नयाँ सेवा प्रदान गरेको कारण डा कार्कीले हालै वर्ष उत्कृष्ट व्यक्तिका रूपमा ‘पौरखी जेनजी सम्मान’ प्राप्त गरेका छन् । उनी भन्छन्, ‘अहिलेसम्मका काममा सबैको हौसला प्राप्त भइरहेको छ । भविष्यमा हामी अझ धेरै राम्रा योजनाका साथ समाजको सेवा आउनेछौं ।’ रासस  

नगरपालिकाको बृहत् स्वास्थ्य शिविर : जनतालाई निःशुल्क उपचार

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा लिएका छन् । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र गरिमा विकास बैंकसँगको सहकार्यमा बिहीबार र शुक्रबार शिविर सञ्चालन गरिएको हो ।   शिविरमा जनरल सर्जरी, स्त्री रोग, महिलाको पाठेघरमा हुने क्यान्सर, हाडजोर्नी, दन्त चिकित्सा, मनोरोग र छालासम्बन्धी रोग (चर्मरोग) जस्ता विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो ।  

भारतमा तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण आउँदै

काठमाडौं । भारतले ओजेम्पिकजस्ता तौल घटाउने खोपका सस्तो जेनेरिक संस्करण बजारमा ल्याउने तयारी तीव्र पारेसँगै मोटोपनाविरुद्धको उपचार अब सीमित वर्गको विलासिताबाट बाहिर निस्केर आम सर्वसाधारणसम्म पुग्ने चरणमा प्रवेश गरेको छ । प्रमुख पेटेन्टको म्याद समाप्त भएसँगै यी औषधिको मूल्य उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ, जसले विश्वव्यापी रूपमा उपचार पहुँचमा ठूलो परिवर्तन ल्याउन सक्छ ।      मुम्बईका अस्पताल र क्लिनिकहरूमा यस परिवर्तनको प्रभाव देखिन थालिसकेको छ । एन्डोक्रिनोलोजिस्ट नदीम राइसका अनुसार हाल प्रत्येक हप्ता ५० भन्दा बढी व्यक्ति तौल घटाउने खोपका लागि परामर्श लिन आउँछन् र करिब ७०–८० जना बिरामी सक्रिय उपचारमा छन् । उनका अनुसार जेनेरिक औषधि सस्तो भएपछि यो सङ्ख्या सहजै २०० नाघ्न सक्छ । उनकी सहकर्मी सुनेरा घई पनि माग अत्यन्त उच्च रहेको तर उच्च मूल्यका कारण धेरैले उपचार सुरु गर्न नसकेको बताउँछिन् ।      ओजेम्पिक र वेगोवीजस्ता औषधिमा प्रयोग हुने सेमाग्लुटाइड नामक सक्रिय तत्त्वको पेटेन्ट भारतमा शुक्रबार समाप्त भएसँगै यो परिवर्तन सम्भव भएको हो । विश्वकै सबैभन्दा ठूलो जेनेरिक औषधि उत्पादक देशका रूपमा भारतले यस अवसरलाई तीव्र रूपमा उपयोग गर्ने तयारी गरेको छ । अनुसन्धानअनुसार सन् २०२६ को अन्त्यसम्म सेमाग्लुटाइडसम्बन्धी मुख्य पेटेन्टहरू विश्वका १० देशमा समाप्त हुनेछन्, जसले विश्वव्यापी मोटोपनाको झन्डै ४८ प्रतिशत बोझ समेट्छन् । यस सूचीमा ब्राजिल, चीन, दक्षिण अफ्रिका, टर्की र क्यानाडा जस्ता देशहरू समावेश छन् ।      भारतीय औषधि उद्योगका लागि यो नयाँ प्रतिस्पर्धात्मक दौडको सुरुआत मानिएको छ । कम्तीमा चार प्रमुख कम्पनीले जेनेरिक सेमाग्लुटाइड उत्पादनका लागि तयारी पूरा गरिसकेका छन् भने जाइडस लाइफसाइन्सेजले ‘डे–वन’ लन्चको घोषणा गर्दै यसै सप्ताहन्तदेखि बजारमा औषधि उपलब्ध गराउने सङ्केत दिएको छ । अनुसन्धान संस्था फार्मार्‍याकका अनुसार चाँडै नै भारतीय बजारमा ५० भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी कम्पनी सक्रिय हुनेछन् ।      यो विकास भारतको बदलिँदो स्वास्थ्य अवस्थासँग पनि मेल खान्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुपोषण अझै पनि ठूलो समस्या भए पनि सहरीकरण र जीवनशैली परिवर्तनसँगै मोटोपना तीव्र रूपमा बढिरहेको छ । सरकारी तथ्याङ्कले भारतमा २४ प्रतिशत महिला र २३ प्रतिशत पुरुष अधिक तौल वा मोटोपनाको समस्यामा रहेको देखाएको छ । बेरियाट्रिक सर्जन सञ्जय बोरुडेका अनुसार आय वृद्धि भए पनि शारीरिक सक्रियता घट्ने प्रवृत्तिले समस्या झन् बढाएको छ ।      अहिलेसम्म एली लिली र नोभो नोर्डिस्कजस्ता बहुराष्ट्रिय कम्पनीहरूले महँगा औषधिमार्फत बजारमा प्रभुत्व जमाएका थिए । भारतमा तौल घटाउने औषधिको बिक्री पाँच वर्षमै दस गुणा बढेर सन् २०२६ सम्म १५ करोड ३० लाख डलर पुगेको छ र सन् २०३० सम्ममा आधा अर्ब डलर नाघ्ने अनुमान गरिएको छ । तर प्रति महिना १५ हजारदेखि २२ हजार रुपैयाँ (भारतीय मुद्रा) सम्म पर्ने खर्चले धेरै बिरामीलाई उपचारबाट टाढा राखेको छ । मुम्बईस्थित चिकित्सक स्वाति प्रधानका अनुसार जेनेरिक औषधिको मूल्य घटेर करिब पाँच हजार रुपैयाँ प्रतिमहिना पुग्न सक्छ । यसले बिरामीहरूको पहुँच उल्लेखनीय रूपमा विस्तार गर्नेछ । यद्यपि, यस्ता औषधिहरूले वाकवाकी लाग्ने तथा पाचनसम्बन्धी समस्या जस्ता प्रतिकूल असर पनि निम्त्याउन सक्ने भएकाले चिकित्सकीय निगरानी आवश्यक हुने उनको भनाइ छ ।      यसको प्रभाव भारतमै सीमित रहने छैन । अफ्रिकासहित धेरै विकासशील देशहरूमा भारत प्रमुख जेनेरिक औषधि आपूर्तिकर्ता भएकाले सस्तो सेमाग्लुटाइड ती देशहरूका लागि जीवनरक्षक विकल्प बन्न सक्छ । विश्व मोटोपना महासंघका अध्यक्ष साइमन बार्केराले कम लागतका औषधिले विशेषगरी मध्यम आय भएका देशहरूमा उपचार पहुँच विस्तार गर्ने उल्लेख गरेका छन् ।      भारतीय कम्पनीहरू अन्तर्राष्ट्रिय बजारमा पनि अघि बढिरहेका छन् । डा. रेड्डीज ल्याबोरेटरीले सन् २०२६ मेसम्म क्यानाडामा आफ्नो संस्करण सार्वजनिक गर्ने लक्ष्य राखेको छ । बिरामी सुकान्त मङ्गलजस्ता व्यक्तिहरूका लागि भने यो परिवर्तन झन् महत्त्वपूर्ण छ । उनले आठ महिनामा करिब ३० पाउन्ड तौल घटाए पनि प्रति महिना २० हजार रुपैयाँ खर्च धान्न नसक्दा उपचार रोक्नुपरेको अनुभव सुनाएका छन् । उनका अनुसार औषधि सस्तो भएको भए उपचार निरन्तरता दिन धेरै सहज हुने थियो ।      यसरी भारतबाट सुरु भएको सस्तो जेनेरिक औषधिको लहरले मोटोपनाविरुद्धको विश्वव्यापी लडाइँमा नयाँ दिशा दिने संकेत देखिएको छ । रासस