स्वास्थ्यमन्त्री बन्ने चर्चामा छन् भेट्रान चिकित्सकहरू
काठमाडौं । अन्तरिम सरकार गठन भएसँगै अब कुन मन्त्रालय कुन व्यक्तिले पाउँछ भन्ने विषय निकै चासोका रूपमा हेरिएको छ । ६ महिने अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै कुन मन्त्रालय कसले पाउँछ भन्ने कौतुहलता धेरैमा छ । नागरिक सरकार भएकोले पनि विभिन्न विधामा उत्कृष्ट काम गर्दै आएका व्यक्ति मन्त्री बन्नुपर्ने धारणा आइरहेको छ । जेनजी आन्दोलनअघि प्रदीप पौडेलले सम्हालेको स्वास्थ्य मन्त्रालय अब कसले पाउँछन् र को उपयुक्त पात्र हो भनेर चर्चा भइरहेको हो । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेर चर्चामा रहेका विज्ञहरूको नाम चर्चामा आएको छ । कुनै पनि दलमा आवद्ध नभएको, स्वास्थ्य क्षेत्रका बारेमा जानकार भएका नेपालीलाई स्वास्थ्यमन्त्री बनाउनुपर्ने जेनजीहरूको धारणासँगै सामाजिक सञ्जालमा विभिन्न व्यक्तिको नाम चर्चामा आउन थालेको छ । डा. सन्दुक रुइत स्वास्थ्यमन्त्रीमा नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको नाम चर्चामा छ । जेन जी आन्दोलनलाई खुला रूपमा समर्थन जनाउँदै आएका डा.रुइतको नाम स्वास्थ्य मन्त्रीको रुपमा सामाजिक सञ्जालमा चर्चामा आएको हो । उनले आन्दोलन भइरहेको बेला सामाजिक सञ्जाल मार्फत पटक–पटक जेनजीहरूलाई सम्बोधन गर्दै स्टाटस लेखिरहेका थिए । अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्त खोजिरहेको र अबको परिवर्तनबाट रचनात्मक र विकासशील देश बनाउने सोचबाट प्रेरित हुने अपेक्षा रहेको बताउँदै जेनजी आन्दोलनमा समर्थन जनाएका थिए । नेपालका मात्र नभई विश्वका विभिन्न देशका दृष्टिविहीनलाई संसार देखाउँदै आएका डा. रुइतले अहिले पनि दृष्टिविहीनलाई कसरी संसार देखाउने भन्ने कार्यमा व्यस्त छन् । तीलगङ्गा आँखा अस्पताल सञ्चालनमा ल्याएका उनले लाखौं नागरिकको अन्धकार चिर्दै उज्यालो ज्योती दिइरहेका छन् । नेपालका ग्रामीण क्षेत्रमा पुगेर हजारौं नेपालीलाई संसार दिन सफल डा. रुइतको नाम मन्त्रीका लागि यतिबेला सामाजिक सञ्जालमा चर्चा छ । मन्त्रीमा उनको चर्चा आएसँगै विकासन्युजले उनलाई जिज्ञासा राख्दा उनले अहिले आफ्नो ध्यान बिरामीको उपचारमा रहेको सुनाए । ‘यो विषयमा अहिले कुरा नगर्दा होला, अहिले पनि म बिरामीको अप्रेसन गरिरहेको छु, बाहिर तपाईंले जे चर्चा सुन्नुभयो त्यो मलाई थाहा छैन, मलाई कसैले प्रस्ताव पनि गरेको छैन ।’ डा. भोला रिजाल स्त्रीरोग विषेशज्ञ डा. भोला रिजालको नाम पनि स्वास्थ्य मन्त्री बन्न सक्ने चर्चामा छ । नेपालमा प्रजनन स्वास्थ्य परिवार नियोजन, सुरक्षित मातृत्व लगायतका विषयमा लामो समयदेखि काम गर्दै आएका डा. रिजाल हाल ह्याम्स अस्पतालमा कार्यरत छन् । डा. रिजाललाई प्रत्यक्षरूपमा नभए पनि अप्रत्यक्ष रुपमा मन्त्रीको लागि प्रस्ताव आएको बुझिएको छ । तपाईं स्वास्थ्यमन्त्रीका लागि तयार हुनुहुन्छ भन्ने हाम्रो जिज्ञासामा उनी भन्छन्, ‘देश अहिले संकटमा छ, यस्तो अवस्थामा हामी सबै मिलेर बनाउनुपर्छ ।’ यस्तै, उनले आफूलाई औपचारिक रुपमा प्रस्ताव नआएको बताए । ‘मलाई स्वास्थ्य मन्त्रीका लागि औपचारिक रूपमा प्रस्ताव आएको छैन । तर, बाहिर सबैले अब स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भनिरहनुभएको छ,’ डा. रिजाल भन्छन्, ‘यो जिम्मेवारी लिन देशले मलाई उचित ठान्यो भने म जिम्मेवारी लिन तयार छु, जहिले नेपालको स्वास्थ्य क्षेत्रको भलोका लागि लागिरहेको मान्छे हुँ, यो अवसर पाएँ भने पछाडि हट्दिनँ ।’ डा. पुकार श्रेष्ठ केही दिनभित्रै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकबाट अवकाश हुन लागेका डा. पुकार श्रेष्ठको नाम पनि स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १३ वर्षमा १ हजार पाँच सय बढी मृगौला प्रत्यारोपण र ३५ जना भन्दा बढीको कलेजो प्रत्यारोपण गर्न सफल डा. पुकारको नाम पनि सामाजिक सञ्जालमा मन्त्रीको रुपमा चर्चामा आएको छ । उनीसँग भने विकासन्युजको सम्पर्क हुन सकेन । डा. भगवान कोइराला मुटुरोग विशषेज्ञ डा. भगवान कोइरालाको नाम पनि स्वास्थ्यमन्त्री बन्न सक्ने चर्चामा छ । हजारौं व्यक्तिको मुटु जोगाएर जीवन दिएका कोइरालालाई बिरामीले साँच्चिकै भगवानको रूपमा हेर्छन् । जन्मेदेखि नै बच्चाको मुटुमा समस्या बढ्दै गइरहेको अवस्थामा बालबालिकाको मुटु जोगाउने अभियानमा लागेका डा. कोइराला मन्त्रीका नाममा आएको आफ्नो नामका विषयमा कुनै प्रतिक्रिया दिन उचित नभएको बताउँछन् । ‘अबको मन्त्री को बन्नेभन्दा पनि देश कसरी बनाउने भन्नेतिर सबैले चर्चा गर्न जरुरी छ,’ उनी भन्छन्, ‘म आफ्नो काममा व्यस्त छु, देशलाई स्वास्थ्य क्षेत्रमा सम्वृद्ध बनाउनु छ, कसरी बनाउन सकिन्छ भन्नेतिर प्रयत्न छु, अरू थाहा छैन ।’ डा. जगदीशप्रसाद अग्रवाल नेपालको चिकित्सा शिक्षाका विषयमा लामो समयदेखि काम गर्दै व्यक्ति हुन् प्रा.डा जगदीश अग्रवाल । न्युरोलोजिष्ट समेत रहेका प्रा. डा. अग्रवाल त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडिन हुन् । अब बन्ने स्वास्थ्यमन्त्रीको रूपमा उनको नाम पनि चर्चाका छ । मन्त्री बन्ने चर्चामा रहेका डा. अग्रवाल भने आफू मन्त्रीका लागि तयार नरहेको बताउँछन् । ‘नाम आउनु स्वाभाविक हो । तर म यसमा तयार छैन,’ उनी भन्छन्, ‘म चिकित्सा क्षेत्रको शिक्षालाई कसरी गुणस्तर बनाउने भन्नेमा छु, यहाँ शिक्षामा प्रश्न उठिरहेको छ यो क्षेत्रमा अझ धेरै काम गर्न जरुरी छ, मेरै क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष धेरै छन् म यसैमा व्यस्त छु ।’ उनी आफू मन्त्रीका लागि तयार नभए पनि आफ्नो तर्फबाट गर्नुपर्ने सबै कामका लागि तयार रहेको बताउँछन् । स्वास्थ्य मन्त्रीका लागि डा. गोविन्द केसी र डा.अर्जुन कार्की लगायतको नाम पनि अहिले चर्चामा छ । अनलाइन भोटिङमार्फत मन्त्री चयन जेनजीहरूले प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई समर्थन गरेजस्तै अब बन्ने मन्त्रीहरूलाई पनि सबैको समर्थनमा नियुक्त गर्नुपर्ने बताइरहेका छन् । यसमा सर्वसाधारणबाटै मन्त्रीको नाम माग्ने र उनीहरूको विज्ञता, पृष्ठभूमिको अध्ययन गरिनेछ । जेनजीहरूले कुनै पनि दलमा आवद्ध नभएको, देश बनाउने सपना भएको र विषय विज्ञता भएको व्यक्तिलाई मन्त्री बनाउनुपर्ने बताउँदै आएका छन् । उनीहरूले नागरिकले रोजेका नामहरूलाई अनलाइन भोटिङ गर्ने र जसले सबैभन्दा बढी मत पाउँछ, उसैलाई मन्त्रीको रुपमा स्वीकार्ने बताएका छन् । ‘सरकारी संयन्त्र बुझेको व्यक्ति स्वास्थ्य मन्त्री हुनुपर्छ’ विज्ञहरू कुनै पनि मन्त्री विषय विज्ञता भन्दा सरकारी संयन्त्र बुझेको हुनुपर्ने बताउँछन् । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी अब बन्ने स्वास्थ्यमन्त्री व्यवस्थापनमा राम्रो दख्खल भएको, नीति नियम र ऐन बुझेको हुनुपर्ने बताउँछन् । अहिले स्वास्थ्य मन्त्रालयमा समस्याका चाङ रहेको बताउँदै उनी यो समस्यालाई समाधान गर्नसक्ने गरी स्वास्थ्यका विषयमात्र नभई सरकारी संयन्त्रमा कसरी काम हुन्छ भन्ने बुझेको व्यक्ति मन्त्री बन्न आवश्यक रहेको बताउँछन् । ‘स्वास्थ्य मन्त्रालय समस्याका चाङले गिजोलिएको छ, यो क्षेत्रको नेतृत्व गर्नेले थुप्रै चुनौती खेप्नुपर्छ,’ डा. मरासिनी भन्छन्, ‘मन्त्रालय जलेर खरानी बाँकी छ, मन्त्रालय बनाउनुपर्ने छ, स्वास्थ्यका थुप्रै फाइलहरू थन्किएर बसेका छन्, ती फाइल अगाडि बढाउनु छ, यस्ता थुप्रै काम अबको स्वास्थ्यमन्त्रीले गर्नुर्ने हुँदा यी विषय बुझ्न सकेको व्यक्ति भए छिटो र सजिलो हुन सक्छ ।’ डा. मरासिनी अब बन्ने स्वास्थ्यमन्त्री यी समस्या समाधान गर्नसक्ने हुनुपर्ने सुझाव दिन्छन् । ‘अगाडिका मन्त्रीले सचिवले मन पर्ने काम हो भने गरेका छन्, मन नपरेका काम अहिले पनि थुपारी राखेका छन्, गर्नुपर्ने धेरै काम भएकाले मन्त्रालय अहिले अप्ठ्यारो अवस्थामा छ,’ उनले भने । नेपाली स्वास्थ्य क्षेत्रलाई मलेरिया, कालाजार हात्तीपाइले जस्ता रोगहरू निर्मूल गर्नुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतिर स्वास्थ्य क्षेत्रमा घटिरहेको वैदेशिक सहायतालाई बढाउनु पर्ने चुनौती रहेको विज्ञहरू बताउँछन् । नेपालले सन् २०३० सम्म गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्नुपर्ने थुप्रै जिम्मा पनि स्वास्थ्य मन्त्रालयलाई छ भने संयुक्त राष्ट्रसंघले घोषणा गरेका, डब्लूएचओले भनेका थुप्रै काम समयमै गरिसक्नुपर्ने ठूलो जिम्मेवारी छ । डा. मरासिनी यस्ता काम समयमै गर्न नसके अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश जानुका साथै थप अन्तर्राष्ट्रिय स्तरबाट पाउने स्रोत झन घट्न सक्ने बताउँछन् । स्वास्थ्य बीमाका विषयमा पनि थुप्रै काम गर्न बाँकी रहेकाले बीमा, वैदेशिक सहायता र अन्तर्राष्ट्रिय मञ्चमा गरेका बाचा पूरा गर्ने व्यक्ति अबको स्वास्थ्यमन्त्री बन्नुपर्ने विज्ञहरूको सल्लाह छ । नेपालमा स्वास्थ्य क्षेत्रमा राम्रो ज्ञान नभएको व्यक्ति नै मन्त्री हुँदा समस्या हुने गरेको छ । ‘हाम्रा मन्त्रीहरूले सरकारी संयन्त्र बुझेनन्, सरकारमा कसरी काम हुन्छ भन्ने बुझ्न नै समय लाग्छ, जब बुझेर काम सुरु गर्न खोज्छन्, बुझिसक्दासम्म बाहिरनुपर्ने बेला भइसक्छ,’ डा. मरासिनीले भने ।
एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?
गण्डकी । पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेङ्गी र ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु)को सङ्क्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार गत पुसयता प्रदेशका ११ वटै जिल्लामा गरी नौ सय ६४ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । सबैभन्दा बढी कास्कीमा ५०३ र सबैभन्दा कम मुस्ताङ र मनाङमा एक/एक जनामा उक्त रोग देखिएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गत सातादेखि सापुको सङ्क्रमण देखिन सुरु गरेको छ । पोखरास्थित हिमालय आँखा अस्पतालमा सूचना अधिकारी कुमार गर्बुजाका अनुसार बागलुङको ढोरपाटन नगरपालिकाका दुई, कास्कीको रुपा र माछापुच्छ्रे गाउँपालिकाका एक/एक र लमजुङका एक गरी हालसम्म पाँच जना बिरामी अस्पताल भर्ना भई उपचार सेवा लिएका छन् । दुई जना निको भएर घर फर्केका जनाउँदै उनले तीन जना उपचारकै क्रममा रहेका बताए । आगामी कात्तिक/मङ्सिरसम्म डेङ्गी र सापुको सङ्क्रमण फैलने जोखिम उच्च रहने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । दुवै रोगको सङ्क्रमण वर्षायामपछि बढी देखिने गरेको छ । हिमालय आँखा अस्पतालका मेडिकल निर्देशक डा बबिता गुरुङले सेतो पुतलीको संसर्गबाट लाग्ने सापुका कारण आँखाको दृष्टि गुम्नसक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताए । 'यो रोग लागेको ४८ घण्टादेखि ७२ घण्टासम्म उपचार नभएमा आँखाको दृष्टि नै गुम्न सक्छ', उनले भने । अस्पताल भर्ना भएकामध्ये आँखामा गम्भीर असर पुगेका तीन जनाको शल्यक्रिया गरिएको डा गुरुङले जानकारी दिए । उनका अनुसार हालसम्म सापू रोग लाग्नुको मुख्य कारण सेतो पुतलीलाई मानिएको छ । अन्य जीवाणु र विषाणुका कारणले पनि यसको सङ्क्रमण हुने गरेको पाइएको उनको भनाइ छ । अस्पतालले सापुबाट जोगिन सेतो पुतलीको संसर्गबाट टाढै रहन, धेरै उज्यालो सेता बत्ती नबाल्न, साँझ र रातिमा घरको झ्यालढोका बन्द गर्न, बत्ती निभाएर झुलभित्र मात्र सुत्न, साँझपख बालबालिकालाई घर बाहिर जान नदिन सर्वसाधारणमा आग्रह गरेको छ । सापुको सङ्क्रमण भएमा एक्कासी एउटा आँखा मात्र रातो हुनु, चिप्रा लाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखामा सामान्य दुखाइ हुनु, आँखाको नानी सेतो हुँदै जानु, दृष्टि कमजोर हुनुलगायत लक्षण देखिने डा गुरुङले बताए । 'समयमै उपचार भएमा यो रोग पूर्ण रूपमा निको हुन्छ, शङ्कास्पद लक्षण देखिएमा तुरुन्त अस्पताल गई जाँच र उपचार सुरु गर्नुपर्छ', उनले भने, 'उपचार ढिलो भएमा दृष्टि गुम्ने, आँखा सुक्ने खतरा हुन्छ ।' असोजदेखि मङ्सिरसम्म सापूको सङ्क्रमण बढी देखिने गरेको डा गुरुङले जानकारी दिए । पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा सापु रोग भेटिएको थियो । नेत्ररोग विशेषज्ञ डा मदन उपाध्यायले यो रोग पत्ता लगाएका थिए । नेपालको मध्यपहाडी क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको छ । 'दुई वर्षको अन्तरमा यो रोगको सङ्क्रमण देखिन्छ, सन् २०२३ पछि अहिले आएर बिरामी भेटिएका हुन्', डा गुरुङले भने, 'सन् २०२१ मा पनि धेरै जनामा यो रोग देखिएको थियो ।' सापू लाग्नुको यकीन कारण अझै पत्ता नलागेको उल्लेख गर्दै उनले बिरामीको रगतबाट वंशाणुगत अध्ययन गर्ने तयारी भइरहेको जानकारी दिए । अहिलेसम्मको अध्ययनले बत्तीमा झुम्मिने कालो धर्सा भएको सेतो पुतलीको रौँ र झुस आँखामा पुग्दा सापुको सङ्क्रमण हुने गरेको पत्ता लगेको उनको भनाइ छ । जटिल अवस्थाका बिरामीलाई आँखाभित्र औषधिको सुइँ लगाएर शल्यक्रियामार्फत उपचार गर्ने गरिएको उनले बताए । सापूको सङ्क्रमण समुदायमा फैलन नदिन स्वास्थ्यमा सजगता अपनाउनुपर्नेमा डा गुरुङले जोड दिए । सापुका बिरामीको हिमालय आँखा अस्पतालले निःशुल्क जाँच तथा उपचार गर्दै आएको छ । शल्यक्रियासहितका सबै सेवा निःशुल्क भइरहेको अस्पतालले जनाएको छ । पछिल्लो समय सापुसँगै डेङ्गीको सङ्क्रमणको पनि उच्च जोखिम रहेको धवलागिरि अस्पतालका चिकित्सक प्रभात सिंहले बताए । वर्षा रोकिएपछि घमाइला दिनमा यी रोगको सङ्क्रमण छिटो फैलने हुनाले सर्तकता अपनाउनुपर्नेमा उनले जोड दिए । लामखुट्टको टोकाइबाट बच्नु डेङ्गी सङ्क्रमणबाट जोगिने उत्तम उपाय भएको उनको भनाइ छ । डेङ्गीबाट बच्न घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थान भेटिएमा नष्ट गर्नुपर्ने चिकित्सक सिंहले सुझाव दिए । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान लाग्नेलगायत लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनले बताए । अधिकांश डेङ्गीका बिरामी सामान्य उपचार र हेरचाहपछि निको हुने गरे पनि कतिपयमा भने यसले जटिलता ल्याउने गरेको चिकित्सक सिंहले उल्लेख गरे । डेङ्गीबाट ज्यान जोखिममासमेत पर्नसक्ने भएकाले सामान्य रोग हो भन्ने लापरबाही नर्गन उनले सर्वसाधारणलाई आग्रह गरे । डेङ्गी हुँदा शरीरलाई प्रशस्त झोलिलो पदार्थ र आरामको जरुरी हुने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । डेङ्गी सङ्क्रमणका बेला आफूखुसी औषधि सेवन गर्न नहुने उनको भनाइ छ । जनस्वास्थ्य निरीक्षक रेग्मीका अनुसार ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्दछ । 'चार प्रकारका भाइरसबाट मानिसमा डेङ्गी हुन्छ । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गर्दछ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने हुँदा दिउँसोको समयमा बढी सावधानी अपनाउनुपर्छ', उनले भने । गत वर्षको तुलनामा यो वर्ष सङ्क्रमण दर कम देखिएपनि जोखिम भने अझै कायम रहेको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । पोखरा गत वर्ष डेङ्गीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो । रासस
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, 'सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।' भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।