४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं । सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन २०५० सम्म क्षयरोग मुक्त देश बनाउने लक्ष्य नेपालको छ । यो लक्ष्यका साथ सरकारले देशभरि क्षयरोगी पत्ता लगाउने र उपचार गर्ने काम गरिरहेको पनि धेरै वर्ष भइसकेको छ । तर, नेपाललाई दुवै लक्ष्य पुरा गर्न अहिलेको तथ्यांकले चुनौती देखाएको छ ।  ४२ प्रतिशत बिरामी अहिले पनि उपचार बाहिर रहेकाले चुनौती थपिएको छ भने अहिले पनि नेपालमा वार्षिक ६७ हजार नयाँ बिरामीहरू फेला पर्ने गरेका छन् । नेपालमा क्षयरोग अझै जनस्वास्थ्यको समस्याको रुपमा रहेकाले लक्ष्य पुरा गर्न चुनौती देखिएको विज्ञहरू बताउँछन् ।  राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा वर्षमा करिब ६९ हजार नागरिक क्षयरोगबाट प्रभावित हुने गरेका छन् भने करिब १७ हजारको यही रोगका कारण मृत्यु हुने गरेको छ । अहिले पनि दैनिक ४४ जनाको मृत्यु यही रोगका कारण हुने भएकाले चुनौती थपिएको केन्द्रले देखाएको छ ।  केन्द्रका निर्देशक डा. भुवन पौडेलले यसको न्यूनीकरणका लागि राज्यका तर्फबाट विभिन्न प्रयास भइरहेको बताए ।  गत आर्थिक वर्ष २०८१/०८२ मा ३९ हजार १ सय ५१ जना क्षयरोगी पत्ता लगाइ उपचारका लागि ल्याइएको थियो । जसमा ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत बालबालिका थिए ।  सरकारले देशभर  निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गरेको छ । हाल देशका ६ हजार २ सय ४१ वटा स्वास्थ्य संस्थाबाट क्षयरोगको सेवा उपलब्ध छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार ७ सय ८५ संस्थामा माइक्रोस्कोप सेवा, १ सय ४२ वटा संस्थामा द्रुत परीक्षण सेवा नि:शुल्क रूपमा सञ्चालन गरिएको छ भने औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेको छ । यस्तै, १ सय ४९ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान विस्तार भएको छ ।  फोक्सोका बिरामी धेरै  नेपालमा तीन प्रकारका क्षयरोगी भेटिएका छन् । जसमध्ये सबैभन्दा बढी फोक्सो सम्बन्धी क्षयरोग रहेको छ । फोक्सो सम्बन्धी क्षयरोग देखिएको क्षयरोगमा ज्वरो आउने, खोकी लाग्ने, खोकीबाट रगत आउने, तौल घट्ने लक्षण देखिन्छ भने यसले फोक्सोलाई असर गर्छ ।  फोक्सोभन्दा बाहेक शरीरका अन्य ग्रन्थी, पेट, हड्डी, मस्तिष्कमा पनि क्षयरोग देखिन्छ भने अर्को औषधि प्रतिरोधी क्षयरोग पनि नेपालीमा देखिएको छ । जुन जटिल प्रकारको मानिन्छ । यसमा अन्य क्षयरोग भएका व्यक्तिले खाने औषधिले काम गर्दैन र त्यसको लागि उपचार महँगो र लामो समय लाग्ने हुन्छ ।  क्षयरोग नियन्त्रणका लागि सरकारले प्रयास गरेपनि नागरिक सम्पर्कमा नआइदिँदा समस्या भएको छ । वर्षेनी करिब ६७ हजार नागरिक क्षयरोगबाट प्रभावित भएपनि धेरै बिरामी सम्पर्कमा नआइदिँदा पनि नियन्त्रणमा समस्या भएको विज्ञहरू बताउँछन्।

एनआईसी एशियाका ग्राहकलाई स्तुपा हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच ग्राहक तथा सेयरधनीलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने विषयमा समझदारी भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट काठमाडौं नर्थ सर्कल हेड सुदिन कुमार लामा तथा हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यस्तै, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य सेयरधनीहरूले बैंकको क्रेडिट कार्डमार्फत उपलब्ध सेवा सुविधाहरू उपयोग गर्न सक्नेछन् । ग्राहकहरूको सहजताका लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा बैंकको एटीएम सेवा सञ्चालन गर्ने सहमति समेत भएको छ । ग्राहकलाई परिष्कृत तथा सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिएको यस सहकार्यबाट बैंकका ग्राहक तथा सहकारी संस्थासँग आबद्ध कर्मचारी र सेयरधनीहरूलाई थप सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको जनाएको छ ।  

विश्व क्षयरोग दिवस आज, ३ हप्ताभन्दा बढी खोकी लागे परीक्षण गराउन आग्रह

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ मंगलबार विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।       सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी दिवसलाई भव्यताका साथ मनाउन लागिएको हो । यस वर्षका लागि तय भएको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई उजागर गर्न खोजिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।       नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने लक्ष्यका साथ यस दिवसलाई भव्यताका साथ मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ ।      विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । देशभरका छ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ ।      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार औषधि प्रतिरोधी उपचारका लागि ३१ वटा केन्द्र र ९८ वटा उपकेन्द्र सञ्चालनमा छन् । त्यस्तै, १४९ स्थानीय तहमा क्षयरोगमुक्त नेपाल अभियान विस्तार गरी सक्रिय बनाइएको छ । क्षयरोग प्राचीन कालदेखि मानव समुदायमा विभिन्न रोग र सङ्क्रमणका रूपमा लिने गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक बर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिन्छन् ।      तीन हप्ता वा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो वा छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, बढी पसिना आउने र थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्यचौकी गएर परिक्षण गराउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ । शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो रोगको सङ्क्रमण सहजै हुन सक्दछ ।       जानकारहरूका अनुसार कमजोर रोगप्रतिरोध क्षमता भएका तथा धुमपान, मध्यपान वा लागुऔषध सेवन गर्नेमा यो रोगको सक्रमण हुन सक्छ । त्यस्तै, क्षयरोगको औषधिको मात्रा पूर्ण सेवन नगरेमा पनि सङ्क्रमण पुनः देखिन सक्छ ।       औषधिको नियमित सेवनले क्षयरोग निको हुन्छ । यो रोग लाग्नुभन्दा लाग्न नदिन विशेष सचेतना अपनाउनुपर्छ । उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी क्षयरोग नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी भव्यताका साथ दिवस मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ । रासस