‘हप्तामा एक दिन बिदा देऊ’ भन्दै प्रशिक्षार्थी चिकित्सक सडकमा

काठमाडौं । श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरू आन्दोलित भएका छन् । शनिबार उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै हप्तामा कम्तीमा एक दिन बिदा र दैनिक अधिकतम १२ घण्टासम्म मात्र काम गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।

प्रदर्शनमा सहभागी चिकित्सकहरूले हाल आफूहरू अत्यधिक श्रम शोषणमा परेको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण तत्काल अन्त्य गर्नुपर्ने माग अघि सारेका छन् ।

प्रदर्शनका क्रममा एमबिबिएस उत्तीर्ण चिकित्सक डा. प्रज्ञान बस्नेतले नेपालमा एमबिबिएस पास गरेपछि अनिवार्य रूपमा एक वर्ष इन्टर्नसिप गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै त्यसपछि मात्रै एमडी अध्ययनको अवसर पाइने बताए । तर आफूजस्ता धेरै चिकित्सकहरूले उत्कृष्ट नतिजा ल्याए पनि उच्च शिक्षामा रहेको असमानता र श्रम शोषणका कारण एमडी अध्ययन गर्न नपाएको उनको गुनासो थियो ।

उनले चिकित्सकहरूलाई लगातार ३६ घण्टासम्म काम गर्न बाध्य बनाइएको भन्दै गम्भीर आपत्ति जनाए । 'हामी बिहान ७ बजे काममा गयौँ भने भोलिपल्ट साँझ ७ बजेसम्म ड्युटिमा बस्नुपर्छ, जुन कुरा सामान्य नागरिकले कल्पना गर्न पनि सक्दैनन्,' उनले भने ।

डा. बस्नेतका अनुसार देशमा अहिले दुई दिन बिदा दिने प्रचलन भए पनि प्रशिक्षार्थी चिकित्सकहरूले हप्तामा एक दिन पनि बिदा नपाउने अवस्था रहेको छ । 'हामी वर्षका ३६५ दिन नै निरन्तर खटिन बाध्य छौँ, जुन मानव अधिकारकै उल्लंघन हो,' उनले थपे ।

उनले केही निजी शिक्षण अस्पताल र ‘मेडिकल माफिया’ का कारण चिकित्सकहरूको श्रम शोषण भइरहेको आरोप लगाए । उनका अनुसार अस्पतालहरूको आम्दानी बढाउने उद्देश्यले मेधावी युवा चिकित्सकहरूलाई अत्यधिक काममा लगाउने गरिएको छ ।

राजनीतिक परिवर्तन भए पनि स्वास्थ्य क्षेत्रका समस्यामा सुधार नआएकोप्रति पनि उनले असन्तुष्टि जनाए । 'देशमा सरकार बदलिँदै गएका छन्, तर हाम्रो समस्या ज्यूँका त्यूँ छ,' उनले भने, 'हाम्रो माग सामान्य छ, दैनिक १२ घण्टाभन्दा बढी काम नगराइयोस् र हप्तामा कम्तीमा एक दिन बिदा दिइयोस् ।'

प्रदर्शनका क्रममा चिकित्सकहरूले विभिन्न नारासहित प्लेकार्ड बोकेका थिए । ती प्लेकार्डहरूमा ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘स्वास्थ्यकर्मीको चमेली बोलिदिने कोही छैन’, ‘डाक्टरको ३६ घण्टे ड्युटि खारेज गर’, ‘प्रशिक्षार्थी चिकित्सकलाई श्रम ऐन लागू गर’, ‘सुत्केरीको उपचार गर्ने महिला डाक्टरलाई खोई सुत्केरी बिदा ?’, ‘रातभर नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ’ जस्ता सन्देश लेखिएका थिए ।

चिकित्सकहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरूले श्रम ऐनको प्रभावकारी कार्यान्वयनमार्फत स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन् ।

Share News