शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न  ‘एआई ’को प्रयोग

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क क्षयरोगी खोजपडताल गरिएको छ ।  आधुनिक प्रविधिको प्रयोगबाट समुदायमा लुकेर बसेका क्षयरोगीको पहिचान गर्दै समयमै उपचारमा ल्याउने उद्देश्यले उच्च जोखिममा रहेका वडा नं १, ५ र ८ मा शिविर सञ्चालन गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार वडा नं ८ को पिताम्बर स्वास्थ्यचौकी, वडा नं ५ को आधारभूत स्वास्थ्य केन्द्र वन समिति र वडा नं १ को सहरी स्वास्थ्य केन्द्र बन्साहमा शिविर सञ्चालन गरिएको छ । चिकित्सकसहितको टोलीले एआई प्रविधियुक्त पोर्टेबल एक्सरे मेसिन प्रयोग गरेर क्षयरोगीको खोजपडताल गरेको उनले बताए । शिविरमार्फत कूल ६८८ जनाको क्षयरोग परीक्षण गरिएको छ । परीक्षणका क्रममा शङ्कास्पद देखिएका ४२ जनालाई थप परीक्षणका लागि ‘जिन एक्सपर्ट’ परीक्षण गर्न महाकाली प्रादेशिक अस्पतालमा प्रेषण गरिएको छ । शाखा प्रमुख भट्टका अनुसार एआई प्रविधिमार्फत एक्स–रे विश्लेषण गर्दा सामान्य एक्स–रेमा सहजै नदेखिने सूक्ष्म जीवाणुसमेत तत्काल पहिचान गर्न सकिन्छ । 'डिजिटल कम्प्युटर प्रणालीले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोगी छुट्याउँछ', उनले भने, 'यसले खकार परीक्षण गर्नुअघि नै जोखिममा रहेका बिरामी पहिचान गर्न सहयोग पुर्याउँछ ।' उनका अनुसार प्रविधिमैत्री शिविरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ । शिविर सञ्चालनका लागि चिकित्सकसहित एआई पोर्टेबल एक्स–रे मेसिन महाकाली प्रादेशिक अस्पतालबाट उपलब्ध गराइएको हो । नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग समस्या अन्त्य गर्ने तथा सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको छ । सो लक्ष्य हासिल गर्न एआई प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको स्वास्थ्य अधिकृत पदम महराले बताए । 'विशेषगरी छातीको एक्स–रे विश्लेषणमार्फत कम समयमै क्षयरोगी पहिचान गर्न एआई प्रविधि उपयोगी देखिएको छ', उनले भने, 'पोर्टेबल एक्स–रे मेसिन र एआई सफ्टवेयर प्रयोग गरेर दुर्गम गाउँमा समेत शिविर सञ्चालन गर्न सकिन्छ, त्यसैले यो सेवालाई नगरपालिकाका १२ वटै वडामा विस्तार गर्ने लक्ष्य राखेका छौँ ।' उनका अनुसार एआईले केही मिनेटमै एक्स–रे विश्लेषण गरेर शङ्कास्पद बिरामी पहिचान गर्न सक्छ । यसले स्वास्थ्यकर्मीको कार्यबोझ कम गर्नुका साथै समयमै परीक्षण र उपचार प्रक्रिया अघि बढाउन मद्दत पुर्याइरहेको छ । उनका अनुसार एआई प्रविधिको प्रयोगले क्षयरोगको शीघ्र पहिचान, उपचार तथा रोगको फैलावट नियन्त्रणमा महत्वपूर्ण सहयोग पुगेको छ । विशेषगरी विशेषज्ञ चिकित्सकको पहुँच कम रहेका दुर्गम क्षेत्रमा यस्तो प्रविधि प्रभावकारी रहेको छ ।   

जनशक्ति, औषधी र उपकरणसहितको ‘एकीकृत मोडेल’ लागू हुने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्नेदेखि लिएर दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम अघि सारिएका हुन् । नीति तथा कार्यक्रममा  देशभरि आधारभूत स्वास्थ्य सेवामा ‘न्यूनतम मापदण्ड’ लागू गर्दै आवश्यक जनशक्ति, औषधी, उपकरण र पूर्वाधारसहितको एकीकृत सेवा मोडेल कार्यान्वयन गरिने, स्वास्थ्य सेवालाई लागत–प्रभावकारी र नागरिकमैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिने उल्लेख छ । विशिष्टीकृत र प्रविधिमैत्री स्वास्थ्य सेवा दुर्गम क्षेत्रका नागरिकका लागि टेलिहेल्थ प्लेटफर्ममार्फत विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइनेछ । देशभरका आधारभूत स्वास्थ्य सेवामा ‘न्यूनतम मापदण्ड’ लागू गर्दै जनशक्ति, औषधी र उपकरणसहितको एकीकृत सेवा मोडेल कार्यान्वयनमा ल्याइनेछ । अत्याधुनिक अपाङ्गता पुनःस्थापना केन्द्रहरूको स्थापना गरी फिजियोथेरापी र प्रोस्थेटिक्स जस्ता सेवाहरू प्रदान गरिनेछ । बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि विशेष सहायक प्रविधि कार्यक्रम सञ्चालन गरिनेछ । नयाँ निकायहरूको स्थापना र सुदृढीकरण स्वास्थ्य क्षेत्रको गुणस्तर र अनुसन्धानलाई व्यवस्थित गर्न सरकारले रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण र जैविक अध्ययन, सार्वजनिक स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रणका लागि राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला बनाउने भएको छ ।   रोकथाम र मानसिक स्वास्थ्यमा जोड क्यान्सर लगायतका नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम, जनचेतना र नियमित परीक्षणमा आधारित रणनीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ । मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्ग बनाउँदै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ । त्यस्तै, योग, ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरूको प्रवर्द्धन गरिनेछ । जनशक्ति र स्वदेशी उत्पादन सरकारले सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवकको क्षमता र संख्या विस्तार गर्ने योजना अघि सारेको छ । साथै नेपाल औषधी लिमिटेडको स्तरोन्नति गर्दै स्वदेशी औषधी उत्पादनलाई प्रोत्साहन दिने र आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा संस्थागत गर्ने नीति लिइएको छ ।

धरानको वीपी प्रतिष्ठानमा जेठ ८ बाट साताको दुई दिन विदा हुने

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सातामा दुई दिन विदा लागू गर्ने भएको छ । सोमबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना जारी गरेर शनिबार र आइतबार दिने व्यवस्था लागू गरेको हो ।  प्रतिष्ठानले शुक्रबार भने पूरा दिन बिरामीलाई सेवा दिने जनाइएको छ ।  यसअघि शुक्रबार आधा दिन मात्र अस्पतालले सेवा सुचारु हुने गरेको थियो । नेपाल सरकारले चैत्र २२ गते राजपत्रमा प्रकाशित बमोजिम प्रत्येक साताको शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागु गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी परिपत्रको आधारमा प्रतिष्ठानले जेठ ८ गते देखि लागु हुने गरी हरेक साताको शनिबार र आइतबार (साताको दुई दिन) अस्पताल तर्फको अन्तरङ्ग सेवा र आकस्मिक सेवा बाहेक बहिरङ्ग सेवा, प्रशासनिक र शैक्षिक कार्यालयहरु बन्द रहने वीपी प्रतिष्ठानले देखाएको छ ।