तीन दिनमा ९०० नयाँ डेङ्गु सङ्क्रमित थपिए

काठमाडौं । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको हो । तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेङ्गुका सङ्क्रमित छन । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा बीस हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा आठ सय ९६ र कर्णाली प्रदेशमा छ सय ७६ जना सङ्क्रमित भइसकेका छन् । यस्तै डेङ्गुबाट धेरै सङ्क्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार सात सय ८७, ललितपुरमा नौ हजार पाँच सय २२, भक्तपुरमा पाँच हजार चार सय ८९, मकवानपुरमा पाँच हजार तीन सय ४७, चितवनमा दुई छ सय २७, दाङमा दुई हजार तीन सय ८८, धादिङमा एक हजार चार सय ११ र रुपन्देहीमा एक हजार एक सय ९५ सङ्क्रमित छन् ।

कार्तिक २८ गते मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै अल्का अस्पताल 

काठमाडौं । कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अल्का अस्पतालले गत वर्ष झैँ यस वर्ष पनि वृहत मधुमेह रोग सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्वास्थ्य शिविरबाट अस्पतालले २०० जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । अस्पतालले शिविर सञ्चालनको दिन मधुमेह सम्बन्धी आवश्यक औषधि वितरण १० दिन सम्मको लागि निःशुल्क गर्ने अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए । उनले शिविरमा निःशुल्क एचबीएवानसी, पीपी फास्टिङ र ¥यान्डम ब्लड सुगर परीक्षण हुने जानकारी दिए । उह उनका अनुसार शिविरमा सहभागी हुन अग्रिम नाम दर्ता गर्नुपर्ने छ । नाम दर्ता गर्न कार्तिक २४ गतेदेखि २७ गतेसम्म बिहान ७ बजेदेखि ५ बजेसम्म अल्का अस्पतालमा फोन गर्नुपर्ने छ । अस्पतालले शिविरमा मधुमेह रोगका बिरामीहरु मात्रै सहभागी हुन पनि आग्रह गरेको छ ।

नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर : शल्यक्रिया सेवा

काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय त्रिविवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भने, ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिना अगाडिदेखि नै सुरु गरिसकेका छौँ । पाँच सय १२ ‘स्लाइस’को कार्डियो सिटीस्क्यान सेवाका लागि उपकरण जडान भइसकेको छ । सेवा छिट्टै सुरु हुन्छ ।’ के हो त थिएटर ? उनका अनुसार मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एकसाथ गर्नसक्ने अत्याधुनिक उपकरणलाई ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’ भन्ने गरिन्छ । छाती नखोलीकन सुइका माध्यमबाट मुटुको उपचार गरिने पछिल्लो प्रविधि नै ‘क्याथल्याव’ हो । प्रा डा श्रेष्ठले भने, ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा पाइसकेका छन् । भारतमा यो सेवा लिन भारु १० देखि १५ लाखसम्म पर्दछ । हामीले त्यति नै नेपाली पैसामा स्वदेशमा नै यो सेवा प्रदान गरेका छौँ । हाम्रो ध्येय मुटुका बिरामी भारतमा उपचारार्थ जान नपरोस् भन्ने हो ।’ यस्तो छ कार्डियो सिटीस्क्यानको सेवा सेन्टरले भित्र्याएको पछिल्लो अत्याधुनिक कार्डियो सिटीस्क्यानले एक धड्कनमा चार सिटीस्क्यान गर्न मिल्ने जनाइएको छ । मुटुको रक्तनलीको सिटीस्क्यान गर्ने काम अत्यन्त जटिल मानिन्छ । नेपलामा पाँच सय १२ स्लाइसको कार्डियो सिटीस्क्यान सेवा सहिद गङ्गालाल हृदय रोग उपचार केन्द्र बाँसबारीमा मात्र रहेको जनाइएको छ । प्रा डा श्रेष्ठले भने, ‘मुटुको उपचार सेवा सस्तो, सुलभ र गुणस्तरीयरुपमा स्वदेशभित्र उपलब्ध गराउन उच्च प्राथमिकताका साथ अनवतररुपमा लागिरहेका छौँ ।’ मुटु, फोक्सो र रक्तनली उपचारमा अब्बल सेन्टरले बिरामीले चाहेकै समयमा कार्डियो सिटीस्क्यान सेवा तत्काल उपलब्ध गराउने नीतिसमेत तय गरेको छ । यसका लागि उपकरणको प्रयोगका बारेमा आफ्ना प्राविधिक जनशक्तिलाई विशेष तालिम दिने उनले बताए । सेन्टरले गत वर्ष ७५ हजार बहिरङ्ग, एक हजार सातसय क्याथल्याब सहित मुटु, फोक्सो र रक्तनलीको दुई हजार ५०० सेवा प्रदान गरेको थियो ।