सकारात्मक विचारले तनावमुक्त जीवन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारीका जयबहादुर ऐर निरोगी, हसिलो, फुर्तिलो देखिन्छन् । तनावमुक्त जीवनशैली अपनाउँदा उहाँको जीवनमा परिवर्तन आएको हो । दैनिक बिहानको नित्यकर्म सकेर उनले योगा गर्छन् । तनाव सिर्जना गर्ने कार्यबाट टाढा बस्नु हुन्छ । निरोगी हुनुको रहस्य खोतल्दै उनले भने, ‘शरीरलाई निरोगी राख्नका लागि सन्तुलित भोजनको सेवन गर्नु आवश्यक छ, तनावबाट मुक्त हुनका लागि सकारात्क सोच अपनाउनुपर्छ ।’ यिनै कुरालाई जीवनमा लागू गर्दा निरोगी हुन सकेको उनी निर्धक्कसँग बताउँछन् । उनी भन्छन्, ‘तनावबाट बच्नका लागि जीवनशैली परिवर्तन गर्न आवश्यक छ, तनावको मुख्य कारण आधुनिक जीवनशैली अपनाउनु पनि हो, तनावको मुख्य कारण नै मनमा आउने नकारात्मक सोच जिम्मेवार रहेको छ ।’ योग साधनामा लामो समयदेखि लाग्दै आएका यज्ञराज जोशी नकारात्मक विचारबाट आपसी व्यवहारमा कटुता आउने, क्रोध बढ्ने, वैरभावको विकास हुने, एक अर्काप्रति घृणाको भावना पैदा हुने गरेको बताउँछन् । ‘नकारात्मक विचारबाट दृष्टिकोण र व्यवहार नकारात्मक बन्दछ’, उनले भने, ‘जसले गर्दा मनमा तनाव पैदा हुन्छ, तनावका कारणले मानसिक र शारीरिक बिरामी हुने सम्भावना बढेर जान्छ ।’ योग साधना र ध्यानले मनोबललाई मजबुत गरी तनावबाट मुक्ति पाउन सकिने उनले बताए । ‘योग र ध्यानले मनमा एकाग्रता बढ्न गई सकारात्मक विचार चल्न सुरु हुन्छ, यसका लागि सात्विक भोजन, राम्रो सङ्गत र सकारात्मक चिन्तन हुनु जरुरी छ’, उनले भने । मनमा चल्ने नकारात्मक विचारले क्रोध बढ्न गई झैँ–झगडा हुने, तनाव सिर्जना हुने, अनिन्द्रा हुनेलगायतका समस्या देखापर्ने गरेको उनले उल्लेख गरे । ‘मनमा तनाव भएमा लागुऔषधको अम्मलीको सिकार हुने गरेको कुरा समाजमा देखेका र सुनेका छौँ’, उनले भने, ‘जसका कारण धनसम्पत्ति गुमाउने सँगै जीवन बर्वाद हुने गरेको छ, परिवारलाई समेत यस कार्यले तनावमा पार्ने गरेको छ ।’ ‘तनावका कारण परिवारलाई असल मार्गमा डो¥याउन नसक्दा घरका युवा लागुऔषधको दुव्र्यसनी बनेका छन्, जेल जीवन बिताउन बाध्यछन्’, उनले भने, ‘असल समाज निर्माण गर्नका लागि ध्यान, एकाग्रता, योग, नैतिक शिक्षाको आवश्यकता छ ।’ भारतको राजिस्थान प्रान्तको मान्ट आबुस्थित प्रजापति ब्रह्मकुमारी विश्वविद्यालयबाट प्रवचन दिनका लागि शुक्लाफाँटा नगरपालिकाको झलारी आइपुगेका भगवान् भाइले मनमा चल्ने नकारात्मक विचार, शङ्का, इष्या, घृणा, अभिमानका कारण मानवमा क्रोध आउने बताए । ‘क्रोधका कारण आपसी मनमुटाव, सम्बन्धमा चिसोपन, मानसिक र शारीरिक समस्या हुने गर्दछ’, उनले भने, ‘सकारात्क चिन्तन नै क्रोधमुक्त बनाउने सञ्जीवनी बुटीका रुपमा रहेको छ, आध्यात्मिक ज्ञानले आपसी भाइचारा, स्नेहको विकास गरी खराब कार्य पनि राम्रो देख्ने हुन जान्छ, जसबाट क्रोध मुक्त हुन सकिन्छ ।’ उनी भन्छन्, ‘क्रोध मुर्खताबाट प्रारम्भ भएपश्चात् सकिन्छ, त्यसलाई मनलाई एकाग्र बनाई ध्यान गर्नु जरुरी छ, यसले आत्मबललाई मजबुत बनाउँछ ।’ रासस
‘औषधि, खानपान र व्यायामको सन्तुलनले मधुमेह नियन्त्रणमा आउनसक्छ ’
चितवन । मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन् । स्वस्थ खानपान र नियमित व्यायामले मधुमेह रोगबाट बच्न सकिने जनाउँदै उनीहरुले मधुमेह भइसकेपछि पनि औषधि, खानपान र व्यायामको सन्तुलन मिलाएर सहज जीवनयापन गर्न सकिने सुझाव दिए । चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट हर्मनरोग विशेषज्ञ डा सौरव खतिवडाले मधुमेह वयस्क मानिसलाई मात्रै नभएर युवालाई पनि लाग्ने जनाउँदै जीवनशैली परिवर्तन गरेर सहज जीवनयापन गर्नुपर्छ भने । औषधि, खानपान र व्यायामले मधुमेहलाई नियन्त्रणमा राख्न सकिने उनले सुझाव दिए । ‘गर्भावस्था, शल्यक्रियाको समय र अन्य औषधिका कारणले हुने मधुमेह पछि निको भएर जाने भए पनि यीबाहेकका प्रायः मधुमेह पूर्णरुपमा निको हुँदैनन् ।’ उनले भने, ‘यो बढ्दै जाने रोग हो । यसलाई औषधि, खानपान र व्यायामले नियन्त्रणमा राख्न सक्छौँ ।’ उनका अनुसार नेपालका १० देखि २० प्रतिशत जनसङ्ख्यामा मधुमेहको समस्या रहेको अनुमान गरिएको छ । मधुमेहका बिरामी आफैँ सचेत भएर रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउँदै डा खतिवडाले भने ‘खानपानलाई नियन्त्रणमा राख्नुपर्छ, व्यायाम गर्नुपर्छ, औषधि नियमित खानुपर्छ ।’ औषधि र इन्सुलिन लिइरहेका बिरामीले सही तरिकाले औषधि खान र इन्सुलिन लगाउन उनले सुझाव दिए । डा खतिवडाले भने, ‘चिनीको मात्रा उच्च वा न्यून भयो भने के कारणले यस्तो भएको हो भन्ने कुरा पत्ता लगाउनुपर्दछ ।’ मधुमेहका बिरामीले पनि सामान्य एकजना व्यक्तिले खाने सन्तुलित खाना नै खान सक्ने बताउँदै डा खतिवडाले भने, ‘खानामा कार्बोहाइड्रेडको मात्रा नियन्त्रणमा राख्नुपर्छ । मुख्यरुपमा सजिलै चिनी निस्किने खालको कार्बोहाईड्रेड नभएको खाना खानुपर्छ । बिहान, दिउँसो र बेलुकीको खानामा म यति कार्बोहाइड्रेड भएको खान्छु भन्ने निश्चित गर्नुपर्दछ । कहिले बढी खाने कहिले कम खाने गर्नु हुँदैन ।’ मधुमेहका बिरामीलाई दुईदेखि तीन पटक अन्न खान सुझाव दिँदै उनले अन्य समयमा पनि थोरैथोरै तर कम अन्नयुक्त खानेकुरा खान सुझाए । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेज भरतपुरका कन्सल्टेन्ट फिजिसियन डा देवनारायण जैसीले मधुमेहका बिरामीलाई पनि शरीरमा सुगरआवश्यक पर्ने बताए । उनले मधुमेहका बिरामीको शरीरमा पनि सुगर चाहिने तर आवश्यकताभन्दा बढी हुन नहुने बताए । उनले भने ‘मधुमेहका बिरामीको शरीरलाई सुगर चाहिंदै नचाहिने भन्ने होइन, तर आवश्यकताभन्दा बढी हुनु हुँदैन । सुगर भनेको शरीरका लागि इन्धन हो ।’ सुगरको मात्रा बढी भएर शरीरले त्यसको व्यवस्थापन गर्न नसकेपछि समस्या आउने उनले बताए । पहिलेपहिले ४० वर्षपछि मधुमेह रोग देखिन्छ भन्ने गरिएको भए पनि हिजोआज जीवनशैलीमा परिवर्तन आएपछि कम उमेरमै मधुमेह देखिन थालेको उनको भनाइ छ । उनले भने ‘खानपानका कारण कलिलो उमेरमै मोटोपनको समस्या, व्यायाम नगर्ने जस्ता कारणले हिजोआज २५–३० वर्षदेखि नै मधुमेहको समस्या देखिने गरेको छ । यसको मुख्य कारण जीवनशैली नै हो ।’ बुबाआमालाई मधुमेह छ भने त्यस्तो व्यक्तिलाई मधुमेह हुने सम्भावना बढी हुने जनाउँदै उनले अनियन्त्रित रुपमा बाहिरी खाना धेरै खाने, व्यायामको कमी हुने व्यक्तिहरुलाई मधुमेह हुने सम्भावना पनि बढी हुने बताए । धेरैजसो मधुमेहको समस्या नियन्त्रण गर्न सकिने बताउँदै उनले भने, ‘घरमा तयार पारिएको सन्तुलित खाना ठिक्क मात्रामा खाने, जङफुड नखाने, बोसो र चिल्लोयुक्त खाना नखाने, नियमित व्यायाम गर्ने हो भने धेरैजसो मधुमेहबाट बच्न सकिन्छ ।’ मधुमेह लागिसकेपछि शरीरको तौल घट्दै जाने जनाउँदै उनले भने, ‘पटक पटक पिसाब लाग्नु, धेरै भोक लाग्नु, मुख सुक्दै जानु, हातखुट्टा झम्झमाउनु, कमजोर महसुस हुनु भनेको मधुमेहका लक्षण हुन् । यस्तो लक्षण देखिएमा तुरुन्त रगत परीक्षण गराउनुपर्दछ ।’ गर्भवतीलाई पनि मधुमेहको जोखिम हुने डा जैसीको भनाइ छ । उनले भने, ‘हामीले २४ देखि २८ हप्ताको बीचमा गर्भवतीको मधुमेह परीक्षण गर्ने गर्दछौँ । गर्भवती हुनुभन्दा पहिले नै तौल बढी छ, मोटोपना छ, यसभन्दा पहिलाको गर्भावस्थामा पनि मधुमेह भएको छ भने दोस्रो गर्भावस्थामा मधुमेह हुने सम्भावना बढी हुन्छ ।’ गर्भावस्थाको सुरुआती चरणदेखि नै मधुमेह परीक्षण गराउन उनले सुझाव र्दिए । रासस
धवलागिरि अस्पतालमा ५८ लाखको सुविधासम्पन्न एम्बुलेन्स
बागलुङ । एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो । फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताए । सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उनको भनाइ छ । यसअघि अस्पतालमा एउटा मात्रै पुरानो मोडलको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिदै आएको थियो । एम्बुलेन्स खरिदका लागि अस्पतालले ५८ लाख रुपैयाँ खर्चेको हो । अष्टेलियामा रहेका नेपालीले ४८ लाख रुपैयाँ र बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमै ३२ लाख रुपैयाँ सहयोग गरेका थिए । एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न सकिने, भित्रै अक्सिजन जडान भएको, सुविधासम्पन्न बिस्तारा, बिरामी कुरुवाका लागि छुट्टै बस्ने व्यवस्थालगायतका सुविधा रहेको न्यूरेले बताए । ‘अझै केही उपकरण थप्नुपर्ने छ, त्यसका लागि अस्पतालले आफ्नो स्रोत प्रयोग गर्छ’, न्यूरेले भने, ‘हामीले तत्कालै सबै व्यवस्थापन गरेर सञ्चालनमा ल्याउँछौँ ।’ यसअघि अस्पतालमा रहेको एम्बुलेन्समा अक्सिजन सिलिण्डरसमेत बाहिर राख्नुपर्ने अवस्था थियो । नेपाल सरकारले वर्गीकरण गरेका एम्बुलेन्स मध्य ‘ख’ वर्गको एम्बुलेन्स अस्पतालले ल्याएको हो । बिरामीको चाप हुने अस्पतालले पोखरा–काठमाडौंलगायतका सहरमा रहेका अस्पतालमा बिरामी सिफारिस गरेर पठाउँदा एम्बुलेन्सको अभाव खेप्दै आएको थियो । ‘मार्सल जिपलाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिएको थियो, एउटा मात्रै एम्बुलेन्स हुँदा अस्पतालले बिरामीलाई सुविधा दिन सकेको थिएन’, न्यूरेले भने, ‘अब सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले पाएको छ, यो सबैका लागि खुसीको कुरा हो ।’ एम्बुलेन्स खरिदका लागि गत वैशाख महिनामा नै बोलपत्र गरिएको थियो । असारमा सम्झौता भएको भए पनि फोटोन कम्पनीको वितरकले विभिन्न कारण देखाउँदै गत आवमा एम्बुलेन्स उपलब्ध गराएको थिएन । पछिल्लो समय धवलागिरि अस्पतालमा सघन उपचारकक्ष, सुविधासम्पन्न एम्बुलेन्स, अक्सिजन प्लान्टजस्ता बिरामीसँग प्रत्यक्ष जोडिने पूर्वाधार तयार भएका छन् । रासस