विश्व मधुमेह दिवस : युवाहरुमा मधुमेहको समस्या बढ्दै
काठमाडौं । आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ। विश्व मधुमेह दिवसको अवसरमा ललितपुरमा सचेतनामुलक याली गरी विश्व मधुमेह दिवस मनाइएको हो। अल्का अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा ललितपुरको जावलाखेल, सातदोबाटो, कुमारीपाटी, लगनखेल परिक्रमा गरी र्याली गरेको थियो। साथै अस्पतालले आजको दिन अस्पतालमा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ। अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ। शिविरमा बोल्दै अल्का अस्पताल प्रा।लि।का प्रशासन प्रमुख भगवान केसीले मधुमेह सम्बन्धी दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताए। उनले अस्पतालले मधुमेह सम्बन्धी बिरामीहरुको लागि एकदिने निःशुल्क स्वास्थ्य शिविरसञ्चालन गरेको र शिविरमा उल्लेख्य बिरामीहरुको चाप रहेको बताए। शिविर आज बिहान ९ बजेबाट शुरु भइ दिउँसो ३ बजेसम्म चल्ने बताए। उनले भने, ‘आज हामीले बिहान मधुमेर रोग सम्बन्धी सचेतनामुलक ¥याली कार्यक्रम गर्यौं। अहिले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिरहेका छौँ। आजको शिविरमा दुई सय भन्दा बढी बिरामीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका हौँ। आज यो सेवामा उपचार गर्न आउने बिरामीले १० दिनको लागि निःशुल्क औषधि पाउनुहुनेछ भने आज बिहान साढे नौ बजेबाट शुरु भइ ३ बजेसम्मका लागि हो। लामो समयदेखि मधुमेह रोगसँग लडिरहेका मानिसलाई लक्षित गरेर नै शिविर सञ्चालन गरेका हौँ। उत्साहजनक रुपमा बिरामीको सहभागिता भइरहेको छ।’ त्यस्तै इण्डोक्राइनोलोजिस्ट डा।प्रियादर्शनी योन्जनले मधुमेह रोग लागेका ३५ प्रतिशत बिरामीहरुमा आँखाको समस्या हुने गरेको भन्दै शतर्कता अपनाउन आग्रह गरे। उनले पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढीरहेकाले त्यसतर्फ सबै जनाले शतर्कता अपनाउन जरुरी रहेको बताए। उनले अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने बताए। उनले नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको बताए। अहिले ३० वर्ष भन्दा माथिका मानिसहरुमा यो समस्या धेरै देखिन थालेको उनको भनाइ छ। खानपानमा ध्यान नदिने,जङफुडहरु बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरुमा पनि मधुमेहको समस्या बढ्दै गएको बताए। मधुमेह नियन्त्रणमा गर्न नसके आँखाको समस्या चाँडै देखिने भन्दै उनले ३० वर्ष भन्दा माथिका हरेकमानिसहरुले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने बताए। उनले मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने लगायतका समसया हुनेपनि बताए। उनले भने, ‘विश्वमा नै पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढ्दै गएको छ। हरेक दिन मधुमेहका बिरामीहरु ओपीडीमा जाँच गर्न आउँछन्। अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको छ। अबको १० देखि १५ वर्षमा अझ बढ्दै जाने देखिएको छ। नेपालमा मधुमेह लाग्नेहरुको तथ्याङ्क हेर्दा ८ प्रतिशत मानिसहरुलाई मधुमेह रोग लागिसकेको छ। नेपालमा पनि मधुमेहका बिरामी हेरक दिन बढी नै रहेका छन्। विगतमा युवा उमेर कटेपछि मात्रै लाग्छ भन्ने सोच रहेको थियो। तर अहिले बालबालिका तथा युवाहरुमासमेत मधुमेह देखिन थालेको छ। धेरैजसो ५० वर्ष भन्दा बढी उमेर भएपनिअहिले ३० वर्ष उमेर भएका मानिसहरु पनि मधुमेह बिरामी भएर जाँच गर्न आएका छन्। नेपालीहरुको जीवनशैली परिवर्तन भएको छ। फिजिकल गतिविधि नहुने,हिँड्न कम गर्ने,एउटै समय लामो समय बस्ने,खानपानमा ध्यान नदिने,जङफुडहरु खाएर घरको खाना कम खाने,तौल बढ्दै जाँदा युवाहरुमा पनि मधुमेह देख्न शुरु भएको छ। मधुमेहको कारण आँखामा देखिने समस्या १० देखि १५ वर्ष नाघेपछि देखिन्छ। अहिले विश्वभरमा मधुमेह रोग लाग्ने ३५ प्रतिशत मानिसहरुमा आँखाको समस्या देखिएको छ। मधुमेह नियन्त्रणमा छैन भने आँखाको समस्या छिट्टै आउँछ। सुगर नियन्त्रणमा छैन,लामो समयदेखि तीन महिनाको सुगर बढीरहेको छ भने आँखा नै ड्यामेज हुने डर हुन्छ। प्रेसर र कोलस्टोर नियन्त्रणमा छैन भनेपनिआँखालाई छिटै असर गर्छ। मधुमेह उपचारको लागि आफूलाई मधुमेह छ वा छैन थाहा हुनुपर्छ। अस्पतालमा स्वास्थ्य परीक्षणको लागि कुनै समस्या नभई जाँदैनौं। मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने हुन्छ तर सबैमा देखिँदैन। ५० प्रतिशत मानिसहरुमा हुँदैन त्यस्तो लक्षणहरु। ३० वर्ष उमेर कट्नेहरुले हरेक वर्ष सुगर जाँच गर्नुपर्छ। सुगर हुने बढी जोखिम हुन्छ। जसको तौल बढी हुने वा घरमा बुबा, आमालाई मधुमेह, कोलस्टोर, सुगरको समस्या छ भने ३० वर्ष नपुग्दै पनि सुगर ६/६ महिनामा जाँच गर्नुपर्छ। सुगर जाँच गर्दा आँखा चेक गर्नुभन्दा केही भएको छैन भन्छन्। तर आँखाको पर्दामा असर गर्ने भएकाले शुरुमा कुनै लक्षण हुँदैन। मधुमेह भएका बिरामीहरुले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउनुपर्छ। औषधिहरु समयमा नै खानुपर्छ ।’
दमौली अस्पतालमा बिरामीलाई डायलासिस उपचारमा सहज
दमौली । दमौली अस्पतालमा सञ्चालित डायलासिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन् । तनहुँ सहित छिमेकी लमजुङ, गोरखा र कास्की का मिर्गौला पीडित बिरामीलाई डायलासिस गर्न सहज भएको छ । विसं २०७२ मङ्सिर २ गतेदेखि एक करोड २५ लाख रुपैयाँको लागतमा दमौली अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । हाल डायलासिस केन्द्रमा ५७ जना बिरामी उपचाररत रहेको शाखा प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । डायलासिस सेवा सञ्चालन भएदेखि हालसम्म दुई सय २८ जनाको ४२ हजार पाँच सय ८९ पटक डायलासिस गरिएको छ । अस्पतालमा ७० मिर्गौलाका बिरामी डायलासिस पालोको प्रतिक्षा रहेका छन् । गण्डकी प्रदेश सरकारले सत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्रलाई दुई वटा नयाँ डायलासिस मेसिन प्राप्त भएकाले बिरामीको उपचारमा सहज भएको छ । केन्द्रमा रहेका नौ वटा मेसिन र थप दुई मेसिनले दैनिक तीस जना बिरामीलाई सेवा दिन सकिनेछ । हाल दैनिक २० जनालाई डायलासिस सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । गण्डकी प्रदेशभरिका डायलासिस सेवा प्रदान गर्नेहरुका लागि तालिम दिने केन्द्रका रुपमा विकास गर्न लागेको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए । प्रदेश सरकारले अरु चार वटा नयाँ मेसिन थप्नेगरी प्रक्रिया अघि बढाएको छ । अध्यक्ष थापाले भने, ‘मङ्सिर महिनाभित्रमा दमौली अस्पताललाई ५० शय्याको अस्पताल बनाउने योजना रहेको छ ।’ हाल पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्दै आए पनि प्रदेश सरकारले ५० शय्याको स्वीकृति दिइसकेको उनले बताए । अस्पतालसंगै रहेको कृषि ज्ञानकेन्द्र र भेटेरिनरी अस्पतालको गरी साढे तीन रोपनी जग्गा सङ्घीय सरकारले उपलब्धका लागि स्वीकृति प्रदान गरिसकेको समितिले जनाएको छ । रासस
बालबालिकामा योग तथा संस्कारले ल्याएको परिवर्तन
कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ का निराजन उपाध्याय खड्ग स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत छन् । निर्धारित समयमा विद्यालय पुग्ने र छुटी भएपछि घर फर्कने उनको दैनिकी थियो । केही दिनमै त्यो दैनिकीमा उनको परिवर्तन आएको छ । उनी घरपरिवार, विद्यालय र समाजको बारेमा सम्म सोच्न थालेका छन् । सैद्धान्तिक ज्ञानले मात्रै सबै कुराको सिकाइ हुने उनको मनस्थितिलाई योग तथा संस्कार शिविरले परिवर्तन गरिदिएको छ । विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत एक सय ५० विद्यार्थीलाई आयोजित योग तथा संस्कार शिविरमा सहभागी भएका उनी भन्छन्, ‘पाठ्यक्रमको सिकाइभन्दा शिविरमा सिकेको ज्ञान निकै महत्वपूर्ण छ । जुन सिकाइले हाम्रो व्यवहारमा समेत परिवर्तन गरेको छ ।’ कक्षा १० मा अध्ययनत रेनुका विष्ट योगले शारीरिक र संस्कारले व्यवहारमा निकै परिवर्तन आएको बताउँछिन् । ‘हामी व्यक्तिलाई हेरर व्यवहार गर्छौं । विद्यालय बाहिर शिक्षकलाई भेट्दा लुक्छौँ । त्यो मेरो जीवनमा पनि लागू हुन्थ्यो’, उनले भनिन्, ‘चार दिनको सिकाइले धेरै परिवर्तन आएको महसुस मैले गरेकी छु । सबैसँग घुलमिल हुनसक्ने क्षमताको विकास भएको छ ।’ विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरस्वती घर्तीमगरमा अपरिचित व्यक्तिसँग बोल्ले बानी थिएन । कक्षा कोठामै आफ्नै साथीहरूसँग बोल्न नसक्ने सरस्वती चार दिने सिकाइले आफूलाई धेरै परिवर्तन महसुस गरेको बताउँछिन् । ‘पाठ्यक्रमको अध्ययनले मात्रै सबै कुरामा सक्षम छु भन्नु गलत रहेछ । हाम्रा अभिभावक अझै पनि सैद्धान्तिक ज्ञानमा विश्वास गर्नुहुन्छ । सैद्धान्तिक ज्ञानले मात्रै नपुग्दो रहेछ,’ सरस्वतीले भनिन्, ‘त्यो कुरा अभिभावकलाई सम्झाउन सक्ने भएको छु । जुन कुरा मेरो लागि निकै महत्वपूर्ण छ ।’ नेहारिका चौधरी योग तथा संस्कार शिविरमा सहभागी नहुँदा निकै पछुतो भएको बताउँछन् । आफैँसँग अध्ययन गरिरहेका साथीहरूले चार दिनमा सिकेको कुराले उनमा एक किसिमको आक्रोश पनि देखिन्थ्यो । ‘आफ्नै कारणले मैले शिविरमा सहभागी हुने अवसर गुमाए । आज साथीहरूले सिकेको कुराले मलाई ईष्र्या भएको ‘”, उनले भने, ‘अब यस्ता अवसर म जीवनमा कहिल्यै गुमाउने छैन । शिविरमा सिकेका कुरा साथीहरूबाट सिक्ने प्रयास गर्ने छु ।’ विद्यालयका प्रधानाध्यापक केशरबहादुर रावल पनि योग तथा संस्कार शिविरबाट विद्यार्थीमा भएको सिकाइले खुसी छन् । वर्ष दिनसम्म सिकाएको भन्दा चार दिन सिकेको कुरा विद्यार्थीका लागि महत्वपूर्ण भएको जनाउँदै उनले विद्यार्थीमा संस्कारको विकास मात्रै नभई जिम्मेवारीको बोधसमेत भएको बताए । ‘शिविरमा सहभागी भएका विद्यार्थीमा देखिएको उत्साहले हामीलाई पनि गर्व महसुस भएको छ’, उनले भने, ‘शिविरमा सहभागी नभएका विद्यार्थीमा पनि सिक्ने उत्सुकताले विद्यालयमा योग तथा संस्कारसम्बन्धी कक्षा सञ्चालन गर्न आवश्यक देखिएको छ ।’ योग प्रशिक्षक रवीन्द्र बस्नेत बालबालिकाका लागि संस्कार निकै आवश्यक कुरा भइसकेको बताउँछन् । उनले बालबालिकामा योग शिक्षा र संस्कारको विकास गर्न नसके त्यसले ठूलोठूलो मूल्य चुकाउनुपर्ने बताए । ‘अहिले अभिभावकले आफ्ना बालबालिकालाई समय दिन सकेको अवस्था छैन । बालबालिकाको ध्यान अभिभावक र आफ्नो समाजभन्दा मोबाइलसँगै अहिलेको आधुनिकतामा बढी केन्द्रित भएको छ’, उनले भने, ‘यस्ता कुराले बालबालिकालाई मानसिकरुपमा निकै असर पार्न सक्छ । संस्कार बालबालिकाका लागि निकै महत्वपूर्ण विषय बनिसकेको छ ।’ टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले विद्यालयमा योग शिक्षा निकै आवश्यक रहेको बताए । उनले विद्यार्थीमा योग शिक्षाले विद्यार्थीको शारीरिक तथा तथा संस्कारले मानसिक विकास गर्नसक्ने बताउँदै त्यसका लागि स्थानीय सरकार गम्भीर रहेको बताए । ‘अभिभावकले बालबालिकालाई समय दिन नसकेकै कारण बालबालिका गलत क्रियाकलापमा फस्दै गएको तितो यथार्थ हाम्रो अगाडि छ’, उनले भने, ‘समाजमा भइरहेका गलत क्रियाकलापलाई न्यूनीकरण गर्नका लागि पनि बालबालिकालाई संस्कार सिकाउन जरुरी छ । भविष्यप्रति जिम्मेवार बनाउन आवश्यक छ ।’