बागलुङमा २३ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिँदै

बागलुङ । अहिले पनि बागलुङको निसीखोलामा सुविधायुक्त स्वास्थ्य संस्था छैनन् । यहाँका नागरिकले उपचारका लागि बुर्तिबाङ झर्नुपर्छ । बुर्तिबाङ पनि उपचार हुनसकेन भने पाल्पा, पोखरा र काठमाडौं पुग्नुपर्ने बाध्यता छ । वर्षौँ अगाडिदेखि स्वास्थ्य बीमाका कार्यक्रम सञ्चालन भए पनि धेरैले त्यो सेवा लिएका छैनन् । निसीखोला गाउँपालिकाले अहिले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पालिकाभरका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका थिए । सोहीअनुसार गाउँपालिकाले गाउँ–गाउँमा पुगेर निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले पालिकाभर रहेका २३ हजार तीन सय बढी नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन निःशुल्क स्वास्थ्य बीमा गर्न थालिएको बताए । उनले अशिक्षित तथा आर्थिक अभावका कारण नागरिकले सामान्य रोगको उपचार नपाएको भन्दै उनीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमलाई तीव्रता दिएको बताए । गरिबीका कारण कयौँ नागरिकले उपचार नपाए ज्यान गुमाउनु परेको भन्दै अब कोही पनि आर्थिक अभावमा रोग पालेर बस्न नपर्ने अध्यक्ष घर्ती मगरले बताए । उनले नेपाल सरकारले लिएको स्वास्थ्य बीमा अभियानमा गाउँपालिकाले हातेमालो गरी दूरदराजमा रहेका सबै नागरिकलाई यो अभियानमा सहभागी गराउने बताए । गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले पुस महिनाभर सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिसक्ने गरी अभियान चलाइएको बताए । उनले गाउँमै स्वास्थ्य बीमा गर्ने गरी सात वटै वडामा कर्मचारी खटाइने बताए । निःशुल्क स्वास्थ्य बीमाका लागि गाउँपालिकाले यस वर्ष दुई करोड बजेट विनियोजन गरेको छ । उपाध्यक्ष घर्ती मगरले भने, ‘स्वास्थ्य बीमा यो महिनाभरि गरी सक्छौँ, यो अभियानबाट कोही पनि नागरिक छुट्ने छैनन्, सबै वडामा स्वास्थ्यकर्मी तथा कर्मचारी खटिने छन्, त्यसका लागि सबै व्यवस्थापन पूरा भएको छ ।’ स्वास्थ्य बीमा गरेका नागरिकले एक वर्षसम्म एक लाख बराबरको निःशुल्क उपचार र औषधि प्राप्त गर्नेछन् ।

नर्भिकले पुस २९ गते बोलायो साधारण सभा, ४० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले वार्षिक साधारण सभा ‍बाेलाएकाे छ । केही दिनअघि बसेको हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा बाेलाएकाे हाे । साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन् । सभाले सञ्चालक समितिबाट भएको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई पारित गर्नेछ । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) रहेको छ । हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्तापूँजी बढेर २७ करोड रुपैयाँ पुग्नेछ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९ उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु पारित गर्नेछ ।

सगरमाथा चढ्दै शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सगरमाथा चढ्ने योजना बनाएका छन् । महासंघको अध्यक्षका रुपमा कार्यकाल सकिन साढे तीन महिना मात्रै बाँकी रहेका बेला उनले सगरमाथा चढ्ने योजना रहेको बताएका हुन् । महासंघमा अध्यक्षको कार्यकाल सकिए लगत्तै उनले देशका विभिन्न हिमालहरु चढेर अन्तितमा सगरमाथा चढ्ने योजना बनाएको बताएका छन् । ‘हिमाल चढ्ने मेरो लक्ष्य हो, सगरमाथा चढ्नु अगाडि केही हिमालहरु चढ्छु, कुन–कुन हिमाल चढ्ने भनेर पछि थाहा हुन्छ, म देशको हरेक ट्रेकिङ रुटहरुमा हिड्न चाहन्छु, आफ्नो योजना सुनाउँदै भने, अब म आफैलाई र मेरो बिजनेसलाई समय दिन्छु,’ उनले विकासन्युजसँग भने । महासंघको अध्यक्ष बनेर त्यसलाई सफल कार्यकालका रुपमा लिँदै उनले सगरमाथा चढ्ने योजना बनाएका हुन् । तर, कहिले चढ्ने भन्ने विषय भने यकिन गरेका छैनन् । उनको कार्यकाल महासंघमा चैतमा सकिँदैछ । ‘सगरमाथा चढ्नु गम्भीर विषय हो, यसअघि पनि केही हिमालमा २१ हजार फिटसम्म चढिसकेको छु, सगरमाथा चढ्नु अगाडि केही हिमालहरु चढ्छु, ती हिमाल चढेर मनमा आगो बलेपछि सगरमाथा चढ्छु,’ उनले योजना सुनाए । शेखर गोल्छा ट्रेकिङ गर्न रुचाउँछन् । उनी केही समय हुनेबित्तिकै ट्रेकिङमा निस्किहाल्छन् । महासंघको अध्यक्ष बनिसकेपछि भने उनको व्यस्तता बढेको कारण धेरै घुम्न नपाएको बताउँछन् । उनी काठमाडौं वरिपरिका अधिकांश डाँडा पनि चढिसकेको सुनाउँछन् ।