ग्रामीण अस्पतालमै सम्भव भयो जटिल प्रसूति, आमा र शिशु सुरक्षित
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसास्सिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशुको सफल प्रसूति गराइएको छ । मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सुत्केरी बेथा सुरु भएको सात घण्टापछि शुक्रबार बिहान १०ः३० मा मालिका गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा आएका थिए । ती किशोरी पहिलोपटक आमा बनेकी हुन् । अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक यमन नेपालीका अनुसार पहिलोपटक सुत्केरी भएकी किशोरीको ३७ हप्ता एक दिनको गर्भमा शिशु उल्टो अवस्थामा थियो । आमाको उमेर कम र गर्भ उल्टो भएकाले आमा र शिशुको जीवन जोखिममा रहेको थियो । गर्भ उल्टो हुँदा शिशु जन्मँदा टाउको अड्किएको र जन्मिँदा निसास्सिएर शरीर नीलो भएको थियो । 'शिशु उल्टो भएको र पूरै घर खुुलिसकेको रिफर गर्दा थप समस्या हुने देखेर जोखिम मोलेरै भए पनि सुत्केरी गराउन ढिलाइ गर्न नहुुने निर्णय लियौँ', उनले भने, 'निसास्सिएर शरीर नीलो, मुटुको घड्कनको गति १०० भन्दा कम, स्वासप्रस्वासको दर न्यून भएको र शरीर पनि नचल्ने अवस्थामा जन्मिएको शिशुलाई करिब दुई घण्टाको प्रयासमा सामान्य अवस्थामा फर्कायौँ ।' जनस्वास्थ्य निरीक्षक नेपाली र सिनियर अनमी दीपा परियारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला र बेनी अस्पतालका चिकित्सकहरूको परामर्श तथा निर्देशनमा प्रसूति गराएका हुन् । 'जटिल अवस्थामा जन्मिएको शिशुलाई डा बास्तोलाको अनलाइन परामर्शको आधारमा हरसम्भव उपचार प्रयास गरियो', नेपालीले भने, 'ब्याग एण्ड मास्क’को सहायताले करिब १२र१३ पटक हावा दिएपछि शिशुको ओठ पनि गुलाबी हुँदै रुन थालेपछि खुसीको सीमा रहेन ।' स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका अनुसार गर्भमा उल्टो भएका र निसास्सिएर जन्मिएका शिशुलाई बचाउन कठिन हुन्छ । वीरलै मात्र नवजात शिशुलाई बचाउन सकिन्छ । सहरका सुविधा सम्पन्न अस्पतालमा यस्तो अवस्था शल्यक्रियामार्फत प्रसूति गराइन्छ । ग्रामीण क्षेत्रमा रहेको दरवाङ अस्पतालका स्वास्थ्यकर्मीहरूले सीमित स्रोत र साधनका बाबजुत जटिल किसिमको प्रसूति सेवा दिएका हुन् । शिशुको तौल दुई किलोग्राम ५०० ग्राम छ । हाल आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । थप निगरानी तथा व्यवस्थापनको लागि बेनीमा रहेको प्रदेश अस्पतालमार्फत पोखरा पठाइएको जनस्वास्थ्य निरीक्षक नेपालीले बताए । रासस
५ वर्षमा झण्डै १५ लाख व्यक्तिको आँखा उपचार
काठमाडौं । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँचवर्षको अवधिमा झण्डै १५ लाख बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्ममा १४ लाख ७७ हजार १७४ जनाको आँखाको उपचार भएको अस्पताले जनाएको छ । अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आव २०७७/७८ मा १ लाख ५३ हजार ५३३, २०७८/७९ मा २ लाख ८२ हजार २३७, २०७९/८० मा ३ लाख २८ हजार ८४०, २०८०/८१ मा ३ लाख २९ हजार ५११ र २०८१/८२ मा ३ लाख ८३ हजार ५३ जनाको उपचार गरिएको हो । अस्पतालको तथ्याङ्कअनुसार उपचारका लागि आउनेको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ७६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सो अस्पतालका सहव्यवस्थापक तुल्सीप्रसाद पराजुलीले जानकारी दिए । यसैगरी, आँखाको पर्दा फाटेका, आँसु आउने नली र आँखाको डेढोपनको समस्या झेलिरहेका १० हजार ६०६ जनाको शल्यक्रिया गरिएको सह-व्यवस्थापक पराजुलीले बताए । उनका अनुसार उल्लिखित सेवा लिन आउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली रहेको छन् । सो अस्पतालले गत वर्षदेखि नाक, कान तथा घाँटीरोग (इएनटी) विशेषज्ञ सेवासमेत प्रदान गर्दै आएको पराजुलीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ हजार बढीले यो सेवा लिइसकेका छन् । विसं २०४० सालदेखि सञ्चालनमा आएको यस अस्पतालले नेपालका विभिन्न जिल्लासँगै भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ । यसैगरी सो अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए ।
दसैँमा यसरी गरौं खानपान व्यवस्थापन
दैनिक जीवनमा स्वस्थकर खानेकुराको निकै महत्त्व छ । अन्न भनेको जीवन हो । जसरी श्वास फेर्न वायु चाहिन्छ, त्यसैगरी शरीर धान्न, शारीरिक र मानसिक रूपमा स्वस्थ रहन स्वस्थ खानेकुराको जरुरत पर्छ । जस्तो किसिमको अन्न खाइन्छ हाम्रो मन पनि त्यस्तै हुन्छ । मानसिक रूपमा स्वस्थ, अस्वस्थ रहने कुरा पनि हाम्रो खानेकुराले निर्धारण गर्छ । बच्चा आमाको पेटमा हुँदादेखि नै खानाको महत्त्व छ । आमाले जे खान्छिन्, बच्चाले त्यही खान्छ । उनले स्वस्थकर खाइन् भने भ्रुणले पनि त्यही पाउँछ र पछि स्वस्थ बच्चा जन्मिन्छ । मान्छेलाई मात्र होइन, जीवजन्तु तथा बिरुवालाई समेत खाना चाहिन्छ । खानाबिना हामी बाँच्न सक्दैनौँ । केही योगीहरू हुन्छन् जो केही वर्षसम्म नखाएर बसेका हुन्छन्, यो अपवाद हो । स्वस्थकर खानेकुरा हामीले दैनिक जीवनमा खाँदै आएको दालभात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी स्वस्थकर खानेकुरा हो । आफूले घरमा पकाएर खाइने खानेकुराहरू प्रायजसो सबै स्वस्थ नै हुन्छ । विभिन्न किसिमका सलाद, फलफूल पनि स्वस्थकर नै हुन्छन् । आलुको तरकारी हामी सबै जनाले खान्छौं । तर त्यही आलु जब फ्रेन्च फ्राइको रूपमा खाइन्छ, बारम्बार एउटै तेलमा पकाइन्छ भने त्यो अस्वस्थकर हुन्छ । यस्तै रोटी, दाल, चामल अथवा सेल तथा पुरी स्वस्थकर खाने कुरा हो । तर, त्यही सेल तथा पुरीलाई एउटै तेलमा बारम्बार पकाएर खायो भने त्यो पनि अस्वस्थकर हुन्छ । स्वस्थकर आटाबाट रोटी बन्छ । त्यही आटालाई फेरि मैदा बनाएर अन्य किसिमको पत्रु खाना बनायो भने त्यो अस्वस्थकर हुन जान्छ । स्वस्थकर खाने कुरालाई पनि कस्तो प्रकारले बनाइन्छ र त्यो कसरी अस्वस्थकर हुन जान्छ भन्ने कुरा थाहा पाउनुपर्छ । दसैँको बेला मासु कम खाने पहिले मासु खानलाई दसैँ नै पर्खिनु पर्थ्यो । हामी सानो हुँदा आज भन्दा ५०/५५ वर्ष अगाडि दसैँ आएपछि मासु खान पाइन्छ भनेर हामी निकै खुसी हुन्थ्यौँ । अरूको घरमा गएपछि मासु खान दिन्छन्, मासुभात, मासु चिउरा दिन्छन् भनेर खुसी भइन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन, हुनेहरू दिनहुँ मासु खान्छन् । तैपनि दसैँ भनेपछि फेरि यस्तो संस्कृतिसँग जोडिएको छ कि दसैँ र मासु भने त्यसलाई छुट्याउनै सकिँदैन । कसैले घरमा खसी काट्छन्, कति जनाले बाहिरबाट किनेर ल्याउँछन् अघिपछिको समयभन्दा दसैँमा अझ बढी मासु खाने चलन छ । दसैँको बेलामा मासुका विभिन्न परिकारहरू बनाइन्छन् । यस्तो बेला मेरो पेटलाई कति चाहिन्छ भन्ने कुराको ख्याल गर्नुपर्छ । आफ्नो पेटले जति सक्ने हो त्योभन्दा बढी मासु खाने अथवा बिहानदेखि बेलुकासम्म अथवा विभिन्न ठाउँहरूमा जाँदा सबैको घर-घरमा मासु-भात, मासु-चिउरा, विभिन्न किसिमका मासुका परिकारहरु खाने गर्दा समस्या पर्न सक्ने हुनाले जिब्रोलाई अलिकति लगाम दिनुपर्छ । मासुमा रेसादार तत्व नभएको हुनाले मासु धेरै खाँदा कब्जियत हुनसक्ने सम्भावना हुन्छ । दुई/तीन टुक्रा मासु खाँदा हरियो तरकारी, काँक्रो, विभिन्न किसिमका सलादहरू पनि प्रयोग गर्नै पर्छ । अहिले विभिन्न किसिमका स्वास्थ्य समस्या भएका व्यक्तिहरू धेरै छन् । उनीहरूले खानेकुरा खाँदा ख्याल गर्नुपर्छ । कस्तो किसिमको खाने कुरा कति खाने भन्ने कुरा आफ्ना चिकित्सक सल्लाह अनिवार्य लिनुपर्छ । कसले कति खाने ? खानेकुरा कुन व्यक्तिले कति खाने भन्ने कुरा त्यत्तिकै भन्न सकिँदैन । कसको शरीरले कति खानेकुरा पचाउँछ भन्ने कुरा मान्छेको शरीर अनुसार फरक पर्छ । दिनभर काम गरेर खाने, बसेर खाने वा शारीरिक काम गर्नुपर्ने वा मानसिक काम गर्नुपर्ने व्यक्तिमा पनि फरक पर्छ । आयुर्वेद विज्ञान र अहिलेको आधुनिक विज्ञानले के स्पष्ट रूपमा सिद्ध गरेका छन् भने हामीलाई जति भोक लाग्छ, त्यसको ८० प्रतिशत मात्रै खानुपर्छ । आयुर्वेदले हजारौं वर्ष पहिले नै भनेको कुरा जसलाई अहिले आधुनिक विज्ञानले प्रमाणित गरेको छ । अहिले नेपालमा नसर्ने रोगहरू जसरी बढिरहेको छ, त्यसको प्रमुख कारण अस्वस्थ जीवनशैली र अस्वस्थकर खानेकुरा हो । म जहिले पनि जहाँ पनि भन्ने गर्छु हाम्रो पाँच, साढे पाँचदेखि छ फिटको शरीरलाई सानो दुई/तीन इन्चको जिब्रोले धोका दिइरहेको छ । आफ्नो शरीरलाई स्वस्थ बनाउन चाहने हो भने जिब्रोलाई नाइँ भन्न सक्नुपर्छ । त्यसको अर्थ फेरि मीठोमसिनो नखाने भनेको होइन, तर आफूलाई अलिकति संयम गर्न सिकियो भने दसैँतिहार मनाएपछि काममा जाँदा पनि एकदम आनन्दको अनुभूति हुन्छ । दसैँतिहारमा मज्जासँग खाँदा पेट गडबड हुँदा विभिन्न किसिमका समस्या देखा पर्यो भने काममा जान पनि सकिँदैन । त्यसैले भविष्यको विचार खानेकुरा खानुपर्छ । कवाडी खाना अहिले बजारमा आएका जंकफुडहरूलाई म पत्रु खानेकुरा भन्छु । जसमा नुन, चिनी बढी हुन्छ, त्यसले हाम्रो शरीरलाई बेफाइदा गर्छ । पत्रु भनेको कवाडी खाना हो । जसले शरीरमा कुनै पनि पौष्टिक तत्वहरू दिँदैन । विभिन्न किसिमका सूक्ष्म पोषक तत्वहरू दिँदैन । त्यसलाई म पत्रु खानेकुरा अथवा कवाडी खानेकुरा भन्छु । जिब्रोले चाहिँ मीठोमीठो मान्ने तर शरीरलाई एकदमै बेफाइदा गर्छ । बालबालिकाहरूलाई पनि आमाबुबाहरूले ‘ल खाऊ’ भनेर दिइरहेका हुन्छन् । तर, आमाबुबाहरूले के विचार गर्दैनन् भने एकछिनको जिब्रोको स्वादले पछि कति असर पार्छ भनेर । त्यसमा कसरी नकारात्मक असर पार्न सक्छ । यो विषयमा थुप्रै अध्ययनहरु पनि भएका छन् । शारीरिक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्यमा पनि समस्या पर्छ । मैले ३/४ वर्ष अगाडि एउटा तालिम लिएको थिएँ । तालिममा जाँदा मानसिक रोग विज्ञहरूले अस्वस्थकर खानेकुराहरूले मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ भनेर भन्नु भएको थियो । ‘न्युट्रिसन एण्ड साइक्याट्रिक डिसअर्डर’ अथवा मानसिक स्वास्थ्य समस्याहरू पर्दा खेरि कसरी भोजनले यसमा प्रभाव पर्न सक्छ भन्ने बारेमा लेखेको एउटा किताब छ । त्यसले पनि हामीले खाने खानेकुराले शरीरलाई मात्र नभइ मानसिक रूपमा पनि असर पर्छ भनेको छ । पेट सफा भए सबै रोग टाढा ‘पेट सफा तोे हर रोग दफा’ पहिलेका बुढा पाखाले भनेको सुनिन्थ्यो । अहिलेको विज्ञानले यो सिद्ध पारेको छ । पेटको स्वास्थ्य स्वस्थ राख्नु भनेको हामीले स्वस्थ्यकर खानेकुराहरू खानु हो । रेसादार तत्व भएका खानेकुरा सूक्ष्म पोषक तत्व भएका खानेकुरा खानु हो । रेसाधार खानेकुराले जुन अघि मैले भने नि किटाणुहरू, मासु खाँदा रेसादार तत्व भएन भने पेटमा समस्या पर्छ । त्यसकारण दसैँतिहारमा माछा मासु खाँदा रेसादार तत्व भएका खानेकुराहरू जस्तै-सब्जी, तरकारी, टुसा उमारेका खानेकुराहरू प्रयोग गर्नुपर्छ । पहिले र अहिलेको खानपानमा आकाश जमिनको फरक छ । हामी सानो हुँदा अहिलेको जस्तो बिस्कुट, चाउचाउ लगायतको जंकफुड थिएन । खानेकुरा दाल, भात, तरकारी थियो । दिउँसोको खाजामा पनि भुटेको भात, चना, आलु, रोटी, दही चिउरा खाइन्थ्यो । दसैँमा पनि अम्बा र नास्पाती फल्ने समय भएकाले धेरै फलफुलहरू ल्याइन्थ्यो । घरमै बनाएको स्वस्थकर खानेकुरा खान्थ्यौँ । त्यही बेलाको खानेकुरा खाएको हुनाले होला म ६८ वर्षको उमेरसम्म पुग्दा अहिलेसम्म नसर्ने रोग लाग्न पाएको छैन । अब भोलि के हुन्छ थाहा छैन तर अहिलेसम्म मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, घुँडा दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, यस्तो किसिमको समस्या भएको छैन । अहिले फलफूल सलादभन्दा बढी मदिरा र मासु हुन्छ । मदिरा नखानेहरू कोकाकोलाजस्ता पेयपदार्थहरू लिएर मासु खाने चलन बढी छ । घरभित्र भान्छामा पकाएको खानेकुरा भन्दा आजभोलि बजारको खानेकुरा दसैँमा बढी हुन्छ । यस्ता खानेकुराले भोलिको दिनमा ठूलो समस्या निम्त्याउन सक्छ । सबै जनाले एकदम रमाइलोसँग दसैँ मनाउनुहोस् । दसैँ तिहार मनाएपछि पछि पनि आफ्नो स्वास्थ्य राम्रो रहोस् भनेर खानपिन गर्नुहोस् । स्वास्थ्य जीवनशैलीमा, योगासन, व्यायाममा चाहिँ ध्यान दिनुहोस् । (पोषणविद डा. अरुणा उप्रेतीसँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)