भरतपुरमा बाल क्यान्सर उपचारका लागि अत्याधुनिक आरोग्य सुपर स्पेसालिटी क्लिनिक सञ्चालनमा
काठमाडौं । चितवनको भरतपुरमा बालबालिकामा बढ्दो क्यान्सर रोगलाई लक्षित गर्दै अत्याधुनिक सेवा सुविधासहितको बहुविशेषज्ञ क्लिनिक सञ्चालनमा आएको छ । आरोग्य मल्टी सुपर स्पेसालिटी क्लिनिक नामक उक्त क्लिनिकले विशेषगरी बाल क्यान्सर उपचारमा केन्द्रित सेवा प्रदान गर्ने जनाएको छ । क्लिनिकका सञ्चालक कृष्णराज गैरेका अनुसार पछिल्लो समय बालबालिकामा विभिन्न प्रकारका क्यान्सर रोगको जोखिम बढ्दै गएकाले बालकेन्द्रित उपचार सेवा आवश्यक देखिएको हो । यो क्लिनिक नेपालमै बाल क्यान्सर उपचारका लागि स्थापना गरिएको पहिलो सुपर स्पेसालिटी केन्द्र रहेको उनले जानकारी दिए । बालबालिकामा देखिने विभिन्न प्रकारका क्यान्सरको परीक्षण, उपचार तथा परामर्श सेवा उपलब्ध हुने उनको भनाइ छ । विदेश जान लागेका बिरामीहरूलाई नेपाली डाक्टरहरूको सहायतामा विदेशी डाक्टरसँग परामर्श गराउने र रिपोर्ट पठाएर बिरामीको रोगको बारेमा परामर्श लिने काम पनि यहाँ हुने गैरेले जानकारी दिए । उनका अनुसार यसले नेपाली बिरामीले विदेश गएर गर्ने खर्च रोक्ने तथा कम गर्नेछ । क्लिनिकले स्वदेशमै उपचार सम्भव नभएका जटिल केसका लागि बिरामीलाई विदेश पठाउने प्रक्रियामा पनि सहजीकरण गर्ने जनाएको छ । यसअन्तर्गत भारत, सिंगापुर र थाइल्याण्डका प्रतिष्ठित अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँग समन्वय गरी बिरामी र उनका आफन्तलाई आवश्यक सहयोग प्रदान गरिने गैरेले जानकारी दिए । त्यसैगरी, विदेश जान असमर्थ बिरामीका लागि भने उनीहरूको स्वास्थ्य विवरण हिस्ट्रीका आधारमा विदेशी चिकित्सकसँग प्रत्यक्ष संवाद गराउने सुविधा समेत उपलब्ध गराइने क्लिनिकले जनाएको छ । बाल क्यान्सर उपचारलाई सहज, सुलभ र विशेषज्ञ सेवामार्फत प्रभावकारी बनाउने लक्ष्यसहित सुरु गरिएको यस क्लिनिकले देशभित्रै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको गैरेले बताए ।
दुई पाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुई पाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी थालेको छ । बिरामी भएका ठाउँमा चार पाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि नै स्वास्थ्यकर्मी पुग्न दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्न लागिएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बताइन् । त्यस्तो एम्बुलेन्स सञ्चालनमा ल्याउने बारे सम्बन्ध भएका निकायसँग छलफल गरिसकेको उनको भनाइ छ । डङ्गोलले एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नुपर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत् सृजना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशनसमेत दिइन् । ‘बिरामी भएका ठाउँमा सकेसम्म छिटो एम्बुलेन्स पुर्याउन, आफूले बोलाएको एम्बुलेन्स कहाँ आउँदैछ ? एम्बुलेन्समा कोको छन्, बिरामीका आफन्तले थाहा पाउने प्रणाली कार्यान्वयनमा ल्याऔँ । सवारी चापका कारण एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट बिरामी भएका ठाउँमा तत्काल चिकित्सक पुग्ने संयन्त्र तत्काल निर्माण गरौँ,’ उनले भनिन् । कामपाले एम्बुलेन्स सेवा भने २०७६ वैशाखबाट नै अत्यावश्यक पर्दा निःशुल्क सेवा सञ्चालन गर्दै आएको छ । छलफलमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले कामपाको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारीको सम्भावनामा छलफल गर्नुपर्ने खाँचो देखाए । वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले लागत घटाएर गुणस्तर सेवा बढाउने विषयमा अध्ययन गरिनुपर्ने बताए । सहकार्यबाट प्राप्त उपलब्धिका विषयमा एम्बुलेन्स सेवाका सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीले कामपासँग सहकार्य भएपछि ८४ हजार ४८९ जना बिरामीलाई सेवा प्रदान गरिएको बताए । यस क्रममा ६९ जना गर्भवतीले एम्बुलेन्समै बच्चालाई जन्म दिएको पनि जानकारी दिए । कोभिड-१९ का समयमा २३ हजार ५०० जनालाई सेवा प्रदान गरिएको थियो । अहिले कामपाको ७ वटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ । सम्पर्क गरेपछिको ८ मिनेटमा बिरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्ड बमोजिम उक्त सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सृजना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउन आवश्यक रहेको बताइएको छ ।
विदेशमा रहेका ४२ हजार ९ सय नेपालीले पाए सोपानको सेयर, सर्वसाधारणलाई वैशाख २ गतेदेखि बिक्री गर्ने
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । विदेशमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँट साथै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँट गरेको जनाएको छ । कम्पनीले पहिलो चरणमा चैत ९ गतेदेखि चैत १२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख २९ हजार कित्ता सेयर जारी गरेको थियो । कम्पनीले उक्त सेयर चैत १७ गतेका दिन बाँडफाँट गरेको जनाएको छ । रितपूर्वक आवेदन दिने ४२ हजार ९ सय जनालाई १० कित्ताका दरले सेयर वितरण गरेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ रिजल्ट बिक्री प्रबन्धक एनएमबि क्यापिटल र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित आईपीओ रिजल्ट वा मेरो सेयरबाट हेर्न सकिने जनाएको छ ।