मातृ मृत्युदरमा उल्लेखनीय सुधार

काठमाडौं । मातृ मृत्युदरमा उल्लेखनीय सुधार भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणमा मातृ मृत्युदरमा सुधार भएको देखाएको हो ।  सर्वेक्षण अनुसार नवजात शिशु मृत्युदर, शिशु मृत्युदर तथा ५ वर्षमुनिको बाल मृत्युदर घटेको छ । नेपाल परिवार स्वास्थ्य सर्वेक्षण, १९९६ अनुसार मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) ५३९ रहेकोमा राष्ट्रिय जनगणना, २०७८ अनुसार १ सय ५१ मा रहेको छ । सन् २०११ को तुलनामा नवजात शिशु मृत्युदर ३३ बाट २०२५ मा १७९ प्रति हजार जीवित जन्ममा घटेको छ । यस्तै स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा वृद्धि भएको छ । 

रुसले बनायो नयाँ इबोला खोप

काठमाडौं । अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दाबी गरेको छ । दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोडिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ ।      दूतावासले रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूपविरुद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको छ । विशेषगरी कङ्गो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुन्डिबुग्यो स्ट्रेनविरुद्ध पनि यो खोप उपयोगी हुन सक्ने दाबी गरिएको छ ।      मध्य अफ्रिकामा फैलिरहेको इबोला प्रकोपले अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूको चिन्ता बढिरहेका बेला रुसले नयाँ इबोला स्ट्रेनविरुद्ध खोप विकास गरेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य विनियम (आइएचआर) २००५ अन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मे १७ मा कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) र युगान्डामा देखिएको इबोला प्रकोपलाई ध्यानमा राख्दै अवस्थालाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ (पीएचइआइसी) का रूपमा वर्गीकृत गरेको थियो ।      स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले पनि कङ्गो र युगान्डामा फैलिरहेको बुन्डिबुग्यो स्ट्रेनसँग सम्बन्धित इबोला भाइरस रोगको प्रकोपलाई औपचारिक रूपमा पुष्टि गरेको छ ।      यसबीच, डब्लुएचओको आइएचआर आपतकालीन समितिले मे २२ मा थप सतर्कताका उपाय सुझाउँदै अस्थायी सिफारिसहरू सार्वजनिक गरेको थियो । समितिले बुन्डिबुग्यो भाइरस पुष्टि भएका क्षेत्रबाट आएका अस्पष्ट ज्वरोका बिरामी यात्रुहरूको पहिचान, मूल्याङ्कन, प्रतिवेदन र व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय प्रवेश नाकाहरूमा रोग निगरानी प्रणाली थप बलियो बनाउन आग्रह गरेको छ । साथै, भाइरस देखिएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न पनि सिफारिस गरिएको छ ।      प्रेस विज्ञप्तिअनुसार कङ्गो लोकतान्त्रिक गणतन्त्र र युगान्डासँग सीमा जोडिएका देशहरू, विशेषगरी दक्षिण सुडानलगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आकलन गरिएको छ ।      इबोला रोग अत्यन्त गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो । यो इबोला भाइरसको बुन्डिबुग्यो स्ट्रेनको सङ्क्रमणबाट उत्पन्न हुन्छ । यो रोग उच्च मृत्युदरसँग सम्बन्धित मानिन्छ । हालसम्म बुन्डिबुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त भएको छैन । यही सन्दर्भमा रुसले गरेको नयाँ खोप विकासको दाबीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य समुदायले चासोका साथ हेरिरहेको छ । रासस  

बीमाबाट उपलब्ध औषधी कटौती, अब १ हजार १७० प्रकारमा सीमित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ । स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो ।  बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षण शुल्क लिन निर्देशन दिएको बताईन् । उक्त नयाँ सुविधा थैलीको दररेठ यही जेठ १६ गतेदेखि लागू हुनेछ ।  उनले बोर्डले विगत १० वर्षदेखिको दाबी, सेवा उपभोगसम्बन्धी तथ्याङ्क विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त दररेट, चिकित्सकीय सान्दर्भिकता, लागत प्रभावकारिता रोगभार तथा स्वास्थ्य प्रणालीको वित्तीय दिगोपनलाई आधार बनाएर सुविधा थैली परिवर्तन गरिएको बताईन् । सूचना अधिकारी विकेश मल्लले स्वास्थ्य बोर्डको वित्तीय अवस्था, दायित्व स्वास्थ्य सेवा उपयोगको दर हेरेर दररेट निर्धारण गरिएको बताए ।  उनले बोर्डमा पर्ने आर्थिक चाप घटाउनका लागि सुविधा थैलीको दररेट परिमार्जन गरको बताए । नयाँ दररेटअनुसार औषधिको औषधि व्यवस्था विभाग, प्रयोगशाला परीक्षणको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य सेवाको सरकारी अस्पताललाई आधारमा मानेर तोकिएको उनको भनाइ छ । नयाँ सुविधा थैलीमा आमा सुरक्षा कार्यक्रम, जस्ता दोहोरिएका कार्यक्रमलाई हटाइएको उनले बताए । ‘स्वास्थ्य उपचार सेवा न्यून दररेट कामय गरेर सुविधा थैली बनाएको हो,’ उनले भने, ‘प्रयोग नहुने औषधिलाई हटाइएको छ ।’  सूचना अधिकारी मल्लले अहिले एक हजार १७० प्रकारका औषधि मात्र बोर्डबाट उपलब्ध हुने गरी बीमितले पाउने बताए । यसअघि बोर्डले एक हजार २८९ प्रकारका औषधि उपलब्ध गराउँदै आएको थियो ।