डाक्टर कुटिएको विरोधमा चिकित्सक संघले आइतबार देशभरका उपचार सेवा बन्द गर्ने

<p>काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो । राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन [&hellip;]</p>

काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहसहित अन्य डाक्टरहरुमाथि प्रहरीले लाठिचार्ज गरी घाइते बनाएकोमा गम्भिर ध्यानआकर्षण भएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ । भिआपीको सुरक्षाको नाममा चिकित्सकलाई घाइते बनाउने कार्य र हजारौं सेवाग्राहीहरुलाई अस्पतालसम्म पुग्न नदिएकोमा संघ स्तब्ध भएको जनाएको छ ।

‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।

Share News