‘विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर’
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको लागि निःशुल्क उपचार अनिवार्यरुपमा उपलब्ध गराउन निर्देशन दिएको छ । अनुगमनका क्रममा मापदण्डको पालना नभएको, पार्किङ शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध नगराएको भन्ने गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को पालना गर्न ताकेताको परिपत्र गरेको छ । मन्त्रालयले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई कूल शय्याको दश प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्याएर उपचार सेवा उपलब्ध गराउन ताकेता गरेको हो । ‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ दफा ७० ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्यरुपमा गराउनुपर्छ’, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । यस्तै, बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिनेगरी राख्न निर्देशन दिइएको छ । मन्त्रालयले पटक–पटक स्वास्थ्य संस्था सञ्चालन मापदण्डको कडाइका साथ पालना गर्न चेतावनीसहित निर्देशन दिँदै आएको छ । आजै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र रहेका ६८ स्वास्थ्य संस्थाले छुट सुविधासम्बन्धी विवरण उपलब्ध नगराएको भन्दै सात दिनभित्र कानुनी दायरामा ल्याउन मन्त्रालयलाई गरेका थिए । प्रमुख शाहले मन्त्रालयले मापदण्ड पालना नगर्ने अस्पतालको प्रशासन बन्द गर्न बाध्य हुने चेतावनीसमेत दिएका थिए । रासस
अस्पतालहरुमा कति बेड खाली छन् ? वेबसाइटबाटै जानकारी दिन स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् । बुधवार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भुमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन् । उनले अस्पतालहरुमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरु के-कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे । उनले सो काम शुरु भइसकेको भन्दै अब त्यस प्रकारको समस्या नहुने बताए । त्यस्तै, ओपिडि टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए । उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए । ‘अब चाँडै वीर हस्पिटलले सेवा वृद्धि गर्दैछ । कुन अस्पतालमा आइसियु बेड छ ? इमर्जेन्सी बेड छ, वा सिसियु बेड छ ? वा खालि छ, छैन छ भने कति छ ? बिरामीहरुलाई भ्रम हुन थाल्यो । ठूला मान्छेले फोन गरेपछि बेड पाइन्छ भन्ने मानसिकता हुन थाल्यो । गरिबहरु जाँदाखेरी नपाउने भन्ने हुन थाल्यो । त्यसैले मैले देशभरका अस्पतालहरुमा के छ अवस्था वेबसाइटमा राखेर सबैलाई क्लियर गर्नु भनेर मैले निर्देशन दिएको छु । त्यो काम शुरु भइरहेको छ । अब त्यो समस्या हुँदैन । ओपिडी अनलाइन टिकट बुक गर्ने प्रक्रिया अगाडी बढाउन भनेको छु । प्रक्रिया शुरु हुन थालेको छ । अनलाईन र फिजिकल्ली दुईवटै किसिमले टिकट पाउनसक्छौँ अहिले । वीर अस्पतालमा आइसियु बेडहरु बढ्दैछ । इमर्जेन्सी, वार्डहरुमा बेड बढ्दैछ । डायलाइसिसमा सुधारका पक्षहरु अगाडी बढ्दैछ ।’ उनले भने । उनले संसारभरमा सुर्तिजन्य पदार्थमा सबैभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताए । उनले सुर्तिजन्य पदार्थमा कम्तिमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिव बिरामीहरुको उपचारमा प्रयोग गर्नुपर्ने बताए । त्यस्तै, गुलियो पेय पदार्थ र जंक फुडबाट पनि नागरिकलाई टाढा राख्नुपर्ने उनको भनाई छ ।
स्याङ्जाको वालिङमा पहिलोपटक प्रसूति सल्यक्रिया सफलतापूर्वक सम्पन्न
स्याङ्जा । स्याङ्जाको वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा मंगलबार पहिलोपटक पसूति सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वालिङ नगरपालिकाका अनुसार एकजना गर्भवतीको आकस्मिक सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । डा. नारायणबहादुर गोदार, डा. सुरज ढकाल लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समूहले सल्यक्रिया गरेको थियो । अहिले आमा र बच्चा दुबैको अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।