काठमाडौं महानगरले सुरु गर्यो अस्पताल अनुगमन, निर्देशन नमान्नेलाई कारवाहीको तयारी

काठमाडौं । काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ ह्यान्ड अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ । मंगलबार काठमाडौं महानगरपालिकाको टोलीले महानगरपालिका भित्रका दुई अस्पतालमा गरेको निरीक्षणका क्रममा अस्पतालले स्वास्थ्यसम्बन्धी ऐन अनुसार सेवा नदिएको पाइएको हो । निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले ओम नर्सिङ होम र हेल्पिङ ह्यान्डस अस्पतालमा स्वास्थ्य सम्बन्धी मापदण्डअनुसार काम नभएको पाइएको र निरीक्षणपछि मापदण्डअनुसार सेवा प्रवाह गर्न निर्देशन दिइएको बताए । ‘निर्देशनात्मक पत्र हामी भोलि पठाउँछौँ, अस्पतालले महानगरको निर्देशनपछि अब स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार लक्षित समुदायलाई १० प्रतिशत छुट दिने आशा छ, सुधार नगरेको खण्डमा प्रचलित कानूनअनुसार कारबाही हुन्छ,’ उनले भने । महानगरपालिकाका मेयर बालेन्द्र साहले यसअघि १० प्रतिशत लक्षित समुदायलाई स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार उपचार प्रदान गर्नका लागि कार्यान्वयनको माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सरकारको ध्यानाकर्षण गराएका थिए । महानगरपालिकाले निरीक्षणपछि पनि अस्पतालले अटेर गरी तोकिएबमोजिम सेवाप्रवाह नगरे कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

दादुरा र रुबेलाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइँदै

काठमाडौं । दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ती तीन जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको हो । अहिले कैलालीसहित देशका नौ जिल्लामा १३ वटा  रोग विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । खोप लगाउनका लागि सरोकारवालसँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखी कार्यक्रम गर्न थालिएको छ । अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक रामु शर्माले नेपालमा २०३६ सालदेखि दादुरा विरुद्धको खोप लगाउन सुरु भए पनि अझै सङ्क्रमित देखिन थालेकाले खोप अभियान सञ्चालन गर्न लागिएको  बताए । ’दादुरा भयानक सरुवा रोग भएकाले यसलाई रोकथाम गर्नका लागि अहिले सरकारले सङ्क्रमण देखिएका जिल्लामा अभियान सुरु गरिरहेको  छ’, उनले भने, ’दादुरा र रुबेला सङ्क्रमण देखिएका जिल्लाभरि खोप अभियान सञ्चालन हुँदैछ ।’ नेपालमा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र २० प्रतिशत बालबालिकाले दोस्रो मात्राको खोप नलिएको सर्वेक्षणले देखाएको विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक शर्माले बताए । उनले नियमित खोप ९५ प्रतिशतभन्दा कमले लगाउने, सबै तहमा एकरूपता नहुने, क्रियाकलाप सञ्चालन प्रभावकारी नहुने, जिम्मेवारी, अपनत्व र समन्वयमा कमी हुनेजस्ता  प्रमुख समस्या रहेको गुनासो गरे । कैलाली जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा दादुरा र रुबेलाको सङ्क्रमण देखिएकामा ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त जिल्लामा दुई लाख छ हजार बालबालिकालाई खोप लगाउने लक्ष्यअनुसार सबै पालिकामा खोप पठाउने काम सुरु भएको छ । यसअघि पनि कैलालीमा दादुरा सङ्क्रमण देखिएपछि छ महिनादेखि १५ वर्षमुनिका १६ हजार बालबालिकालाई गएको फागुनमा खोप लगाइएको थियो । फेरि जिल्लाभरिका सबै बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ’सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेलाका बिरामी फेला परेकाले यी जिल्लामा खोप अभियान सञ्चालन गर्न थालिएको छ’, उनले भने, ’प्रदेशमा पुष्टि भएकामध्ये अधिकांश एक वर्षमाथि उमेर समूहका रहेको जनाइएको छ । कैलालीमा नौ महिनाका सात, २३ महिनाका छ र २३ महिनामाथिका ३४ जना  छन् ।’ सुदूरपश्चिममा एक सय २३ जना शङ्कास्पद बिरामीमा परीक्षण गर्दा प्रदेशमा ९३ जना दादुरा तथा एकजना रुबेलाका बिरामी फेला परेकामा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुबेलाका बिरामी थिए । टीकापुर नगरपालिकाले भने जेठ २६ गतेदेखि खोप अभियान सुरु गर्दैछ । खोप अभियानमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने भएको छ । खोप अभियान सञ्चालनका लागि नगरपालिकाले हरेक वडा तहमा जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ । टीकापुरमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । उक्त पालिकाले टीकापुरका ७५ स्थानमा खोप लगाउने तयारी गरेर स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरेको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावलले बताए । ’टीकापुरका ३२ वटा खोप केन्द्रबाट नियमित खोप अभियान सञ्चालन भइरहेका छन् । यसका साथै टीकापुर अस्पतालमा हरेक साताको दुई दिन खोप लगाइन्छ’, उनले भने, ’यो अभियानमा यसअघि दादुरा रुबेला विरुद्धको खोप लगाइसकेका बालबालिकालाई पनि पुनः खोप लगाइने भएको छ ।’ खोप अभियान सञ्चालनका लागि हरेक विद्यालयलाई खोप केन्द्र बनाइएकाले शिक्षकको भूमिका अझ महत्वपूर्ण हुने बताइएको छ । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ४ का वडाध्यक्ष लालवीर चौधरीले विद्यालयमा खोप लगाउँदा शिक्षकको सहयोग आवश्यक हुने बताउँदै यो अभियानमा सबैलाई सघाउन आग्रह गरे  । रासस

१० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने मन्त्री बस्नेतको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका छन् । नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले कानुनअनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ निःशुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिए । यही जेठ २१ गते मन्त्रालयले सबै अस्पताल र ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्री बस्नेतले विपन्न, गरिब र असहाय बिरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको भन्दै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय बिरामीको लागि १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्नुपर्नेमा जोड दिए । उनले अस्पतालहरूले विपन्नलाई निःशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने भनाइ छ । ‘अस्पतालले १० प्रतिशत शय्यामा गरिब, विपन्नलाई निःशुल्क उपचार दिएको छ वा छैन अनुगमन गर्छौँ, यदि ति अस्पतालले निःशुल्क उपचार नगरेको पाइएकामा कारबाही गछौँ,’ उनले भने । आर्थिक अभावको कारणले कुनै पनि बिरामीले औषधि उपचार गर्न नपाएर ज्यान गुमाउन नपरोस्मा भन्दै त्यस्ता बिरामीका लागि मन्त्रालयले आकस्मिक उपचार कोषको व्यवस्था गर्ने बताए । रोग लागेपछि उपचारमा ठूलो धन राशि खर्च गर्नुको सट्टा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले आहार, बिहार र शारीरिक व्यायाम ठीक ढङ्गले गर्न सके बाथलगायत धेरै रोगबाट बच्न सकिने विश्वास व्यक्त गरे । वरिष्ठ बाथरोग विज्ञ डा विनित वैद्यले नेशनल बाथरोग सेन्टरले सरकारले पनि हातेमालो गरेर बाथरोग नियन्त्रण र रोकथाम गर्ने सक्ने बताए । सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतिले आगामी पाँच वर्षभित्र सेन्टरले थप सात जिल्लामा सेवा विस्तार गर्ने जानकारी दिए । सो अवसरमा बस्नेतले नेशनल बाथरोग सेन्टरले सञ्चालन गर्न लागेको थर्मोग्राफी सेवा शुभारम्भ गरे ।